Saturday, April 7, 2012 9:55 pm,
Posted by mybhaktapur
| Business
भक्तपुर २५ चैत्त(Mybhaktapur.com) । वायुऊर्जा प्रविधिबाट नेपालमा पर्याप्त मात्रामा विद्युत् उत्पादन गर्न सकिने सम्भावना भए पनि यसको अधिकतम् प्रयोग गरी विद्युत् उत्पादन गरिएको भने पाइदँैन । मुलुक यतिखेर दैनिक बाह्रघन्टाको विद्युत् अभावमा रहेको र विद्युत् आपूर्तिका विकल्पको खोजी भइरहेको भएता पनि वायुऊर्जा प्रविधिका माध्यमबाट विद्युत् उत्पादन गर्ने खोजी सरकारी र निजी तवरबाट समेत गरिएको पाइदँैन । विश्वमा हावाबाट १ लाख ५० हजार मेगावाट बिजुली उत्पादन भइरहेको अवस्थामा नेपालमा भने हालसम्म छ वटा आयोजनाबाट जम्मा ११.६ किलोबाट मात्र विद्युत् वायुऊर्जा प्रविधिबाट उत्पादन भइरहेको छ । सबैभन्दा बढी मुस्ताङका थिनी र कागबेनीमा वायुऊर्जा निकाल्न सकिने वैकल्पिक ऊर्जा प्रबद्र्घन केन्द्र खुमलटारकी ऊर्जा अधिकृत अरूणा आवा बताउनुहुन्छ । उहाँले सन् २०११ को अन्त्यसम्ममा वैकल्पिक ऊर्जा प्रबद्र्धन केले दुई मेगाबाट उत्पादनको लक्ष्य लिएको बताउनुभयो ।
मुस्ताङबाट मात्र १० देखि १५ हजार मेगावाटसम्म विद्युत् निकाल्न सकिन्छ । १० किलोवाटसम्मका टर्वाइनहरू ४ मिटर प्रतिसेकेन्डको गतियुक्त हावा चल्ने जुनसुकै ठाउँमा जडान गरेर विद्युत् निकाल्न सकिने उहाँले भन्नुभयो । वायु विद्युत् उत्पादनका इन्जिनियर अमृतसिंह थापाले उपत्यकामा मात्र दैनिक १५० मेगावाटको हाराहारीमा दैनिक खपत पुगिसकेको अवस्थामा जतिसक्दो छिटो वायुऊर्जाबाट विद्युत् उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सरकारले चाहेमा दुई वर्षभित्रमा उपत्यकामा विद्युत् मागको आधा विद्युत् वायुबाट नै निकाल्न सकिन्छ । उहाँले १ किलोवाट विद्युत् उत्पादनका लागि विदेशबाट टर्वाइन ल्याउँदा झन्डै रु १२ लाख पर्दछ तर नेपालमा नै तयार पार्ने हो भने रु ८ लाखको हाराहारीमा टर्वाइन बनाउन सकिने बताउनुभयो ।
एउटा आयोजना पूरा गर्न ४५ दिनदेखि एक वर्षसम्म समय लाग्ने भएकाले सरकारले वायुऊर्जाबाट विद्युत् उत्पादन गर्ने नीति बनाएमा २५० किलोवाटसम्मका टर्वाइन नेपालमा नै बनाउन सकिने इन्जिनियर थापा बताउनुहुन्छ । जमिन, पानी, वनस्पति आदिले विभिन्न मात्रामा सौर्य ऊर्जा लिन्छन् र फर्काउँछन् जसले गर्दा हावा बहन थाल्छ र यसरी बहेको वायुले पङ्खाको माध्यमबाट टर्वाइनलाई घुमाउँछ र विद्युत् उत्पादन हुन्छ । वायुऊर्जाबाट अत्यधिक मात्रामा विद्युत् उत्पादन हुने पुसदेखि जेठ महिनाको अवधि हो । त्यस महिना हावा तातेर बढीबेगमा बहने भएकाले विद्युत् उत्पादन पनि बढीमात्रामा गर्न सकिने वायुऊर्जा उत्पादनका इन्जिनियर अमृत सिंह थापा बताउनुहुन्छ । वायुको मुख्य स्रोत सूर्य भएकाले सूर्य रहन्जेल वायु प्रवाह हुन्छ । सूर्यबाट आउने प्रकाश सतहमा एकैनासले वितरण हुदँैन त्यही आसपास वितरणका कारण बढी चाप भएको क्षेत्रबाट कम चाप भएको क्षेत्रतर्फ बहन्छ ।
नगरकोट, कालीमाटी, लाकुरीभन्ज्याङ, सुन्दरीजल, खुमलटार, नवलपरासीलगायत नेपालका ३६ भन्दाबढी स्थानमा वायु विद्युत् यन्त्र (बिन्ड टर्वाइन) जडान गरी विद्युत् निकालिएको छ । जसबाट झन्डै २५ किलोवाटको हाराहारीमा विद्युत् उत्पादन भइरहेको छ ।उपत्यकामा नागढङ्गा लामाटार, दधिकोट, चोभार, सुन्दरीजलजस्ता उचाइ भएका ठाउँमा विद्युत् उत्पादन गर्न सकिने मिर्लिङ इलेक्ट्रोमेक कन्सर्नको अध्ययनले देखाएको छ । एक वर्षमा निर्माण पूरा गर्न सकिने ती ठाउँबाट २० मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । बल्डबिन्ड एनर्जी एसोसिएसन (डब्लुडब्लुुइए) ले प्रकाशित गरेको बल्डबिन्ड एनर्जी रिपोर्ट २००९ अनुसार भारतले हावाबाट मात्र ११ हजार ३३८ मेगावाट विद्युत् उत्पादन गरेको छ ।
त्यसैगरी विश्वमा नै वायु विद्युत् उत्पादन गर्ने दोस्रो ठूलो देश चीनले यस वर्ष १३ हजार ८ सय किलोवाट थप विद्युत् उत्पादन थालेको छ । नेपालको मुस्ताङ जिल्लाको कागबेनीमा बिक्रम सम्वत् २०४६ मा डेनमार्क सरकारको सहयोगमा १० किलोवाटका दुईवटा टर्वाइन जडान गरी विद्युत् निकाल्ने काम सुरु भएको थियो । सुरुवातमा नै १० किलोवाटको टर्वाइनबाट विद्युत् निकाल्न थालेको नेपालले त्यस्ता थप आयोजनामा हातहाल्न त सकेन कागबेनीका ती टर्वाइनलाई समेत निरन्तर गर्न सकेन । दातृ संस्थाले बनाइ दिएको मुस्ताङ आयोजनाको सो टर्वाइन एकवर्ष नपुग्दै काम गर्न छाड्यो ।
त्यसपछिका दिनमा कुनै पनि ठाउँमा १० किलोवाटका वायुऊर्जा टर्वाइन राखिएको छैन ।