भक्तपुर नपाद्वारा दुई दर्जन खेलाडी सम्मानित

भक्तपुर, २६ जेठ(Mybhaktapur.com) । भक्तपुर नगरपालिकाअन्तर्गत रहेको नगर खेलकुद समितिले जिल्लाका विभिन्न खेल विधाका दुई दर्जन उत्कृष्ट खेलाडी, अन्तर्राष्ट्रिय पदक विजेता, प्रशिक्षक र निर्णायकहरुलाई शुक्रबार सम्मानसहित बधाई ज्ञापन गरेको छ । २०६८ सालमा स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको तथा ती स्पर्धामा पाएको पदकको आधारमा अंक दिई उत्कृष्ट खेलाडी घोषणा गर्दै सम्मान गरिएको हो ।
 
 प्रत्येक खेल विधामा एक पुरुष र एक महिला गरी दुईदुई खेलाडीलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रशंसापत्र, ट्राकसुटलगायतले सम्मान गरेका थिए । उत्कृष्ट घोषित भई सम्मानित खेलाडीहरुमा एथलेटिक्सतर्फ सुदर्शन श्रेष्ठ र रीना कपाली, जिम्न्यास्टिकतर्फ सत्यनारायण मानन्धर र पिंकी झांग, बुद्धिचालमा राज प्रजापति र मतिना कुसी, भलिबलमा सुविन दाहाल र रञ्जना दुवाल रहेका छन् । त्यस्तै टेबलटेनिसतर्फ पियूष अवाल र सोनु थापामगर, व्याडमिन्टनतर्फ कृष्णसुन्दर खाइतू र रोजी राजलवट, उसुतर्फ तेनडोर्जे शेर्पा र सुस्मिता तामांग, कबड्डीतर्फ अनिष सुवाल र चण्डिका लाखेमरु तथा तेक्वान्दोतर्फ रोहित तामांग र नम्रता तुलाधर पनि उत्कृष्ट खेलाडी घोषित भई सम्मानित भएका थिए । यसैगरी सितेरियो करातेतर्फ राजीव रञ्जित र सुमित्रा सुलु, भारोत्तोलनमा लक्ष्मी वन, बास्केटबलमा सग्मा प्रजापति, बक्सिंगमा प्रवीण मगजु र शारीरिक सुगठनमा अमित मानन्धर पनि उत्कृष्ट घोषित सम्मानित भए ।
 
अन्तर्राष्ट्रिय पदक पाउने खेलाडीमा सितेरियो करातेतर्फ मन्डेकाजी श्रेष्ठ, जुर खाने खेलतर्फ दीपेश श्रेष्ठ, कबड्तीमा दिलीपनारायण श्रेष्ठ, रामशरण त्वाती र श्यामकृष्ण बासुकला पनि सम्मानित भए । रेफ्री तथा प्रशिक्षकतर्फ कृष्णसुन्दर प्रजापति (बक्सिंग), राजेश कुसी र जीवन छुस्याबाग (तेक्वान्दो), विनोदकुमार प्रजापति, उमेश श्रेष्ठ, विकास प्रजापति र सञ्जीव श्रेष्ठ (एथलेटिक्स), राजेन्द्र प्रजापति (कबड्डी) र राजन चित्रकार (कराते) पनि सम्मानित भए । उक्त अवसरमा नेमकिपाका अध्यक्ष बिजुक्छेले खेल हारजीतको लागि मात्रै नभई अनुशासन र राष्ट्रिय पहिचानको लागि हुनुपर्ने बताए । खेलको विकास र विस्तारको लागि विद्यालय तहदेखि विश्वविद्यालयसम्म छुट्टै विषयको रुपमा पढाइको व्यवस्था गरी विशेषज्ञता हासिल गर्ने प्रवन्ध मिलाउनुपर्ने उनको भनाइ थियो ।
 
खेलाडी मूल्यांकन समितिका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष विनोदचरण रायका अनुसार २०६८ सालभित्र भएका प्रतियोगितामा भाग लिई प्राप्त पदकको आधारमा मनोनयनको लागि निवेदन दिएका खेलाडीहरुमध्येबाट उत्कृष्ट खेलाडी छनोट गरिएको हो । कार्यक्रममा भक्तपुर नपाका पूर्वप्रमुख प्रेम सुवाल, कार्यकारी अधिकृत राममणि भट्टराई, नगर खेलकुद समितिका संयोजक उकेश कवां र पूर्वसंयोजक रवीन्द्र खर्बुजालगायतले सम्मानित खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरेका थिए । समितिले प्रत्येक वर्ष उक्त खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम गर्दै आएको छ ।
 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>