फिल्म समीक्षा : मध्यम ‘हाइट’को ‘चपली’

दीपेन्द्र लामा- तेह्र वर्षअघि रिलिज भएको 'कौन' फिल्मले बलिउडलाई थि्रलर विधामा नयाँ 'रेसिपी' दियो। पूरै फिल्म एउटा घरभित्र तीन पात्रबीचको शारीरिक र मनोवैज्ञानिक खिचातानीमै सकिन्छ। बलिउडमा नयाँ उपलब्धि मान्दै फिल्मको श्रेय निर्देशक रामगोपाल वर्मा र लेखक अनुराग कश्यपलाई दिइएको थियो।  पछिल्लो नेपाली फिल्म 'चपली हाइट'को संरचना र प्रभाव 'कौन'सँग पनि मिल्छ। दीपेन्द्र के खनालद्वारा निर्देशित यो फिल्म लगभग एउटै घरभित्र र तीन पात्रबीच सकिन्छ, 'कौन'मा जस्तै एक महिला र दुई पुरुष। 'रंगीला'बाट सेक्स सिम्बोल बनेकी उर्मिला मातोडकरको अभिनय रहेकोले 'कौन'मा ग्ल्यामर र भल्गरको मिश्रण हुने अपेक्षा थियो। तर, फिल्ममा उर्मिलाको 'जवानी' देखिएन। बरु 'चपली हाइट'मा सेक्सको जलप छ। 

कौरवका दाजुभाइभन्दा बढी कलाकार थुपार्ने प्रवृत्ति नेपाली फिल्ममा छ। 'चपली हाइट'ले यसलाई तोडेको छ। फिल्मलाई 'रिच' देखाउनुपर्छ भन्दै भएभरका ताल, डाँडाकाडा, खोलानाला र जंगल पुग्ने मानसिकता यसमा छैन।पाँच गीत, पाँच फाइट, आदर्श प्रेमकथा र घिसिपिटी कमेडीबाट समेत मुक्त छ यो। बिराज भट्ट मार्काको फिल्मले जस्तो यातना पनि यसले दिँदैन। 'स्टार सिस्टम'को हाउगुजी भएको ठाउँमा नयाँ कलाकार र थोरै पात्र लिएर फिल्म बनाउने जोखिम निर्माताले मोलेकै हुन्। एक प्रकारको प्रयोग हो यो।  फिल्ममा दुई 'प्लुरल प्रोटागोनिस्ट' छन्, अमिर र राज। 'प्लुरल' किनभने दुवैको लक्ष्य र त्यसबाट पाउने नतिजा एउटै छ। उनीहरुको लक्ष्य बिनीलाई संयुक्त पत्नी बनाउने हुन्छ। संयुक्त पतिको चलनलाई पचाउँदै आएको मनोविज्ञान बोक्नेहरुका लागि यो एउटा झट्का हो। फिल्मले यसलाई वहसको विषय बनाउन सक्थ्यो। तर, विषयसँग गाँसिएको सामाजिक राजनीतिलाई निर्देशकले बु‰न सकेनन्।

पात्रको लक्ष्य प्राप्तिमा अवरोध जति कठिन भयो, कथा त्यति शक्तिशाली हुने हो। यसमा स्वयं बिनीबाहेक अरु अवरोध छैन। बिनीले आफ्नो इच्छाविपरीतको 'प्लट'बाट बाहिर निस्कन मानसिक कम भौतिक प्रयास बढी गर्छे, जुन पत्यारिलो देखिँदैन। समस्याबाट बाहिर निस्कन बिनीले हिंसाकै बाटो समात्नुपर्ने कारण तर्कसंगत छैन। राज किनमेल गर्न जाँदा बिनीले घर नछोडेको र प्रेमीको साथी राजसँग बिनीले छोटो समयमै शारीरिक सम्बन्ध राखेको एकदम अवैज्ञानिक लाग्छ।  दुई पात्रको एउटै केटी अपनाउन खोज्ने मनोविज्ञान कसरी जन्मियो? बच्चैदेखि जे चिज पनि बाँडेर खाने बानी थियो भनेर 'न्यारेट' गर्दैमा उम्किन पाइँदैन। 'सेक्सुयल ओरियन्टेसन' जस्तो जटिल विषयलाई बिस्कुट बाँडेर खाएकोसँग तुलना गर्न मिल्दैन।

