Sunday, June 3, 2012 4:33 pm,
Posted by mybhaktapur
| Politics

भक्तपुर २१ जेठ(Mybhaktapur.com) । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तत्काल चुनावी सरकार गठन गर्नुपर्ने बताउनु भएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले बहालवाला वा पूर्वप्रधान न्यायाधिसको अध्यक्षतामा स्वतन्त्र र निष्पक्ष चुनावी सरकार गठन गरेमात्र समस्याले निकास पाउने बताउनु भएको हो ।
दलहरुले सहमतिको रटान छोडेर अनुभवी र स्वतन्त्र व्यक्तिहरुको सानो चुनावी सरकार गठन गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो । थापाले विगतमा राजालाई धोका दिएका दलहरुनै हाल असंवैधानिक गतिविधिलाई निरन्तरता दिँदै राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न दवाब दिइरहेका बताउनुभयो । अहिलेको समयमा राष्ट्रपति सजग नरहे पूर्व राजा कै हालतमा पुर्याउने बताउनुभयो ।
मुलुकमा दुईखाले अतिवादको जन्म भएकाले संविधानसभा विघटन भएको आरोप उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो,— “ एमाओवादीले सत्तामा बसेर चुनावलाई कब्जा गरि सर्वसत्ता लाद्न खोज्ने तथा काँग्रेस र एमालेले प्रजातन्त्रको नाममा नयाँ अधिनायकवाद लाद्न खोज्नु कै परिणाम हो संविधानसभा विघटन ।” संविधानसभा विघटन भईसकेकोले संविधानसभाले गरेको सबै निर्णय कार्यान्वय नभएकाले अवस्थामा अब स्वतः मुलुक संवैधानिक रुपमा २०४७ सालको अवस्थामा फर्किएको उहाँको दाबी थियो ।
अध्यक्ष थापाले भन्नुभयो—‘ संविधानसभाले घोषणा गरेको गणतन्त्र र अन्य निर्णयहरु समेत संविधानसभाको बिघटनसँगै स्वत खारेज भईसकेको छ, अहिले संबैधानिक रुपमा राजतन्त्रको पुनःस्थापना भईसकेको छ । विगतमा नेपाली काँग्रेस र एमालेले शान्ति र संविधानका नाममा एमाओवादीलाई काँधमा बोकेर हिडेको परिणाम उनीहरुले भोग्न थालेको बताउनुभयो । माओवादी आफूमाथि खनिने डरले नेपाली काँग्रेस र एमालेले अब अरण्य रोदन गर्नुको कुनै अर्थ नभएको थापाले टिप्पणी गर्नुभयो ।