संविधान आउने विश्वासमा नेप्से आकासियो

जेठ १४ – सर्वोच्च अदालतले संविधान सभाको म्याद नथप्न अन्तरिम आदेश गरेपछि दलहरु नयाँ संविधान बन्ने विश्वासमा आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। नेप्से १४ अंकले बढेर ४ सय १२ मा पुगेको छ। १० करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। विस्तारै खरिद कर्ता बढेपछि नेप्से बढेको हो। चार प्रतिशतले बजार बढेपछि सर्किट ब्रेकर लागेर आधा घन्टा कारोवार पनि रोकियो। 'सर्वोच्च अदालतको आदेशपछि दलहरुले अन्तिम समयमा सहमति गरि संविधान जारी गर्छन भन्ने विश्वास साधारण लगानीकर्तामा देखिएकोले बजार बढेको हो' स्टक ब्रोकर एशोसियशनका अध्यक्ष अन्जनराज पौडेलले नागरिकन्युजसँग भने।

एकै दिन सेयर बजारमा १० करोड ७३ लाखको सेयर किनवेच भएको छ। बढ्दो सेयर कारोवारले पनि बजार उकालो तर्फ लाग्ने देखाएको छ। संविधान जारी भएपछिको अवस्थामा सेयर बजार अझै बढ्ने लगानीकर्ता बताउँछन्।

'संविधान आएपछि मुलुकमा नै स्वदेशी तथा विदेशी लगानीको माहौल बन्छ' इन्भेष्टर फोरमका अध्यक्ष सिताराम थपलियाले नागरिकसँग भने-'उच्च तहमा पुग्न समय लागेपनि सेयर बजारमा लगानी आउँछ र बजार ५० प्रतिशत बढ्छ।' लगानीको वातावरण अभाव, बैंकिङ क्षेत्रमा तरलताको अभाव, रियल स्टेटमा आएको मन्दीले घट्दै आएको बजारलाई राजनीतिक स्थिरताले धेरै ठुलो सकारात्मक प्रभाव पार्ने उनले बताए। यसको उदाहरण केही दिनको सेयर बजारलाई लिन सकिन्छ। राजनीतिक सहमति भएमा बजार बढ्ने र सहमति नभएमा बजार घट्ने क्रमले सेयर बजारका लगानीकर्ताको मानसिकता बुझन सकिने लगानीकर्ताले बताएका छन्।

चैतको अन्तिम सातामा शान्ति प्रक्रिया टुङ्याउने राजनीतिक सहमतिले सेयर बजारका लगानीकर्तामा सकारात्मक प्रभाव परेको थियो। त्यतिबेला २ सय ९८ मा रहेको नेप्से तलमाथी गर्दै आएको छ। बजारमा सेयर बिक्री गर्ने कम भएका छन् भने खरिद गर्नेको संख्या बढेको छ। 'बजार राजनीतिक अवस्थामा नै निर्भर छ' पौडेलले भने-'संविधान जारी हुँदा लगानीकर्ताको आत्मविश्वास अझ बलियो भै बजार उकालो लाग्ने छ।'

-(नागरिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>