मनोजकुमार थापा, सभापति, नेपाल रेडक्रस सोसाइटी, भक्तपर 
भक्तपुर, २४ चैत ः(Mybhaktapur.Com) नेपाल रेडक्रस सोसाइटी भक्तपुरको १७ औं वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन यही चैत २५ गते हुँदैछ । दुवाकोट उपशाखाको आतिथ्यमा हुने उक्त अधिवेशन नजिकिएपछि जिल्लास्थित रेडक्रसकर्मीहरूमा क्रियाशीलता देखिएको छ । शाखाअन्तर्गत रहेका १९ वटै उपशाखाको साधारणसभासमेत सकिसकेको अवस्थामा जिल्लाका रेडक्रसकर्मीहरू जिल्लाको नेतृत्व गर्ने सक्रिय एवंजुझारु व्यक्तिहरूको खोजीमा लागेका छन् । जिल्ला सभापति र १२ कार्य समिति सदस्यको निर्वाचन हुने उक्त अधिवेशनमा यसपालि एकसय २१ जना सभासद्ले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । अधिवेशनको लागि गठित निर्वाचन मण्डलले मतदाताहरूको नामावली र निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ ।
अहिलेसम्म वर्तमान सभापति मनोजकुमार थापाबाहेक कसैले सभापति पदमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेको देखिएको छैन । त्यसैले वर्तमान कार्य समितिमा रहेकाहरूले निरन्तरता पाउने सम्भावना देखिएको छैन । फेरि रेडक्रसमा आएर समाज सेवागर्ने अभिलाषा बोकेका कार्य समिति बाहिरका रेडक्रसकर्मीहरू पनि नभएको होइन । कसैले भित्रभित्रै एक भोट भए पनि सभापतिमा उठिन्छ पनि भनेको सुनिएको छ । यस्तो स्थितिलाई आँकलन गरी वर्तमान कार्य समितिले सबैलाई समेटेर सर्वसम्मत गर्ने प्रयास भइरहेको बताइन्छ । दुई पक्षीय र त्रिपक्षीय वार्ता अघि बढाइँदा सबैले सहमति गरेरैसर्वसम्मतमा जानुपर्नेमा जोड दिएका छन् । तैपनि अधिवेशन नै हुने भएपछि यस्तै हुन्छ भनेर भन्न सकिने अवस्था हुँदैन । अन्तिम समयसम्म पनि उलटपुलट हुने सम्भावना जिवित्तै हुन्छ । त्यसैले भविष्यको सम्भावनाको कुरा समयकै हातमा छाडेर भक्तपुरमा रेडक्रस अभियानमा केन्द्रित भएर भक्तपुर शाखा सभापति एवं रेडक्रसका केन्द्रीय सदस्य मनोजकुमार थापासँग माई भक्तपुर डटकमका प्रतिनिधि ईश्वरकाजी खाइजूले गरेको कुराकानी –
भक्तपुरमा रेडक्रस अभियान कसरी अघि बढिरहेको छ ?
सबैको सहमति, सहकार्य र एकतामै भक्तपुरका रेडक्रस अभियान सकारात्मक ढंगले अघि बढिरहेको छ । शाखाका सम्पूर्ण काम कारबाही पारदर्शी ढंगले अगाडि बढाउँदै आएका छौं । साथै यो कुनै पार्टीको भ्रातृ संगठन होइन, जसले गर्दा एउटा व्यक्ति, समूह वा गुटको लहडमा चलोस् । यो संस्था शुद्ध समाज सेवा गर्ने स्वयम्सेवीहरूको संस्था हो ।
तपाईं पुनः सभापति चुनाव लड्दै हुनुहुन्छ, तपाईं के कारणले सभापति जित्छु भन्ने सोच्नुहुन्छ ?
