भक्तपुर, २७ असार । Mybhaktapur.com नेपाल पत्रकार महासंघले आज भक्तपुरमा आयोजना गरेको जिल्लका प्रमुखहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारी, महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक नारायणसिंह खड्का स्थानिय विकास अधिकारी राजेन्द्रकुमार केसी लगायतले जिल्लाका संचारकर्मीहरुले उठाएका समस्याका बारेमा जवाफ दिएका थिए ।
संचारकर्मीहरुले जिल्लाका सडक, संचार, खानेपानी, शान्ति सुरक्षा, प्राकृतिक संरचनाको विनास लगायतका बारेमा स्थानिय स्तरमा उठेका समस्याहरुको अवगत गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भण्डारीले जिल्लालाई वालश्रम मुक्त जिल्ला बनाईने, सडक अतिक्रमण रोक्ने, किराना पसलमा कालोबजारीका रुपमा बिक्री हुदै आएको पेट्रोलियम पदार्थको बिक्री रोक्ने, शान्ति सुरक्षा प्रदान गर्ने, जिल्लाका सबै समस्याहरुको सम्बोधन गर्ने बताउनुभयो ।
त्यस अवसरमा प्रहर उपरीक्षक खड्काले जिल्लामा शान्ति सुरक्षाको व्यबस्था कडा पारिने, रात्रीकालिन गस्तिहरु बढाईने र अबैध क्रियाकलाप रोक्न एम्बुसिङ गरिने बताउनु भयो । स्थानिय विकास अधिकारी केसीले भने सडक विस्तार योजना विस्तार गर्दै लैजाने, सम्पदाहरुको संरक्षण गर्दैै लैजाने, पर्यटनको विकासमा टेवा पुर्याउदै लैजाने, जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका पदाधिकारी र जिल्लाका सबै संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।