भक्तपुर २० असार । Mybhaktapur.com नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले वर्तमान बाबुराम भट्टराई सरकार केही दिन भित्रै ढल्ने दाबी गर्नु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा जनक स्वतन्त्र कर्मचारी संघको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले अब प्रतिपक्ष दलहरुले सरकार ढाल्न कुनै कसरत नै नगरे पनि सरकार ढल्ने पक्का भएको बताउनु भयो ।
थापाले भन्नुभयो—‘अब प्रतिपक्ष दलले सरकार ढाल्न कुनै आन्दोलन गर्नै पर्दैन, प्रतिपक्ष दलहरु अब सुतेरै बसेपनि नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले नै नै अब सरकार ढाल्छन् ।’
तत्कालिन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालिन माओवादीले ४० सुत्रिय माग राखेर जनयुद्धमा गएको स्मरण गर्दै उहाँले अहिले माओवादीका अध्यक्ष बैद्यले सोही ४० सुत्रिय माग प्रधानमन्त्री भट्टराईलाई राखेकोले बैद्य पक्षकै कारण वर्तमान सरकार ढल्ने दाबी गर्नुभयो । थापाले व्यङ्ग गर्दै भन्नुभयो—‘ दशौ वर्ष निरंकुश शासन चलाउला भन्ने प्रधानमन्त्रीको चाहनाले संविधानसभा भंग भएको हो, यसको जवाफ जनताले मात्र होईन दलहरुले पनि मागेका छन्, अब डाक्टर र बैद्यको मागले नै सरकार केही दिन भित्रै ढल्छ ।’
कार्यक्रममा केन्द्रका प्रबन्ध संचालक रामचन्द्र सिलवालले मुलुकभरका विद्यार्थीलाई किताब पुर्याउने जिम्मा लिएको जनक शिक्षाले यसवर्ष समय मै सहज रुपमा किताव पुर्याएको बताउनु भयो । जनक शिक्षाको विकासका लागि कर्मचारीको एकता बलियो हुनु आवश्यक रहेको बताउनुभयो । संघका अध्यक्ष कृष्णसुन्दर प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रका बिभिन्न कर्मचारी संगठनका प्रतिनिधी, व्यबस्थापन समितिका पदाधिकारी लगायतले जनक शिक्षाको विकास आवश्यक रहेको औल्याउनु भएको थियो ।