रेडक्रस स्वयम्सेवीहरूको संस्था भएकोले यसमा म एक्लैले केही गर्न सकिने अवस्था हुँदैन । त्यसैले साथीहरूकै सल्लाह र सहमतिमा हामीले टीम स्पिरिटलाई कायम राख्दै भक्तपुरमा रेडक्रसलाई समुदायको अभिन्न अंग बनाउने उद्देश्यले काम कारबाही अगाडि बढाइरहेका छौं । हालसम्मको अवधिमा भक्तपुरका अधिकांश उपशाखाहरू आत्मनिर्भर हुँदै आएका छन् । कुनै उपशाखाले एम्बुलेन्स चलाएका छन्, कसैले शव बाहन सञ्चालन गरिरहेका छन् । त्यस्तै कुनैले करोडौं रुपैयाँको बहुउद्देश्यीय भवन निर्माण गरी आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन् । त्यसैले हाम्रो उद्देश्य भनेको उपशाखा र स्वयम्सेवी रेडक्रसकर्मीको क्षमता विकास गर्नुका साथै उनीहरूलाई समाजमा घट्ने कुनै पनि किसिमको विपद्मा पूर्वतयारी अवस्थामा राख्ने हो । भक्तपुर भूकम्पीय जोखिमयुक्त क्षेत्र हो । त्यसैले रेडक्रसका स्वयम्सेवीहरू कुनै पनि समयमा उद्दार तथा प्राथमिक उपचार र विपदव्यवस्थापनमा सदैव अग्रपंक्तिमा हुने गरी संयन्त्र निर्माण गर्ने योजना बनाएका छौं । यसको लागि जिल्लाका नगरका वडा र गाउँमा बढीभन्दा बढी स्वयम्सेवी रेडक्रसकर्मी तयार गरी उनीहरूलाई सक्षम र सबले बनाउने अभियानमा लागेका छौं । विपद्बाहेक रेडक्रसले अन्य कुन कुन क्षेत्रमा कार्य गर्दै आएको छ ? रेडक्रसले विपद् मानवका हरेक समस्यामा कार्य गर्दै आएको छ । यसबाहेक समुदायको विकास, खानेपानी, सरसफाइ तथा समुदायको क्षमता विकासमा पनि रेडक्रसले कार्य गर्दै आएको छ । भक्तपुर रेडक्रसअन्तर्गत दुई वटा विद्यालयमा आधारित योजना अघि बढिरहेको छ । यी योजनाअन्तर्गत विद्यालयलाई प्राकृतिक विपद्बाट मुक्त गर्ने तथा दक्ष विद्यार्थीमार्फत समुदायमा विपद्बारे पूर्वतयारी, खोज तथा उद्दार र प्राथमिक उपचारका कार्य भइरहेको छ ।
तपाईं पुनः नेतृत्वमा आउनुभयो भने के के कार्य गर्नुहुन्छ ?
रेडक्रस जिल्ला सभापति एवं कार्य समितिको कार्यकाल चार वर्ष हुन्छ । यस बीचमा हामीले सम्पूर्ण उपशाखाहरूको क्षमता विकास गरी आत्मनिर्भर बनाउने रणनीतिअनुसार काम गरिरहेका छौं । यी उपशाखालाई समुदायमा स्थापित हुने तथा समाज सेवा होस् वा विपद्को समयमा होस् रेडक्रसलाई समुदायको पर्यायबाचीको रुपमा विकास गर्ने लक्ष्य लिएका छौं । केन्द्रीय रेडक्रसको भिजन २०२० अनुसार भक्तपुर रेडक्रसले पनि आफ्नो छुट्टै पञ्चवर्षीय कार्ययोजना निर्माण गर्ने सोच बनाएका छौं । उक्त योजनाअनुसार हाल ७५ वटा जिल्ला शाखामा पाँचौं स्थानमा रहेको भक्तपुर उपशाखालाई पहिलो उत्कृष्ट जिल्ला शाखा बनाउने लक्ष्य लिएका छौं । हाल भक्तपुर रेडक्रस मध्यमाञ्चलका १९ शाखामा पहिलो र महिला सदस्य बढाउने देशका ७५ वटे शाखामा दोस्रो स्थानमा रहेको छ । यस उपलब्धिअनुसार जिल्लाका सम्पूर्ण रेडक्रसकर्मी, जुनियर तथा युवा सर्कल आरक्र्याडलगायतको साथ र सहयोगले भक्तपुर पहिलो उत्कृष्ट जिल्ला शाखा हुने विश्वास लिएका छौं ।
रक्तसञ्चार सेवालाई कस्तो बनाउने सोच्नुभएको छ ?
