भक्तपुर, १६ वैशाख ।(Mybhaktapur.Com) सैनिक आवासीय महाविद्यालय भक्तपुर सल्लाघारीद्वार ा आयोजित पाँचौं प्रधानसेनापति कप रनिङ्ग क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार ग्यालेक्सी पब्लिक इङ्गलिस स्कुलले चार विकेटको जीत दर्ता गरेको छ । पहिलो पालिमा टस जितेर व्याटिङ्ग रोजेको ग्रीनल्याण्ड चिल्ड्रेन एकेडेमी (जीसीए) ले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय पाँच रन जोडेको थियो । जीसीएको लागि दीपेन्द्र शाह, अमृत थापा र सञ्जीव घिसिङ्गले क्रमशः १९, १७ र १५ रनको योगदान गरेका थिए ।
बलिङ्गतर्फ ग्यालेक्सीका म्यान अफ दि म्याच इनफ सुवेदीले चार ओभरमा १२ रन खर्चेर तीन विकेट लिए । त्यस्तै श्रीजल प्रसाईंले चारै ओभरमा १९ रनको क्षतिमा एक विकेट लिएका थिए । जवाफी व्याटिङ्गमा आएको ग्यालेक्सीले १२.३ ओभरमा मात्र ६ विकेटको क्षतिमा एकसय ६ रनको लक्ष्य पछ्याउँदै चार विकेटले जीत हात पारेको हो । ग्यालेक्सीका लागि पासाङ्ग शेर्पाले ३१ बलमा चार चौकाको मद्दतले ३५ रन जोडे । निर्णय बरालले अविजित २१ र सुयोज ताम्राकारले २० रनको योगदान गरेकाथिए ।
शुक्रबार उद्घाटन खेलमा आयोजक सैनिक आवासीय महाविद्यालयले नेपाल प्रहरी उच्च माविलाई ५६ रनले हराएको थियो । प्रतियोगिताअन्तर्गत आइतबार नेपाल प्रहरी उच्च मावि र एलआरआईबीच पहिलो तथा राजन मेमोरियल स्कुल र ईपीएसबीच दोस्रो खेल हुनेछ ।