जय घण्टाकर्ण

तेजेश्वर बाबु ग्वंगः Mybhaktapur.com लोक हित निमित्त आत्म दाह स्वीकार्नु घण्टाकर्ण अजाको कुर्वाण चेत ठान्छु । रोपाई ÷ धानखेती सकिए पछि काठमाण्डौं उपत्यका र अन्य जिल्लामा पनि मनाइने पहिलो चाड घण्टाकर्ण ÷ गठेमङ्गल पर्व रहेको छ । राजनैतिक, धार्मिक, सामाजिक अनि आर्थिक कारणले असंख्य नेवार समुदायका परिवारहरू विभिन्न जिल्लाहरूमा निर्वासित भए । मल्ल शासनपछिको नेवारहरूको बसाई सराई शाह वंशको चहकमहकसित गाँसिन्छ । झाङिन्छ पनि । बसाइर्, सराई निस्तो हुन्न । मान्छेका बसाई सराई भन्नु संस्कार र सँस्कृतिकै पनि ठाउँ सराई भन्छु म । जहाँ जहाँ नेवार बसाई सराई हुन पुग्यो त्यहाँ त्यहाँ संस्कृतिकै स्थानान्तर हुन पुगेको छ । नेवार बस्तीबीच अझै घण्टाकर्ण चाड मनाइन्छ । धनकुटा, पोखरा, पाल्पा, डोटी केही जिल्ला यस कोटीमा पर्छन् ।

गथेमङ्गल नेवारी शब्द । नेवारहरू मूधन्य ‘ठ’ को ठाउँमा दन्ते ‘थ’ प्रयोग गर्छन् । नेवारीमा गथेमङ्गल भनिन्छ । पुस्तान्तरसितै भाषान्तर पनि हुन्छ । गथेमङ्गल गथेमङ्गः बन्न पुग्यो । कालान्तरमा गथेमङ्गः गथेमुगः बन्न पुग्यो । उही गथेमङ्गलको अर्थ बिन्यास हुन्छ – गथे = कसरी, कुन तरिकाले ? मङ्गल = असल, कल्याण, उद्धार । कसरी कल्याण हुन्छ ? एक सवाल । एक प्रश्न । धानका कलिला बोटविरुवा कीराबाट बचाउने के गरी ? गथेलाई नेपाली भाषाभाषी जिब्रोले गठे उच्चारण गर्न पुगे । गथेमुगः ÷ गठेमङ्गल बने । कलिला धानका बिरुवा कीराबाट जोगाउने काम मङ्गल र कल्याण कार्य हो । कसरी मङ्गल गर्ने ? उत्तर बन्छ – आत्म उत्सर्ग गरेर । आत्म उत्सर्ग भन्नु आफूलाई समर्पण गर्नु । आफूलाई समर्पण गर्नुको पर्याय बन्छ – आत्म दाह । भक्तपुर र भक्तपुर मूलका नेवार बसाई सराई स्थानमा गथेमुगः दहन हुन्छ खेतका बीचमा ।
 
मध्यकालिन नेपालमा खेती प्रथा चकला बन्दी प्रावधान अनुरुप हुन्थ्यो । प्रत्येक टोलका किसानहरू छ्वालीका भीमकाय गथेमुगः बनाएर आआफ्ना चल्लाबन्द खेतका माझम जलाउँछन् । यो प्रथा अझै पनि अमर छ । शासन ढल्छ । संस्कृति जिउँछ मानिससित । मानिससितै बाँचेको संस्कृतिले ढलिसकेको शासनलाई जीवन्त पार्छ । घण्टाकर्णसितै सिकिरहेछु म अचेलभरि यो पाठ । भन्न मन पराएं, त्यसैले जय घण्टाकर्ण । गथेमङ्गलः घण्टाकर्ण कसरी बन्न पुग्यो ? एउटा खुल्दुली, एक जिज्ञासा ! भीमकाय गथेमुगःको मुखाकृति ठूलो नाङ्लोमा चित्रण गरिएको हुन्छ । कपाल ÷ टाउको ठूलै हाँडीको जडिएको हुन्छ । नाङ्ले अनुहारमा ससाना ‘फ्य्गं’ हावाले हल्लाउने ह्वासे घण्ट दुबैतिर कानमा झुन्ड्याइन्छ । घण्ट = घण्टा । घण्ट संस्कृतमा । घण्टी नेपालीमा । कर्ण = कान संस्कृतमा । घण्ट + कर्ण सन्धि भएपछि बन्छ घण्टाकर्ण । नेवारीमा गथेमुग अजा = बाजे, हजूरबा पनि । गथेमुगः अजाजू । अर्थात् घण्टाकर्ण बाजे ! घण्टाकर्ण हजूरबा !
 
गथेमुगः नर्कटका झाङ्, छ्वालीका मुसल्ले मुट्ठाहरू गाँसीवरी बनाइन्छ । हाँडी टाउके, नाङ्ले मुखाकृति । घाँटीभरि साना नानीहरूका नेवारी पुतली माला लगाइएका घण्टाकर्ण – हजूरबा । कन्धामा मकैका घोगा थिङ्गाइएर भोगटेका दुई गेडा लत्काइएका हात्ती खुत्ते तीनवटा यामनका छ्वाली खुट्टे घण्टाकर्ण अजा रौनक र रोमाञ्जक हुन्छ । उसमाथि थुप्रै अश्लिल यौन उत्तेजक नारा र धिमेबाजा, भुछ्या, सिछ्या, झ्याली र ताल बाजा बजाउँदै टोलका टोलेहरू जुलुसका जुलुस लाग्छन् । महिलाहरु झ्यालमा लुकिलुकी रौनक चियाइरहन्छन् । कुनै आगामी साँझ ती युवतीहरू, महिलाहरू नि घण्टाकर्ण अजाजुको सत्गति अर्थात् दहन संस्कारमा सक्रिय सहभाग लेलान् ! अब पुरूष – नारी समान अधिकारी नागरिक बनिसकेको लोकतन्त्र नाङ्गो पिङ् झैं मच्चिरहेको याम छ । जय घण्टाकर्ण मुखारण हुनै पर्दाे रहेछ  !
 