भक्तपुरमा २०४५ सालदेखि रक्तसञ्चार सेवा सुरु भएको हो । तर बीचमा व्यवस्थापनको कमीले सेवा राम्रो सञ्चालन हुन सकेन । पछि २०६० सालपछि शाखाले आफ्नै व्यवस्थापनमा सेवा सुचारु गरिरहेको छ । पछिल्लो समय यस सेवाले केन्द्रबाहेक सबैभन्दा बढी रगतको कम्पोनेन्ट बनाउने सेवाको पुरस्कार प्राप्त गरेको छ । देशभर सञ्चालित ७६ वटा रक्त सञ्चार सेवा केन्द्रमा भक्तपुरको स्थान राम्रै छ । त्यसैले हामीले ‘रगत नपाए भक्तपुर आउनू’ भन्ने अभियान नै अघि बढाएका छौं । रगत आवश्यक भएर भक्तपुर आएकालाई हामीले अहिलेसम्म खाली हात पठाएका छैनौं । यस केन्द्रले शाखालाई आफ्ना गतिविधि बढाउन धेरै सघाउ पु¥याउँदै आएको छ ।
यस रक्तसञ्चार केन्द्रको सेवा थप प्रभावकारी बनाउन केही गर्ने सोच्नुभएको छ ?
रगतको बढी माग हुने भनेको अप्रेशन गर्न हो । यस्ता रगत बढी चाहिने क्यान्सर अस्पतालसँगै अहिले मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरमा सञ्चालनमा आउन लागेको छ । यसले गर्दा केन्द्रको चुनौती पनि बढेको हामीले महसुस गरेका छौं । त्यसैले यस केन्द्रलाई आधुनिकीकरण गर्दै रगतको कम्पोनेन्ट बनाउन तथा आवश्यकताअनुसार रगतको आपूर्ति बढाउन आवश्यक सम्पूर्ण प्रविधिले युक्त बनाउने योजना बनाएका छौं । अहिले डाक्टरहरूले पनि बिरामीको आवश्यकताअनुसार रगतको कम्पोनेन्ट प्रयोगर्न थालेकाले सोहीअनुसार केन्द्रलाई सक्षम बनाउँदै लानेछौ. । केन्द्रको सञ्चालनको लागि हालै जिल्ला विकास समिति भक्तपुरले रक्त संकलन भ्यान सहयोग गरेको छ । जुन हाल सञ्चालनमा समेत आइसकेको छ । त्यस्तै भारतीय दूतावासमा केन्द्रकोलागि आवश्यक सहयोगको निम्ति प्रस्तावना पेश गरिसकेका छौं । लक्जेबर्ग रेडक्रसले पनि यसको लागि सहयोग गर्ने रुचि देखाएको छ ।
रेडक्रस सञ्चालनको लागि के कस्तो आर्थिक व्यवस्थापन गर्ने सोच्नुभएको छ ?
हो, रेडक्रस जस्तो संस्था चलाउन धेरै गा¥हो छ । यो कुनै सरकारी योजनामा पनेर् संस्था होइन । यसका छुट्टै दातृ निकाय पनि छैन । त्यसैले सबैले आ–आफ्नै ढंगले आत्मनिर्भर हुने बाटो पहिल्याई कार्य गर्दै आएका छन् । त्यसैगरी भक्तपुर रेडक्रसलाई पनि आत्मनिर्भर बनाउन र यसका स्वयम्सेवक र उपशाखाहरूको क्षमता अभिवृद्धिका लागि आर्थिक प्याकेजसहितको कार्ययोजना निर्माण गर्दैछौं । त्यसको लागि एक करोड रुपैयाँको अक्षयकोष खडा गर्दैछौं । हालसम्म उक्त कोषमा करिब असी लाख रुपैयाँ जम्मा गर्न सकेका छौं । यसले जिल्लाको हरेक गतिविधि सञ्चालन तथा कार्यक्रम व्यवस्थापनमा ठूलो सहयोग पुग्नेछ । फेरि रेडक्रसको आर्थिक पारदर्शिता सबैको चासोको विषय हो । रेडक्रसका सम्पूर्ण गतिविधि र आर्थिक अवस्था कसैबाटलुकेको र छिपेको छैन ।यसका साथै सम्पूर्ण उपशाखालाई एम्बुलेन्स वा अन्य आकस्मिक सेवाका साधन सञ्चालन गर्ने क्षमतावान बनाउने लक्ष्य लिएका छौं । त्यस्तै उद्दारमा खटिने स्वयम् सेवकको उपचार कोष खडा गर्ने तयारी सुरु गरिसकेका छौं । यसको लागि रेडक्रसकर्मीहरूको जन्मदिनमा गरिने खर्च जम्मा गर्ने व्यवस्था मिलाएका छौं । यसोहुँदा कोही पनि स्वयम्सेवक आफ्नो कार्य क्षेत्रमा खटिन पछि हट्नेछैन ।