काठमाडौं, असार १५ – अमेरिकी डलरको मूल्य एकैदिन १ रुपैयाँ ५ पैसाले घटेको छ । राष्ट्र बैंकले शनिबार र आइतबारका लागि १ डलरको ९० रुपैयाँ ३५ पैसा तोकेको छ। अघिल्लो साताको बिहीबार डलरको मूल्य अहिलेसम्मकै उच्च ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो।
भारतीय मुद्रा डलरसँग कमजोर हुँदा नेपाली मुद्रा पनि घट्छ र डलरको भाउ बढ्छ । नेपाली मुद्राको भारतीयसँग १ सय बराबर १ सय ६० रुपैयाँको स्थिर विनिमय भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा पनि कमजोर भएको हो ।
डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रलाई फाइदा कम, बेफाइदा बढी गर्छ। डलर महँगिएकाले विदेशबाट भित्रिने वस्तु, पढ्न, घुम्न र स्वास्थ्य उपचारका लागि बाहिर जान महँगो पर्ने छ। पर्यटन व्यवसायी, विदेशमा बस्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) पाउने परिवारलाई डलर महँगो हुँदा फाइदा हुन्छ। विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च बढ्ने छ। औषधि उपचार, पर्यटक भएर विदेश भ्रमणमा जानेहरूलाई महँगिएको डलरले प्रभावित पार्छ।
डलर महँगिदा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीका लागि तोकिएभन्दा बढी रुपैयाँ खर्च गर्नुपर्छ। यसले बजेट घाटा बढ्ने र अर्थतन्त्रमा सुस्तता आउँछ।
-nagariknews