भक्तपुर २५ चैत ।(Mybhaktapur.Com) सर्टवेभ र मिडिएमवेभ बज्ने पुरानो प्रविधिका मात्र होइन एफएम बज्ने जिडिटल रेडियोहरू पनि हिजोआज बिक्न छाडेका छन् । एफएम सुविधासहितका मोबाइल सेट आएपछि नेपाली बजारमा सबैखाले रेडियोको बिक्री हुन छाडेको हो । राजधानीका अधिकांश इलोक्ट्रोनिक्स पसलमा अहिले पुरानो प्रविधिदेखि डिजिटल रेडियोको बिक्री निकै घटेको बिक्रेताहरू बताउँछन् । राजधानीमा मुख्य केन्द्रका पसल मात्र होइन गाउँबाट आएकाहरूको धेरै जमघट हुने रत्नपार्कवरपरका पसलमा समेत रेडियोहरू बिक्री हुन छाडेका छन् । ‘अहिले रेडियो खोज्ने कहिलेकाहीँ मात्र आउँछन्,’ रत्नपार्कको सववेमा इलेक्ट्रोनिक्स पसल चलाउने विमला श्रेष्ठले भनिन्, ‘गाउँबाट आएका केही मान्छेले मात्र किन्छन् ।’
श्रेष्ठले तीन/चार वर्षअघिसम्म दैनिक सात/आठवटा रेडियो बेच्थिन् । अहिले भने मुस्किलले महिनामा सात/आठवटा मात्र बिक्री हुने गरेका छन् । ‘रेडियो र क्यासेट प्लेयर खोज्नेहरूभन्दा मेमोरी कार्ड लाग्ने उफर खोज्ने धेरै आउँछन्,’ उनले भनिन् । बजारमा पानासोनिक, सोनी नेसनललगायत ब्रान्डका रेडियोहरू पाइन्छन् । तर, कहिलेकाहीँ किन्न आउने ग्राहकले पनि यस्ता नकिन्ने गरेको बिक्रेताहरू बताउँछन् । उनीहरूका अनुसार कहिलेकाहीँ खोज्ने आउनेहरूले पनि चिनियाँ डिजिटल रेडियो मात्र किन्ने गर्दछन् । यस्ता रेडियोको मूलय गुणस्तरअनुसार दुई सयदेखि एक हजार रुपैयाँसम्म पर्छ । ‘अलिअलि बिक्नेमा पनि डिजिटल रेडियो मात्र छन्,’ नयाँसडकस्थित कृति सपका सञ्चालक अनिलकुमार अग्रवालले भने, ‘त्यो पनि गाउँबाट आएकाले मात्र किन्छन् ।’ ‘पाँच वर्षअघिसम्म रेडियोको बिक्री धेरै हुने गरेको उनले बताए ।
लामो समयदेखि इलोक्ट्रनिक्स सामान बिक्री गर्दै आएका शाक्य ट्रेडर्सका सञ्चालक अनुप शाक्यले रेडियोसँगै म्युजिक प्लेयरहरूको पनि बिक्री हुन छाडेको जानकारी दिए । ‘अहिले रेडियो, म्युजिक प्लेयर र स्पिकरको काम गर्ने उष्फरको माग बढी छ,’ उनले भने, मोबाइलमा रेडियो सुन्न नचाहनेले पनि यस्तै उफर किन्छन् ।