आज आउँदैछन् धोनी

काठमाडौं, असार २ – भारतीय कप्तान महेन्द्रसिंह धोनीको आगमनलाई व्यग्रताका साथ कुरिरहेका नेपाली क्रिकेट समर्थकको प्रतिक्षा शनिबार बिहान उनी त्रिभुवन विमानस्थल उत्रिएसँगै समाप्त हुनेछ। पशुपतिनाथ दर्शनका लागि आउन लागेका धोनी नेपाल भ्रमण गर्ने पहिलो वर्तमान टेस्ट कप्तान हुनेछन्। विश्व क्रिकेटका सवैभन्दा ठूला स्टारमध्येका एक धोनीको नेपाल भ्रमण अहिलेसम्मकै खेलकुदको 'हाई प्रोफाइल' भ्रमण हो। 

यसअघि आईसीसीका तत्कालिन अध्यक्ष इशान मणी, फिफा अध्यक्ष सेप व्लाटर तथा पुर्व क्रिकेटरहरु कपिलदेव, सुनिल गावास्करलगायतका ठुला व्यक्तित्व नेपाल आएपनि वर्तमान खेलाडीको हकमा भने नेपाल आउने धोनी सवभन्दा विशिष्ट व्यक्तीत्व हुन। 

भारतीय दुतावासले धोनीको व्यक्तीगत भ्रमणलाई औपचारिक रंग दिने प्रयासमा नेपाली क्रिकेट टोली, क्रिकेटकर्मी तथा सञ्चारकर्मीसंग अन्तरक्रिया राखेर युथ इन्गेजमेन्ट प्रोग्रामको नाम दिएको छ। जसले नेपाली राष्ट्रिय क्रिकेटरहरुको व्यग्रता झनै बढेको छ। राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न अघिल्लो हप्ता काठमाडौं आएका शक्ती गौचन प्रतियोगिता स्थगनसँगै भैरहवा (घर) फर्किन लागेका थिए। तर धोनी आउने खवरले उनको काठमाडौं बसाई लम्बिएको छ, 'धोनीसँग कसरी आमने सामने गर्ने सोचमै मग्न भएर'।

साँढे दुई महिनाअघि इन्डियन प्रिमियर लिग (आइपिएल) को राजस्थान रोयल्समा ट्रायल दिन जाँदा भोगको एउटा अनुभवलाई धोनीसँग जोडेर कल्पना गर्दै शक्तिले उनको आगमन प्रतिक्षामा हप्ता दिन बिताइसकेका छन्। 'राजस्थानका कप्तान राहुल द्रबिड ब्याटिङका लागि नेटमा आएका थिए। घाँसे विकेट थियो। एक ओभर ब्याटिङ गर्दा बल दुई पटक उछालिएर आयो,' शक्तिले जयपुरको घटना स्मरण गर्दै भने, 'प्रशिक्षकलाई म यो विकेटमा ब्याटिङ गर्दिन भन्दै द्रबिडले त्यो विकेट छाडे। इङलिस ब्याट्सम्यान ओवाइस शाह त्यो विकेटमा ब्याटिङ गर्न जान लागेका थिए, तर द्रबिडले शाहलाई त्यो विकेट खराब छ, त्याहाँ ब्याटिङ नगर भनेर जान दिएनन्।'

नेपाली यु-१९ र राष्ट्रिय खेलाडीसँग धोनीले शनिबार दुई घन्टा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिताउने छन्। राजस्थानमा द्रबिडले नेटमा पिच खराब भनी ब्याटिङ नगरेको घटनालाई सम्झदै शक्ति भन्छन्, 'यहाँको विकेट हेरेर धोनीले के भन्लान?' धोनी ब्याटिङका लागि आइहालेमा शक्तिले अरु वेला जस्तै सामन्य सिधा लाइनमा बलिङ गर्ने सोचाई बनाएका छन्। आफ्नो बलमा धोनीले 'हेलिकप्टर' सटमा बाउन्ड्री हाने दुखि नहुने शक्ति बताउछन्। तथापि उनलाई रोक्ने उदेश्यमै बलिङ गर्ने शक्तिले बताए। क्रिकेटको 'स्टाइल बुक' मा नभए पनि धोनी 'हेलिकप्टर' सटका लागि विशेष चिनिन्छन्। 

धोनी विकेटकिपर बसेमा आफुले केही भन्न नमिल्ने शक्ति बताउछन्। 'मेरो बल यसरी आउँछ भनेर त्यत्रो ठुलो खेलाडीलाई केही भन्न मिल्दैन्। उनी जस्ता ठुला खेलाडीसँग आमने सामने नभए सम्म हाम्रो खेल अगाडी बढने सम्भावना नै हुदैन्। त्यसैले धोनीसँगको भेटलाई अबसरको रुपमा लिएको छु। राजस्थानमा ट्रायल दिएर आएपछि मेरो आत्मविश्वास निकै उच्च भएको छ। धोनीसँगको भेटले म जस्तै अरु खेलाडीमा पनि आत्मविश्वास बढ्ने छ।'

सन् २००१ मा एसिसी यु-१९ कपमा माल्दिभ्सविरुद्ध सतक बनाउदै शक्तिले नेपाली क्रिकेटको भविष्यको संकेत गरे। त्यसको दुई वर्षअघि प्रथम श्रेणीको क्रिकेटमा पाइला टेके पनि धोनी गुमनाम जस्तै थिए। १९९९-०० मा बिहारबाट रणजी ट्रफीमा 'डेब्यु' गरेका धोनी त्यसको पाँच वर्ष केन्याको नैरोबीमा पाकिस्तान 'ए' विरुद्धको खेलमा साहसीक इनिङ खेलेपछि चर्चामा आए, जुन अहिले सम्म कायमै छ। 