गथेमुगःको बुँख्याचा टोलका युवाहरूले नोल कसेर काँढमा बोक्छन् । यौन उत्तेजक नाराबाजी गर्दै, जुलुस गर्दे निर्धारित खेत–फाँटबीच बिसाइन्छ । बेला झिसमिसे साँझ । जुनबेला किराहरु बालिनाली खान उडेर आउँछन् । त्यसैबेला घण्टाकर्ण दहन गरिन्छ । किराहरु उज्यालो आगोमा, झुमिन्छन् । झुम्मिनु के थियो ? सारा किराहरू भस्मिभूत हुन्छन् । घण्टाकर्ण धानबाली बचाउन आफू जल्छ, बल्छ । आफू जलेर दुनियाँको मुख्य बाली धानखेती जोगाइदिन्छ । आफू जलेर किसानको धानबाली जोगाउँछ हाम्रा पुख्र्यौली गथेमङ्गल – घण्टाकर्ण अजा ! के हामीले र हाम्रा देश बनाउँछौं भन्ने सेदेहिक घण्टाकर्णहरूले गथेमुगः अजाबाट यति सन्देश ग्रहण गर्न सक्दो होलान् ? के परम्परागत संस्कृतिका तात्पर्यहरू वर्तमान जीवन सापेक्ष पार्न सकिंदोरैछ ? यसतिर विद्वत – विदुषी नृतत्व र समाजशास्त्रीहरूका चित्तबृत्ति चोखिन सकिएला ? घण्टाकर्ण पर्व यस्तै खुल्दुली र जिज्ञाशा कुम्ल्याउँदै आइपुग्छ प्रतिवर्ष । सकारात्मक स्वागत – अभिनन्दन गर्छु म – जय घण्टाकर्ण अजा मन्त्रसाथ ! चाडपर्व भित्रका मर्म महान हुँदारहेछ । डुबुल्किदा भेटिंदारहेछ त्यसका आदर्श र इंथस  Ethos घण्टाकर्ण चाडसित रमिरहेछ म – वाह !
 
घण्टाकर्ण बनाउने प्रक्रिया बटुल्नुस् यहाँ ! अनुनय मेरो । साना बालक र केटाहरू बिहानै टोल टोलमा बाटाघाटामा जगात उठाउँछन् – कोष खदा गर्छन् । दिउँसो घरघर पुगेर छ्वालीका कल्ली बटुल्छन् । रकम जम्मा गर्छन् । केटौलीपनदेखि नै सांस्कृतिक संस्कारको बिउ जीवनमा रोप्ने चहलपहल हुनथाल्छ । गोधुलीपख युवा र मध्यबयस्कहरू गथेमुगः बनाउन थाल्छन् । उ, दुई तीनजना नाङलो पोत्दैछन् । कोही मुखाकृति चित्रण गर्दैछन् । ल हेर्नुुस्, कोही केटाहरू हरिया नर्कट भारी घिसार्दैछन् । हरिया नर्कटका थुप्रै मुठा बाँधेर हात, खुट्टा, घाँटी जडान गर्छन् । अनि छ्वालीका मुठा र कली बेर्दैछन् । एकै छिनमै गथेमुगः बन्छ यसरी । जिम्मेवारी साथ कार्य विभाजन आफै गर्छन् उनीहरू । उनीहरूको एउटै चासो समयैमा घण्टाकर्ण आकृति बनाउनु । यी टोलिया केटाहरू नयाँ नेपाल बनाउन नयाँ संविधान कोर्न लागेका छैनन् । मात्र परमपरागत संस्कृति जोगाउने तरखरमा छन् उनीहरू । के संविधान सभालाई संस्कृति र परम्पराबीचको सम्बन्ध जोड्न घण्टाकर्णले गरूडपुराण हाल्न सक्दोहोला ? आश्चर्य चकित छु !
 
लौ हर्नुस् ! बाजागाजासाथ यौन उत्तेजक नारा भट्टयाउँदै आइरहेछन् घण्टाकर्णे जुलुस । एका साँझै भट्टयाउँदै छन्, सुन्नुस् ! भरे रात के गरौँ भन्छन् … कति उडाङ्गिएका नकचरो नाराहरु … कस्तो लाजमर्दाे भएर नि सुनौं सुनौं लाग्दो उत्तेजक कामवासनाका दुन्दुभि स्वर मचाइहरू ! मानो घण्टाकर्ण आजु यौनराश लीलाका जुवा फुकाइका नाय्खिं बाजाका झ्याली पिटाई हो ! हो, पक्कै पनि हो , अब त भक्तपुर नेपालकै पनि मुख्यबाली धान रोपाई सकिसकेको छ । धानखेती नै तात्कालिन भक्तपुरको आर्थिक जीवनको मूल पाटो थियो । घण्टाकर्ण चाडपर्व कृषि अर्थतन्त्रमा आधारित पेशागत संस्कारबाट जन्मेको संस्कृति ! मलाई माया लाग्छ कति कति … ! ! ! भन्नै सक्दिन म । जे भन्न सक्छु यति … जय घण्टाकर्ण अजा ! ! !
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>