भक्तपुर, २९ वैशाख । (Mybhaktapur.com) स्प्रिंगडेल इंगलिस स्कुल र डेमोस सेकेन्डरी स्कुलले भक्तपुरमा शुक्रबारदेखि सुरु स्व. ज्ञानबहादुर न्याइच्याई स्मृति कप जिल्लाव्यापी विद्यालयस्तरीय खुला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । भलिबल प्रशिक्षण समूह भक्तपुरद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा स्प्रिंगडेलले बाल विकास सेकेन्डरी स्कुललाई सोझो सेटमा पराजित गरेको हो । समूह ‘क’ का बाल विकासको भन्दा उत्कृष्ट प्रदर्शन गर्दै स्प्रिंगडेलले २५ः२३ र २६ः२४ को सेटमा बाल विकासलाई पाखा लगाएको हो । त्यस्तै सोही समूहका डेमोस र एजे सेकेन्डरी स्कुलबीच भएको अर्को खेलमा एजे पनि सोझो सेटमा पराजित भयो ।
डेमोसले एजेलाई २५ः१२ र २५ः१३ को फराकिलो अंकले हराएको थियो । भक्तपुर नगरपालिकाका पूर्वप्रमुख स्व. ज्ञानबहादुर न्याइच्याईले नगरको शैक्षिक र सांस्कृतिक विकाससँगै खेलकुद उत्थानमा महत्वपूर्ण भूमिका खेलेको स्मरणमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । भक्तपुर नपा १५ स्मृतिनगरस्थित शहीद स्मृति खेल मैदानमा भएको उक्त प्रतियोगितामा जिल्लास्थित पन्ध्र वटा विद्यालयको सहभागिता रहेको छ । खेलाडीहरूको व्यक्तिगत प्रदर्शनीको आधारमा पुरस्कारसमेत प्रदान गरिने उक्त प्रतियोगितामा प्रथम हुनेले एघार हजार एकसय एघार, दोस्रो हुनेले छ हजार छ सय ६६ र तेस्रो हुनेले तीन हजार तीन सय ३३ रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।
प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका विदेश विभाग प्रमुख एवं भक्तपुर नगरपालिकाका पूर्वप्रमुख प्रेम सुवालले शुक्रबार राष्ट्रिय भलिबल रेफ्री श्यामकृष्ण खत्रीलाई बल हस्तान्तरण गरी गरेका थिए । अध्यक्ष नारायणमान बिजुक्छेंले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता उद्घाटन अगाडि भक्तपुर दरवार क्षेत्रबाट खेलाडी तथा जिल्लास्थित खेलप्रेमी महानुभावहरुको सहभागितामा मार्चपास भएको थियो । उक्त मार्चपास भक्तपुर दरबार क्षेत्रबाट टौमढी, नासमना, वंशगोपाल, भार्वाचो, दूधपाटी हुँदै शहीद स्मृति खेल मैदानमा समापन गरिएको थियो ।