२००४ मा बंगलादेशविरुद्ध चित्तागोङमा एकदिवसीय 'डेब्यु' गरेका धोनीले २०६ एकदिवसीय खेल खेलिसकेका छन्। २००५ मा उनले श्रीलंकाविरुद्धको खेलबाट टेस्ट क्रिकेटमा पनि पाइला टेके। उनको नाममा ६७ टेस्ट रहेको छ। २००७ को ट्वान्टी-२० विश्वकपका लागि भारतले युवा टोली उतार्ने निधो गर्दा धोनीले पहिलो पटक नेतृत्वको जिम्मेवारी पाएका थिए। केवल एक ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलेको र त्यसमा पनि प्रमुख प्रशिक्षक बिना उत्रिएको भारतीय टोलीलाई धोनीको नेतृत्वले विश्व च्याम्पियन बनायो। 

२००४ को पाकिस्तान भ्रमण दौरान धोनी चर्चामा थिए। तत्कालिन पाकिस्तानी राष्ट्रपती परवेज मुसरफले आफु धोनीको लामो कपालको प्रशंसक भएको बताएका थिए। त्यसको अर्को वर्ष धोनीले जयपुरमा श्रीलंकाविरुद्ध बनाएको १ सय ८३ रन विकेटकिपर ब्याट्सम्यानले एकदिवसीय क्रिकेटमा बनाएको उच्च स्कोरमा स्थापित भयो। २००८ र ०९ मा उनी आइसिसीको वर्षको एकदिवसीय खेलाडीमा चुनिए। 

एकै पटक मारेको ठुलो फडकोका कारण धोनीलाई भाग्यमानी खेलाडी पनि भनिन्छ। २०११ मा एकिदवसीय विश्वकप दिलाएपछि धोनीले आफु भाग्यमानी भन्दा माथी रहेको प्रमाणित गरे। श्रीलंकासँगको फाइनलमा खेलेको म्यान अफ द फाइनल इनिङ त्यसको प्रमाण थियो। धोनीकै कप्तानीमा चेन्नई सुपर किंग्सले आइपिएलको ५ मध्ये दुई संस्करण जितिसकेको छ। २०१० मा उनले चेन्नईलाई च्याम्पियन्स लिगको विजेता बनाएका थिए। 

फुटबलमा गोलकिपरको भुमिकाबाट धोनीले खेलयात्रा सुरु गरेका थिए। फुटबल टोलीका प्रशिक्षकले धोनीलाई क्रिकेट खेल्न प्रेरित गरे। विकेटकिपिङबाट क्रिकेटमा होमिएका धोनीका लागि सचिन तेन्दुलकर आदर्श खेलाडी थिए। २०१० मा तेन्दुलकरलाई नै उछिन्दै धोनी सवै भन्दा ठुलो प्रायोजक हात पार्ने खेलाडी बने। उनलाई ४ करोड २० लाख डलरमा विज्ञापन प्रायोजनका लागि दुई वर्ष अनुबन्धन गरिएको थियो, जुन तेन्दुलकरको भन्दा १ करोड ८० लाख डलर बढी थियो। 

विश्वको प्रतिष्ठित बिजनेस पत्रिका फोर्बसले धोनीलाई क्रिकेटमा सवैभन्दा कमाई गर्ने खेलाडीको सुचिमा शीर्ष स्थानमा राखेको छ। खेलकूदको स्पोर्टसप्रो पत्रिकाले सवैभन्दा कमाई गर्ने खेलाडीको विश्व सुचिमा धोनीलाई शीर्ष १० मा तथा एसियाको शीर्ष स्थानमा राखेको थियो। टाइम्स पत्रिकाले गत वर्ष प्रभावशाली १ सय व्यक्तिको सुचिमा धोनीलाई पनि समावेश गरेको थियो। 

राँचीको सामन्य परिवारमा जन्मेका उनका अभिभावक उत्तराखण्डबाट पहिलाको बिहार र हालको झारखण्डको राँचीमा सरेका थिए। धोनीका पिता पान सिंह एक कम्पनीमा जुनियर व्यवस्थापकको रुपमा काम गर्थे। उत्तराखण्डको देहरादुनकी स्थानिय साक्क्षी रावतसँग धोनीको विवाह सामन्य रुपमा भएको थियो। मैदानमा जस्तै धोनीको जीवन शैली सामन्य छ। उनी तामझाम भन्दा टाढै बस्छन्। 

'हामी नेपाली युवासँग जोडिन चाहन्थ्यौं, त्यसमा खेलकुद सही माध्यम हो। धोनीको नेपाल भ्रमण पनि यही कारण नै हो,' धोनीको भ्रमणको बारेमा भारतीय दुताबासकी प्रथम सचिव अपूर्वा श्रीवास्तवले प्रस्टयाएकी थिइन्। धोनीको सफलताको यात्रा नेपाली क्रिकेट खेलाडीलाई 'दिउँसो देखेको सपना' मात्र हुन सक्ला। एउटा साधरण परिवारमा जन्मिएर भारतीय टोली हाँकेको उदहारण शक्तिसहित नेपाली खेलाडीको लागि प्रेरणा दिन पर्याप्त हुन सक्छ।

 

नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>