एक गाउँ एक उत्पादनअन्तर्गत नुवाकोट जिल्लामा व्यवसायिक रुपमा गरिएको रेन्बो ट्राउट माछापालनको अध्ययन अवलोकन भ्रमणमा गएका भक्तपुरका उद्यमी तथा कृषक ।Photo:MyBhaktapur.Com
उनीहरूले काठमाडौंबाट त्रिशुली जाने पासाङ ल्हामु राजमार्ग दायाँबायाँ सञ्चालित करिब आधा दर्जन व्यवसायिक रेन्बो ट्राउट माछा फार्मको स्थलगत अध्ययन अवलोकन भ्रमण गरी त्यसका सञ्चालकहरुसँग अन्तरसंवाद गरेका थिए । माछापालन फार्मको अध्ययन अवलोकन भ्रमणपछि भक्तपुरबाट गएको टोलीको सम्मानमा नुवाकोट उद्योग वाणिज्य संघले शुक्रबार नै स्वागत कार्यक्रम गरेको छ ।
कार्यक्रममा नुवाकोट उवासंघका अध्यक्ष शरणउत्सुक सापकोटाले जिल्लामा सञ्चालित रेन्बो ट्राउट माछापालनबारेमा विस्तृत जानकारी दिएका थिए ।
उनका अनुसार २०६३÷६४ सालमा सुरु भएको उक्त कार्यक्रममा हाल करिब२० करोड रुपैयाँ लगानी भएको छ । १८ वटा व्यावसायिक माछा पोखरी रहेको उक्त कार्यक्रमअन्तर्गत ४० कृषक परिवार प्रत्यक्ष संलग्न छन् भने २०० जनाभन्दा बढी जनशक्तिले रोजगारी पाएका छन् । रेन्बो ट्राउट माछाले गर्दा नुवाकोटका अन्य कृषि उत्पादनले समेत बजार पाएको जानकारी दिँदै उनले व्यवसायिक रेन्बो ट्राउट माछापालन भइरहेको पासाङ ल्हामु राजमार्गलाई ट्राउट हाइवे नामाकरण गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
‘पासाङ ल्हामु राजमार्ग दायाँबायाँ रेन्बो ट्राउट माछाको व्यवसायिक पालन भइरहेको छ’, उनले भने, ‘रेन्बो ट्राउट माछा नुवाकोट जिल्लाकै पहिचान बनिसकेको छ । त्यसैले अब काठमाडौंबाट नुवाकोट पुग्ने पासाङ ल्हामु सडकलाई ट्राउट हाइवे नामाकरण गर्ने प्रक्रिया अघि बढाएका छौं ।’
उनका अनुसार हाल जिल्लाका ओखरपौवा, ककनी, मदानपुर, बेलकोट, थानसिं, सुनखानी, मनकामना, काहुले र किम्ताङ गाविसमा व्यवसायिक रेन्बो ट्राउट माछापालन भइरहेको छ । ती गाउँले उक्त माछापालनबाट आकर्षक आम्दानी गर्न थालेपछि जिल्लाका थप ६ गाविसबाट कार्यक्रम सञ्चालन गर्न माग भइरहेको उनले जानकारी दिए । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष प्रज्ज्वल जोन्छेंले नुवाकोटमा सञ्चालित ओभीओपीअन्तर्गत रेन्बो ट्राउट माछापालनको अवस्था, विकास र बजार व्यवस्थापनबारे जानकारी लिन अध्ययन अवलो कन भ्रमण गरिएको बताए ।
उनले ओभीओपी कार्यक्रमअन्तर्गत भक्तपुरमा भइरहेको व्यवसायिक लप्सी खेतीबारे जानकारी दिँदै यस्ता अध्ययन अवलोकन भ्रमणले दुई संघबीचकोसम्बन्ध तथा भाइचारा थप प्रगाढ हुने विश्वास व्यक्त गरे । जंगल छेउ निरन्तर चिसो पानी बग्ने जमिन रेन्बो ट्राउट माछा पाल्न सकिन्छ । यो माछा उच्च पहाडी क्षेत्रको झरना, मूल नदीको चिसो, सफा र बगिरहेको पानीमा मात्र पाल्न सकिन्छ । यो माछा २२ डिग्री सेन्टिग्रेडमाथि बाँच्न गा¥हो हुन्छ । त्यसैले यसका भुरा ९ देखि ११ सेन्टिग्रेड र खानयोग्य माछा १४ देखि १८ डिग्री सेन्टिग्रेडमा राम्ररी फस्टाउँछन् ।
ककनी – ४ दमनस्थित फल एण्ड ट्राउट भिलेज माछा फार्मका सञ्चालक दमन लामाका अनुसार उपयुक्त तापक्रम तथा दाना भएमा करिब १० ग्रामको ट्राउट माछाको भुरा पोखरीमा राखेको १० महिनामा दुईसयदेखि तीनसय ग्राम तौलको भई बिक्री योग्य हुन्छ । उनका अनुसार नुवाकोटमा उत्पादित माछाको बजार काठमाडौं उपत्यका हो । पछिल्लो समय अन्य मासुको मूल्यवृद्धि भएपछि माछा खानेहरुको संख्या बढे पछि मागअनुसार आपूर्ति गर्न नसकिएको उनले बताए ।
काठमाडौंमा प्रतिकिलो एक हजारदेखि १२ सय रुपैयाँ मूल्य पर्ने ट्राउट माछा किसानले भने सात सय पचासदेखि आठसयसम्ममा बिक्री गर्नुपर्छ । तर यस वर्ष पानी नपरेर तापक्रम बढ्ने क्रम बढेपछि माछा पालनसँगै बजार पठाउन समस्या भएको उनले बताए ।