Wednesday, May 30, 2012 4:57 pm,
Posted by mybhaktapur
| Articles

नेपाली काँग्रेसका भक्तपुर जिल्ला सचिव तथा युवा नेता विष्णुराज कार्कीले भक्तपुरको बालकोट स्थित आफ्नै जग्गामा गरेको गरेको तरकारी खेतीमा काम गर्दै । Photo/ Mybhaktapur.com
भक्तपुर १७ जेठ(Mybhaktapur.com) । मिहेनत गरे नेपालमै सुन फलाउन सकिन्छ, विदेश जानु पर्दैन भन्ने उदाहरण प्रस्तुत गरेका छन् नेपाली काँग्रेसका भक्तपुर जिल्ला सचिव तथा युवा नेता विष्णुराज कार्कीले । राजनीतिसंगै गाईपालन र तरकारी खेतीमा व्यस्त रहेका उहाँले राजनीति गर्नेले व्यवसाय गर्दैन भन्ने मान्यतालाई चिर्दै आर्थिक उपार्जनका लागि एक वर्ष देखि बालकोट ९ देवडोल स्थित आफ्नै २५ रोपनी जमीनमा गाई पालन र तरकारी खेती गरेर लाखौँ आम्दानी गर्नथाले पछि अरुका लागि उदाहरणीय बनेका हुन् ।
उपत्यकामा दूधको माग बढ्दै गएपछि दूधको आपूर्ती सहज बनाउन तीन रोपनी क्षेत्रफलमा गाईफर्म , १५ रोपनीमा अर्गानिक तरकारी खेती गरेका छन् भने ७ रोपनी जग्गामा घाँस लगाएका छन् । करिब २० लाख रुपैयाँ लगानी गरेर सुरु गरेको व्यवसायबाट उहाँले वार्षिक १६ लाख रुपैँयासम्मको आम्दानी गर्ने गरेको बताउनुभयो । दैनिक एक सय २० लिटरसम्म दूध उत्पादन हुने उहाँको फर्ममा दुध लिन बिहान ५ बजे नै स्थानीय बासिन्दा एवं कौशलटार र लोकन्थलीदेखि ग्राहकहरु दूध लिन आउने गरेको उहाँले बताउनुभयो । माग अनुसारको दूध दिन नसकेको बताउँदै उहाँले सरकारले चीनबाट ल्याउन लागेको विकासे गाई किन्न कुरेर बसेको र अबको एक वर्ष मै एकसयवटा गाई पुर्याउने बताउनुभयो ।
दुध बिक्रीबाट मासिक ५० हजार र तरकारी बिक्रीबाट वार्षिक १० लाखसम्म आम्दानी हुने गरेको छ भने उहाँको फर्ममा आठ जनालाई रोजगारी समेत पाएका छन् । विद्यार्थी जीवनदेखि नै नेपाली काँगे्रस पार्टीमा लाग्नु भएको कार्की युवा नेता गगन थापाको सल्लाह र सहयोगले कृषि पेशामा संलग्न भएको बताउनु हुन्छ । कार्की भन्नुहुन्छ –‘जसरी गगनले राजनीतिमा सकृय रहेर पनि आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेको छ , त्यसैगरी मैले पनि राजनीति गर्ने व्यक्तिले अन्य काम गर्दैन भन्ने भ्रमलाइ चिर्न गगन दाई कै सल्लाहमा कृषि व्यवसाय सुरु गरेको हुँ ।’

नेपाली काँग्रेसका भक्तपुर जिल्ला सचिव तथा युवा नेता विष्णुराज कार्कीले भक्तपुरको बालकोट स्थित आफ्नै जग्गामा गरेको गाई पालन । Photo/ Mybhaktapur.com
२०५८ सालमा नेपाल बिद्यार्थी संघको भक्तपुर जिल्ला अध्यक्ष भएका कार्की २०६३ सालमा नेबिसंघको केन्द्रीय सदस्य , २०६५ सालमा सहमहामन्त्री हुँदै हाल नेपाली काँग्रेस भक्तपुरका जिल्ला सचिव हुनुहुन्छ । भ्रमणका क्रममा विश्वका कतिपय देशमा त्यहाँका नागरिकहरु कृषि पेशामा आत्मसम्मानका साथ संलग्न हुने गरेको र सबैले कृषि पेशालाई सम्मान गर्ने गरेको देखेपछि यो पेशामा लाग्न आफूलाई थप हौसला मिलेको उहाँले बताउनुभयो । गत वर्ष १६ वटा गाई किनेर सुरु गरेको गाई पालन अहिले फर्ममा ५२ वटा गाई रहेका छन् । जसमध्ये २ वटा गाई हलस्ट्यान र बाँकी ५० वटा जर्सी गाई रहेका छन् । उहाँका कुखुरा फर्ममा नमुनाका रुपमा १०० वटा गिरीराज जातका कुखुरा समेत रहेको छन् ।
बाख्रा पालन समेत सुरु गरेका भएपनि वातावरण नमिलेका कारण बाख्रापालन भने गर्न नसकी सबै बाख्रा बेचेको उहाँले बताउनुभयो । जेठको गर्मीको धुपमा पनि यतिबेला यहाँ काँके्रा, तितेकरेला ,गोलभेँडा ,खुर्सानी लटरम्म फलेका छन् । तरकारी लिन खेत मै आउने भएकाले बजारको समस्या नभएको उहाँले बताउनुभयो । कृषि व्यवसाय संचालनमा उनलाई आफन्त सुनील ठकुरी, उहाँको परिवार र छिमेकीले समेत साथ दिएका छन् । मेहनत गरे विदेशमा पसिना बगाउन जानु पर्दैन स्वदेशकै माटोमा आफन्तहरुका माझ रमाएर मनग्गे आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ—‘कृषि पेशा गरेर पनि जीवनलाई आर्थिक सम्पन्नतापूर्ण बनाउन सकिन्छ र सम्पन्नशाली व्यक्तिले पनि यो पेशा अङ्गालेर अरुलाई कृषि पेशाप्रति आकर्षित गर्न प्रेरणा प्रदान गर्न सकिन्छ । ’