भक्तपुर ८ साउन (Mybhaktapur.com)। सानोठिमी स्थित प्राविधिक शिक्षा तथा व्याबसायीक तालिम परिषद् (सीटीईभीटी) मा ३० बुंदे माग राखी आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राऊ गरेको छ ।
सीटीईभीटी विद्यार्थी अन्तर्गत रहेका नेपाल विद्यार्थी संघ र अनेरास्वबियूले हिजो सीटीईभीटीमा १२ घण्टे अल्टिमेटम दिएर तालाबन्दी गर्दा पनि आफूहरुको मागलाई सम्बोधन नगरेको भन्दै सीटीईभीटीमा तोडफोड गर्न थालेपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राऊ पर्नेमा नेविसंघ सीटीईभीटी केन्द्रीय कमिटीका कार्यबाहक अध्यक्ष शुसिल खड्का, अनेरास्वबियूका केन्द्रीय सदस्य गोविन्द गिरी, अनेरास्वबियू सहसचिव उपेन्द्र शाही, नेविसंघ ईकाई अध्यक्ष अर्जुन बम, नेविसंघ उपाध्यक्ष मिनसिंङ्ग कठायतलाई प्रहरीले पक्राऊ गरि महानगरीय प्रहरी बृत्त थिमिमा राखिएको छ ।
विद्यार्थीहरुले सीटीईभीटीमा गएर नाराबाजी गर्दै सीटीईभीटीको सिसाहरु तोडफोड गरेका छन् । तोडफोड गर्दै भित्र प्रवेश गर्न थालेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् ।