भक्तपुर २५ जेठ । Mybhaktapur.com प्रधानमन्त्री डा. बाबुराम भट्टराई र राप्रपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द बिच आज चन्द निवास लोकन्थलीमा भेटवार्ता भएको छ । भेटपछि प्रधानमन्त्री भट्टराईले संचारकर्मीलाई कुनै प्रतिक्रिया दिनु भएन भने चन्दले भेटमा भएका कुराकानीका बारेमा संचारकर्मीलाई जानकारी दिनुभएको थियो । प्रधानमन्त्री भट्टराई मुलुकको वर्तमान परिस्थितिबारे सल्लाह एवं सुझाव लिनका लागि आउनु भएको बताउदै उहाँले प्रधानमन्त्रीलाई आफूले संविधानसभाको चुनाव गर्न पनि अन्तरिम संविधानबाटै चल्नु पर्ने बताएको र यसका लागि ठूला साना सबै पार्टी र राष्ट्रपतिको सहयोग जरुरी रहेकोले यसतर्फ अगाडि बढ्न आफूले सुझाव दिएको बताउनुभयो ।
भेटमा प्रधानमन्त्री भट्टराईले आफू सहमति कै लागि हिडेको र सहमतिका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभएको जानकारी दिदै उहाँले छलफलबाट जे विकल्प आउँछ आफू त्यही अनुसार पाईला चाल्ने बताएनु भएको जानकारी दिनुभयो । चुनावमा जान वा संविधानसभा व्यूताउन अन्तरिम संविधानले रोकेको उल्लेख गर्दै चन्दले नयाँ प्रधानमन्त्री कसरी बनाउने भन्ने व्यबस्था समेत अन्तरिम संविधानमा व्यबस्था नभएकाले सहमतिको बिकल्प नभएको नेता चन्दले बताउनुभयो ।
चन्दले भन्नुभयो–‘ राजनीतिक सहमति नभै संबैधानिक बाटोको बाधा हटाउन सकिन्न, एक वा दुई दल मात्र चुनाव हुन सक्दैन, नयाँसंविधान नबनेसम्म अन्तरिम संविधान मै टेक्नुपर्छ, तसर्थ सहमतिको विकल्प छैन भन्ने कुरा प्रधानमन्त्रीलाई जानकारी गराए ।’ परिणामको विचार नै नगरी हतारमा प्रधानमन्त्री भट्टराईले संविधानसभा विघटन गरेकोले यो समस्या आएको चन्दले बताउनुभयो ।