इटाली र स्पेन : युरो कसको हातमा?

वार्सा, असार १७ (एपी)- पछिल्लो चार वर्ष विश्व फुटबलमा एकछत्र राज गरिरहेको स्पेनविरुद्ध युरोपियन च्याम्पियनसिपको फाइनल खेल्न आइतबार उत्रँदा इटालीसँग गोल गर्न सक्षम टोली हुनुको फाइदा हुनेछ। युरो २०१२ मा स्पेनले विपक्षीविरुद्ध पासको वर्षा नै गरेको छ। इटाली ठीक त्यस विपरीत छ। सटिक हेड र कडा प्रहारबाट इटालीले गोल गरिरहेको छ। मारियो बालोटेलीले बिहीबार जर्मनीविरुद्ध गरेको दुई गोल त्यसैको उदाहरण थियो।

'सुरुआतदेखि नै जर्मनीमाथि आक्रमण गर्नु हाम्रो उद्देश्य थियो,' इटालीका प्रशिक्षक सिजर प्रान्डेलीले भने, 'हामीसँग मिडफिल्डमा बल खेल्ने आँट छ। मैले सधैँ यो शैलीको वकालत गर्दै आएको छु, किनभने यसका लागि हामीसँग पर्याप्त स्तरीय खेलाडी छन्।' प्रतियोगिता अगाडि बढेसँगै स्पेनलाई भने खुला खेलमा गोल गर्न अप्ठ्यारो परिरहेको छ। 

स्पेनले पोर्चुगललाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पन्छाउनु अगाडि गोलरहित बराबरी खेलेको थियो र प्रतियोगिताको उत्कृष्ट खेल भन्न लायक नजिक पनि थिएन, त्यो खेल। फ्रान्सलाई क्वार्टरफाइनलमा २-० ले पन्छाउँदा टोलीले एउटा गोल पेनाल्टीमा गरेको थियो। क्रोएसियासँग समूह चरणको अन्तिम खेलमा जेसस नाभासले ८८औं मिनेटमा गोल गरी स्पेनलाई विजयी बनाएका थिए। 


३ सय मिनेटको खुला खेलमा स्पेनले केवल दुई गोल गरेको छ। प्रतिद्वन्द्वीहरूले पछाडि बसेर रक्षात्मक खेल्दा गोल गर्न नसकेको स्पेनका प्रशिक्षक भिसेन्टे डेल बोस्कीले राम्रोसँग बुझेका छन्। उनले भने, 'फुटबलमा दुई भाग हुन्छ। एउटा आक्रामक र अर्को रक्षात्मक। हामी रक्षात्मक क्षेत्रमा चुस्त देखियौं।'


प्रतियोगिता अगाडि बढेसँगै राम्रो खेल्दै जाने परम्परालाई इटालीले यसपटक पनि कायमै राख्यो। वार्सामा दाबेदार जर्मनीमाथि २-१ को विजय हात पार्नु इटालीको अहिलेसम्मको उत्कृष्ट खेल थियो। इटालीको यो विजय अझ फराकिलो हुन सक्थ्यो। 


बालोटेली उत्कृष्ट लयमा छन्। मिडफिल्डर एन्ड्रे पिर्लोको असाधारण फर्म जारी छ, जुन उनले इटालीलाई २००६ को विश्वकप जिताउँदा पनि देखाएका थिए। क्लाउडियो मार्चिसिओले पेनाल्टी बक्सभित्र दुई सजिला मौका गुमाएका थिए। त्यसमा एक पनि सदुपयोग गरेको भए खेलको अन्ततिर इटालीले त्यो दबाब खेप्ने थिएन। 


निर्धारित र थप समयको खेल बराबरी खेलेपछि स्पेनले पोर्चुगल र इटालीले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दाको मुख्य भिन्नता पनि यही नै थियो। संगठित पोर्चुगलविरुद्ध युरोपियन च्याम्पियन स्पेन गोल गर्न आतुर देखिएको थिएन भने इटालीले रोय हडसनको इङ्ल्यान्डसँग गोल गर्न नसक्नु आश्चर्य नै थियो। सो खेलमा इटालीले तेस्रो मिनेटमै आक्रमक गरी आफ्नो उद्देश्य प्रस्ट्याएको थियो। 


डानियल डी रोसीले ३० यार्ड टाढाबाट गरेको प्रहारलाई इङ्ल्यान्डका गोलरक्षक जोय हार्टले सानदार बचाउ गर्दै सो खतरा टारेका थिए। त्यसपछि इटालीले लगातार अवसर गुमाइ रह्यो। बालोटेली र रिकार्डो मोन्टोलिभोले गोल नजिकबाट निशाना पनि लगाउन सकेनन्। एन्टोनियो नोसेरिनोको गोल अफसाइड करार भयो भने एलेसान्द्रो डिमान्टीले बारमा प्रहार गरे। 


लगातार तेस्रो पटक मुख्य उपाधि नजिक पुगेको स्पेनको आफ्नै शैलीको खेल छ तर त्यो प्रभावकारी हुन सकेको छैन। छोटो पास खेल्ने स्पेनको शैली बार्सिलोनाले क्लब स्तरमा खेल्दाको हो। बार्सिलोनाका जाभी हर्नान्डेज, आन्द्रेज इनिस्टा र सेस फाब्रिगास स्पेनिस मिडफिल्डका मुख्य योजनाकार हुन्। 


छोटो पास खेलेर बल अधिकतम समय नियन्त्रणमा राख्ने योहान क्रायफले भिœयाएका हुन्। डच हस्ती क्रायफले एकसमय 'यदि बल नियन्त्रण राखेर खेल्ने हो यसलाई रक्षा गर्नुपर्दैन किनभने त्यहाँ एउटा बलमात्र हुन्छ' भनेको भनाइ निकै चर्चित छ। क्रायफको यो शैली र भनाइमा कुनै समस्या छैन।


समस्या स्पेनको टोलीमा छ। उनीहरूको यो खेल्ने शैलीले बलमात्र उनीहरूको नियन्त्रणमा राखेको छ। बिरालो र कुकुरले एकअर्काको पुच्छर पछ्याए जस्तै उनीहरू गोलाकार शैलीमा बल खेलिरहन्छन् तर बल त्यहीं मात्र हुन्छ, कँही जाँदैन। अर्जेन्टिनी स्ट्राइकर लियोनली मेसी अचुक प्रहारमा गोल गर्छन्, जसले बार्सिलोनालाई सफल बनाएको छ। 


स्पेनको टोलीमा त्यो भूमिकामा फर्नान्डो टोरेज छन्, तर उनी आफ्नो लयमा छैनन्। जुन १० मा समूह चरणको पहिलो खेलमा यी दुई टोली भिड्दा इटालीले पहिलो गोल गरेको हेर्ने हो भने स्पेनको पीडा अझ बल्झन सक्छ। फाब्रिगासले तुरुन्तै गोल फर्काएर स्पेनलाई बराबरीमा ल्याएका थिए। स्पेनलाई दोस्रोपटक भाग्यले साथ नदिन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>