Saturday, June 16, 2012 3:13 pm,
Posted by mybhaktapur
| News

एसएलसीमा छात्रातर्फ नेपाल प्रथम भक्तपुरकी आरती श्रेष्ठ अभिभावकका साथ Photo: Mybhaktapur.Com
भक्तपुर, २ असार । MyBhaktapur.Com प्रवेशिका (एसएलसी) परीक्षा २०६८ मा भक्तपुर नपा १६ बाराहीस्थानस्थित महेन्द्र विद्या आश्रमकी आरती श्रेष्ठ नेपाल प्रथम हुन सफल भएकी छिन् । आठ सय पूर्णांकको एसएलसी परीक्षामा आरतीले सात सय ४९ अर्थात् ९३.६२५ प्रतिशत अंक हासिल गरी छात्रातर्फ सर्वोत्कृष्ट भएकी हुन् । सिम्बल नं ०२८२५५४ एल रहेकी आरतीले अंग्रेजीमा ९६, नेपालीमा ८१, गणितमा ९७, विज्ञानमा ९४, सामाजिक शिक्षामा ९१, स्वास्थ्य तथा जनसंख्यामा ९५, ऐच्छिक गणितमा ९७ र कम्प्युटरमा ९८ अंक ल्याएकी छिन् । जिल्लाको कटुञ्जे गाविस ८, पाण्डुबजार निवासी मोहनदास श्रेष्ठ र सूर्यलक्ष्मी श्रेष्ठकी माइली छोरी आरतीले ल्याएको अंकको आधारमा नेपाल प्रथम भएको महेन्द्र विद्या आश्रमका प्रिन्सिपल महेन्द्रप्रसाद मास्केले बताए । परीक्षा नियन्त्रण कार्यालयमा बुझ्दा आरती नै छात्रातर्फ नेपाल प्रथम भएको जानकारी दिइएको उनको भनाइ थियो । कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य बोकेकी आरतीले भक्तपुरस्थित एसओएस हर्मन माइनर वा काठमाडौंस्थित सेन्ट जेभियर्समा भर्ना भएर विज्ञान संकाय पढ्ने बताएकी छिन् । आफ्नी दिदी एसओएसमा पढेको र त्यहाँको शैक्षिक वातावरणले आफूलाई प्रभावित पारेको उनी बताउँछिन् । आरतीका पिता मोहनदासले आफ्नी छोरी छात्रातर्फ नेपाल प्रथम भएको सार्वजनिक भएपछि घरसम्मै आएर आफ्नो उच्च माविमा भर्ना गर्न भनी आउनेको लाइन नै लागेको बताए । तर उनले छोरीको इच्छा र रुचिको सम्मान गर्दै उनको शैक्षिक भविष्यको निर्णयको अधिकार उनैलाई दिएको जानकारी दिए ।

एसएलसी परीक्षा २०६८ मा छात्रतर्फ नेपाल प्रथम हुन सफल आरती श्रे ष्ठ (बायाँबाट चौथो) लगायत शनिबार उनकै स्कुल महेन्द्र विद्या आश्रमद्वारा आयोजित सम्मान कार्यक्रममा सामूहिक फोटो खिचाउँदै ।Photo:MyBhaktapur.Com
यसैबीच महेन्द्र विद्या आश्रमले शनिबार छात्रातर्फ नेपाल प्रथम हुने आरतीलगायत स्कुलबाट एसएलसी उतीर्ण हुने अन्य विद्यार्थीहरूलाई सम्मान गदैर् बधाई ज्ञापन गरेको छ । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी जीतेन्द्रबहादुर भण्डारीले आरतीसँगै अन्य उत्तीर्ण विद्यार्थीलाई टीका, फूलमाला र खादा ओढाएर सम्मान गरेका हुन् । विद्यालयका प्रिन्सिपल महेन्द्रप्रसाद मास्केको सभापतित्वमा भएको उक्तकार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का भक्तपुर अध्यक्ष राजकुमार महर्जन, स्थानीय समाजसेवी अनन्तप्रसाद धौभडेल, आरतीका पिता मोहनदास श्रेष्ठलगायतले बन्द हड्तालमा समेत पढाइ हुने भक्तपुरको शैक्षिक वातावरणले गर्दा नै एसएलसी परीक्षामा राम्रो नतिजा आएको बताए ।
कार्यक्रममा छात्रातर्फ नेपाल प्रथम हुन सफल आरतीका मातापिता सूर्यलक्ष्मी र मोहनदास श्रेष्ठलाई पनि टीका, फूलमाला र खादा ओढाएर सम्मान गरिएको थियो ।

इराज र सुस्मिता) एसएलसी २०६८ मा छात्र र छात्रातर्फ नेपाल दोस्रो दावी गरि एका क्रमशः इराज पराजुली र सुस्मिता थापा । उनीहरु दुवै भक्तपुर दुवाको टस्थित माउन्ट भ्यू स्कुलबाट परीक्षा दिएका थिए ।Photo:MyBhaktapur.Com
त्यस्तै छात्रातर्फ पनि भक्तपुरकै बालकोट गाविसस्थित माउण्ट भ्यूइङ्गलिस स्कूलकी सुस्मिता थापा नेपाल दोस्रो भएकी छिन । विद्यालयका प्रिन्सिपल राजकुमार महर्जनका अनुसार उनले ८०० सय पूर्णांकमा ७४४ अर्थात ९३ प्रतिशत अंक ल्याएकी छिन् । प्रिन्सिपल महर्जनले सोही स्कुलका इराज पराजुली छात्रतर्फ नेपाल तेस्रो तथा भक्तपुर जिल्ला प्रथम भएको दावी गरेका छन् । इराजले ७५१ अर्थात् ९३.८८ प्रतिशत अंक ल्याएर एसएलसी परीक्षा २०६८ उत्तीर्ण गरेका छन् । स्कुलले इराज र सुस्मितासँग एसएलसीमा शत प्रतिशत उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई सम्मानस्वरुप बधाई ज्ञापन गरेको छ ।