भक्तपुर, ८ असार । Mybhaktapur.com विगत वर्षमा झैं यस वर्ष पनि भक्तपुरमा रासायतिक मल अभाव चुलिएको छ । एकातिर मनसुन सुरु नभएर वर्षा नहसँदा समस्यामा परेका जिल्लाका किसानहरू बजारमा रासायनिक मलसमेत नहुँदा दोहोरो मारमा परेका छन् । त्यसैले किसानहरु अरु घरका काम छाडेर मल पाउने आशामा जिल्लाका विभिन्न सहकारी संस्थाका मल बिक्री केन्द्र धाइरहेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेडबाटै मल उपलब्ध नगराएपछि जिल्लाका सहकारी संस्थाहरुले किसानहरुलाई मल दिन सकेका छैनन् । तैपनि मल पाउने आशामा किसानहरु सहकारी संस्थाका मल बिक्री केन्द्र धाउन छोडेका छैनन् । जिल्ला कृषि विकास कार्यालय भक्तपुरका अनुसार जिल्लामा रोपाइँको समयमा मात्रै करिब एक हजार पाँच सय २५ मेट्रिक टन युरिया मल आवश्यक पर्छ ।
असार पहिलो सातासम्म करिब पाँच सय मेट्रिक टन मल जिल्ला भित्रिएको कार्यालयको तथ्यांक रहेको छ । मागअनुसार जिल्लामा रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसानहरू यस वर्षको रोपाइँ प्रभावित हुने चिन्तामा छन् । ‘रोपाइँ गर्ने दिन बित्दै गएको छ । एकातिर पानी परेको छैन भने अर्कोतिर बजारमा मल छैन’, भक्तपुर जगातीका किसान रत्नमान सुकुपायोले भने, ‘बैशाखभित्रै रासायनिक मलको जोहो गरिसक्नुपर्नेमा असार पहिलो साता भइसक्योे एक बोरा पनि मल हात पार्न सकेको छैन ।’
किसानहरूको सुविधाको लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मलमात्र होइन बजारमा महंगो रासायनिक मलसमेत छैन । त्यसैले किसानहरू मलको अभावले रोपाइँ प्रभावित हुने चिन्तामा रहेका छन् । जिल्ला कृषि विकास कार्यालयले भक्तपुरका दुई दर्जनभन्दा बढी सरकारी संस्थालाई सरकारी अनुदानको मल बिक्री विरतरण गर्ने अनुमति दिएको छ । कार्यालयको अनुमतिअनुसार सहकारी संस्थाले कृषि सामग्री कम्पनी लिमिटेडमा गई मल संकलन गर्ने र आफ्नो निश्चित बिक्री केन्द्रमार्फत किसानहरूलाई मल बिक्री वितरण गर्ने व्यवस्था गरेका छन् ।
जिल्लास्थित सहकारी संस्थाले मल ल्याएको सूचना पाएपछि किसानहरू मल बिक्री वितरण गर्ने दिन राती १२ बजेदेखि नै लाममा बस्ने गर्दै आएका छन् । ‘नत्र मल पाइँदैन । दिनरात नभनी मलकै निम्ति सुर्ता लिनुपरेको छ’, अर्का किसान कृष्णकुमार सुवालले भने, ‘पहिले लाइन बस्नै नपर्ने गरी जति पनि मल पाइन्थ्यो तर आजभोलि सबै चिजमा लाइन ।’ कृषि सामग्री कम्पनी लिमिटेडले भारतमा नेपाल आयात भएर पनि राजधानी ढुवानी नगर्दा उपत्यकामा मल अभाव चुलिएको मल बिक्री केन्द्र सञ्चालन गरिरहेका सहकारी संस्थाका पदाधिकारीहरु बताउँछन् । उनीहरुले कम्पनीले ल्याउन नसक्ने हो भने सहकारी मिलेर गाडी वीरगञ्जबाट मल काठमाडौं ल्याउँछौं भन्दा पनि सुनुवाइ नभएको बताए ।
सहकारीका धेरै पदाधिकारीहरुले दबाब दिएपछि बल्ल तीन चार सय बोराको मात्रे स्वीकृति दिने गरेको उनीहरुको भनाइ थियो । ‘सहकारी आफैले वीरगञ्जदेखि मल ल्याउँछु भन्दा पनि केन्द्रले जिल्लाको मागअनुसारको कोटा उपलब्ध गराउँदैन’, भक्तपुर ६ चोर्चास्थित सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको मल बिक्री केन्द्रका संयोजक पुण्यराम दुमरुले भने, ‘त्यसैले ल्याइएको मल धेरैभन्दा धेरै किसानलाई पु¥याउन दुईतीन किसानलाई एक बोरो मल भागबन्डा लगाइदिनुपर्छ ।’
जिल्लाका सबैजसो सहकारीले मल आइसकेपछि किसानहरुलाई सूचित गरी कुपन बाँड्ने र भोलिपल्ट प्रतिबोरा दुई किसानलाई मल बिक्री वितरण गर्दै आएको छ । भक्तपुर ११ स्थित संगम बचत तथा ऋण सहकारी संस्थाले पनि शुक्रबार वीरगञ्जबाट ल्याएको एकसय पचास बोरा मल करिब तीन सय किसानलाई भागबन्डा गरेर बिक्री वितरण गरेको छ । ‘मल लिन आउने किसान धेरै छन् तर मल भने थोरैमात्र थियो’, संस्थाको मल बिक्री केन्द्रका बलराम न्हिसुतुले भने, ‘त्यसैले धेरै किसानलाई पु¥याउन प्रतिबोरा दुई किसान हुने गरी मल बिक्री वितरण गरेका हौं ।’ उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले केही दिनपछि नै मल उपलब्ध गराउने आश्वासन दिएकोले अति आवश्यक पर्ने किसानहरुको गर्जो टर्ने गरी थोरै भए पनि मल बिक्री वितरण गरिएको हो ।
