भक्तपुर, २२ असार । Mybhaktapur.com सुन्दा अचम्म लाग्छ, मिठाई बनाएर बेच्ने मिठाई उद्यमीले च्याउको पनि व्यापार थाले भन्दा । तर वास्तवमा साँचो हो । विगत एकदशकदेखि विशुद्ध शाकाहारी मिठाईका सयौं परिकार बनाई विक्री गर्दै आएको नयाँ बानेश्वरचोकस्थित चौतारी स्विट्स एण्ड चाट प्यालेस (मिठाई उद्योग) का मालिक पोषनाथ काफ्लेले कृषिसम्वन्धि अर्काे फर्म दर्ता गरि मंगलबारदेखि विधिवत्रुपमा च्याउ उत्पादन तथा विक्री कार्य शुरु गरेको छ ।
चौतारी कृषि तथा पशुपालन उद्योग प्रालिमार्फत काफ्लेले बागेश्वरी ४ स्थित घरबाट पहिलोपल्ट कन्ये च्याउ उत्पादन शुरु गरेका हुन् । मिठाई व्यवसायीले च्याउ उत्पादन गरि विक्री गरेको संभवतः यो नेपालको पहिलो घटना हो । हाल दैनिक सरदर ५० किलो च्याउ उत्पादन भईरहेको र अर्काेहप्तादेखि दैनिक एकसयकिलो उत्पादन हुने काफ्लेले बताए । दुवै उद्योगका मालिक (प्रवन्ध सञ्चालक) काफ्लेले विशुद्ध शाकाहारी आफ्नो मिठाई पसलमा आउने उपभोक्ताको मागअनुसार हाललाई पाँचलाख रुपैयाँ लगानी गरि च्याउ उत्पादन शुरु गरेको बताए । केहीवर्षअघि एककरोड रुपैयाँ खर्च गरि बनाएको बागेश्वरीको पाँचतल्ले पक्की घरको दुईतल्लामा च्याउ उत्पादन शुरु गरेका हुन ।
च्याउसम्वन्धि कृषि प्राविधिकको सल्लाह तथा प्रत्यक्ष निगरानीमा हाललाई ५ हजार प्याकेट च्याउको वेर्ना लगाएको र वेर्ना लगाएको १७ दिनदेखि च्याउ उत्पादन शुरु भएको काफ्लेले बताए । बागेश्वरीमा उत्पादन गरिएको च्याउ उनले नयाँबानेश्वरस्थित आफ्नो चौतारीस्टिस एण्ड चाट प्यालेसमा मिठाईको परिकारसंगै विक्रीका लागि राखेका छन् । हाल दैनिक औसतमा ५० किलो च्याउ उत्पादन भईरहेको र अर्काेहप्तादेखि दैनिक सयकिलोभन्दा बढी उत्पादन हुने पनि उनले बताए । उनले २०० रुपैयाँ प्रतिकिलोमा च्याउ विक्री गरिरहेका छन् । उत्पादित च्याउमा कुनै औषधि प्रयोग नगरिएको र वजारमा पाइने अन्य च्याउभन्दा शुद्ध भएको पनि उनले बताए । केहीदिनपछिदेखि च्याउको उत्पादन अत्यधिक हुने हुनाले यसको वजार खोज्ने तयारी गरिरहेको पनि उनले बताए ।
उत्पादित च्याउबाट अबको केही दिनपछिदेखि चौतारी स्विटस एण्ड चाट प्यालेसमा तरकारी, पकौडालगायतका परिकार बनाएर विक्री गर्ने पनि काफ्लेको याृजना रहेको छ । स्वास्थ्यको लागि राम्रो मानिएको च्याउको उपभोग गर्ने उपभोक्ताहरु क्रमश बढ्दै गएकोले आफुले आफ्नो मिठाई उद्योगको साथसाथै च्याउ उत्पादनमा समेत हात हालेको काफ्लेको दावी छ । मासु नखाने शाकाहारी उपभोक्ताको स्वास्थ्य र मागलाई ध्यानमा राखी आफुले भविष्यमा मिठाई पसलमा आवश्यक पर्ने दुध र दुग्धजन्य पदार्थका लागि चौतारी कृषि तथा पशुपालन उद्योगमा निकट भविष्यमा गाईभैसी पनि पालन गर्ने उनले बताए । उनको मिठाई उद्योगमा ३० जना कर्मचारी कार्यरत छन भने च्याउ उद्योगमा १० जना कर्मचारी काम गरिरहेका छन् ।