लन्डन, साउन १७- विश्वकै उत्कृष्ट पौडीवाजको बीचमा ओलम्पिकबाट पदक जित्नु सहज नहुने १७ वर्षीया श्रेया धितालले राम्ररी बुझेकी थिइन्। उनको लक्ष्य आफ्नै प्रदर्शन सुधार्नु थियो। स्ट्राटफोर्डस्थित ओलम्पिक पार्कको एक्वेटिक सेन्टरमा आज डाइभ गर्दा १०० मिटर फ्री स्टाइल पौडीमा उनी लक्ष्य चुम्न सफल भएकी छिन्।
उनले १ मिनेट १०.८० सेकेन्डमा पौडी पूरा गरेकी हुन्। गत वर्ष जुलाईमा चीनको सांघाईमा सम्पन्न १४औं फिना विश्व पौडी च्याम्पियनसिपमा श्रेयाले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्- १ मिनेट १०.८२ सेकेन्डको। नागरिकसितको कुराकानीमा श्रेयाले कम्तिमा १ मिनेट १०.८१ सेकेन्ड आफ्नो लक्ष्य भएको बताएकी थिइन्।
उनको खेलकै लागि भनेर श्रेयाको पूरा परिवार (आमा, बुबा र बहिनी) एक महिनादेखि लन्डनमै थियो। नेपाली पौडीमा प्रतिभावान मानिएकी १७ वर्षीया श्रेयाले गतवर्षको फिना विश्व च्याम्पियनसिपको शीर्ष १५० मा परेर उनले ओलम्पिक सहभागिताको आधार बनाएकी थिइन्। गतवर्ष नेपाली पौडीमा एक्लै हाबी हुँदा उनले १६औं राष्ट्रिय खुल्ला तथा उमेरसमूह प्रतियोगितामा ११ स्वर्ण जितिन्। त्यही वर्ष ११औं ग्यालेक्सी कप पौडीमा ११ स्वर्ण जित्दा उनले ५० मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान बनाइन्। त्यो इभेन्टमा उनले ३४.७५ सेकेन्डमा निर्धारित दूरी तय गरिन्। पूरै वर्ष नेपाली महिला पौडीमा राज गरेकी उनले फागुनमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा पनि अधिपत्य जमाइन। वीरगन्जमा भएको प्रतियोगितामा उनले महिलातर्फ सबैभन्दा बढी पदक जित्ने क्रममा ८ स्वर्ण र ४ रजत पदक आफ्नो नाममा गरेकी थिइन्।
अरु खेलाडीको प्रदर्शन
तीन खेलका ५ खेलाडी लिएर ओलम्पिक सहभागिता जनाउन लन्डन आएको नेपाली टोलीबाट प्रतिस्पर्धा गर्ने श्रेया दोस्रो खेलाडी थिए। सुटिङकी एक्लो नेपाली खेलाडी स्नेह राज्यलक्ष्मी राणाले शनिबार १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरिसकिन्। ५६ खेलाडी सहभागी प्रतिस्पर्धाको ५४औं स्थानमा आउँदा उनी राष्ट्रिय कीर्तिमान सुधार गर्न असफल भइन्। ३ सय ८८ स्कोरको राष्ट्रिय कीर्तिमान भन्दा उनले ५ स्कोर कम गरेकी थिइन् ।
बाँकी इभेन्टमा बिहीबार पौडीका प्रसिद्धजंग शाहले पुरुष ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् भने एथलेटिक्समा प्रमिला रिजालले शुक्रबार १ सय मिटर महिला तथा शनिबार तिलकराम थारुले १ सय मिटर पुरुषमा सहभागिता जनाउने छन्।
नागरिक