फिल्मलाई थि्रलर भनिए पनि त्रास उत्पन्न गराउन असफल छ। अन्तिम केही मिनेटमात्र घटना कसिलो छ। बेलाबेला 'थि्रल' गराउने सटको अभाव महसुस हुन्छ। क्यामेरा मुभमेन्टले थि्रलरको छनक दिए पनि पटकथा सहयोगी छैन।  फिल्ममा एउटा सट पनि बिना अर्थ राख्नु हँुदैन। नेपाली फिल्ममा चाहिँ 'मन परेको' वा 'पैसा खर्च भएको' बहानामा फाल्नु पर्ने सिक्वेन्स नै च्याप्ने प्रवृत्ति छ। पटकथा खँदिलो बनाउन नसक्दा खियाजस्ता दृश्य खिच्न पुग्छन् निर्देशक। 'चपली हाइट'मा राजमार्गको दृश्य लम्बेतान छ, महŒवपूर्ण घटना केही हुँदैन। यस्ता वाहियात दृश्य थोपर्नु निर्माताको पैसा र दर्शकको समयको बर्बादी त हो नै, कथा पनि भुत्ते बन्छ।

बिनी र राजको आत्मीयताको विकास अमिरले घर छोड्नुअघि नै भइसक्नुपर्थ्यो। राजले बिनीको मन जित्न निस्वार्थ पहल चाल्नुपर्थ्यो। उनीहरुको घुलमिल शारीरिक कम भावनात्मक बढी हुनुपर्थ्यो तर फिल्ममा ठिक उल्टो छ। त्यसैले रक्सी खाएर डान्स गरेको दृश्य बारम्बार दोहोरिएको छ। सिर्जनशीलताको खडेरीको प्रमाण हो यो। फिल्मको कथानुसार बिनीलाई दर्शकको सहानुभूति धेरै चाहिन्छ। तर, बिनीलाई सुरुदेखि नै 'नेगेटिभ' चित्रण गरिएको छ, ऊ कहिले पनि सहानुभूतिको लायक बन्दैन। जसले गर्दा उसले गर्ने संघर्षमा दर्शकको संवेदना जोडिदैन। उसले नै राजलाई भड्काउँदै आएकी हुन्छे र उसको पहिरन अनावश्यक भड्किलो छ।

द्वन्द्व (कन्फ्िलक्ट) कथाको इन्जिन हो। यसले कथालाई अगाडि तान्छ। थोरै पात्रबीच बाहिरी द्वन्द्व (पर्सोनल कन्फ्िलक्ट) थोरै हुनसक्छ। त्यस्तो अवस्थामा आन्तरिक द्वन्द्व (इनर कन्फ्िलक्ट)ले कथालाई रोचक बनाउन सक्छ। 'चपली हाइट'को राज पात्रमा आन्तरिक द्वन्द्व अलिअलि देखिन्छ। तर, उसको गतिविधि ऊ आफैको लक्ष्यप्राप्तिसँग अनुकूल छैन। यसमा सामाजिक द्वन्द्व (एक्स्ट्रा कन्फ्िलक्ट)को त झन् अस्तित्व छैन। पटकथा लेख्दा द्वन्द्वको पत्र स्पष्ट केलाउन नसकिएको हो। फिल्ममा पटकपटक निर्माताको स्वार्थ र सजगता झल्किन्छ। कामुकता बिक्छ भन्दै कतैकतै असहज दृश्य जबरजस्ती ठोसिएको छ भने सेन्सरसँग डराउँदै सभ्य बनाउन खोजिएको भान हुन्छ। 'स्टोरी डिजाइन'को यही 'पोलिटिक्स'ले फिल्म प्रदूषित छ।

पूरै कथा सकिने घर कस्तो ठाउँमा छ? एकान्त कि बाक्लो बस्ती? खुल्दैन। लोकेसन कथाको 'फिजिकल डाइमेन्सन' हो। थि्रलरमा झन् अपरिहार्य हुन्छ यो। लोकेसन छर्लङ्ग भयो भने कथाप्रति विश्वासको आधार बढ्छ। पछिल्लो हलिउड फिल्म 'वुमन इन ब्ल्याक' यसको एउटा राम्रो उदाहरण हो। त्यसमा देखाइएको भूतघर यस्तो ठाउँमा छ, विश्वासमात्र होइन सजिलै डरमा कैद गरिदिन्छ। फिल्ममा विम्बहरुले दृश्यलाई बहुअर्थी बनाउँछ। विम्बमा निर्देशकको अभिव्यक्ति 'मल्टिप्लाई' हुन्छ। 'चपली हाइट'मा यो कलाको उपस्थिति कति पनि छैन। रुसी निर्देशक सर्जेइ आइजेन्स्टाइनले 'इभान दि टेरिबल' फिल्ममा इभानको प्रभावशाली राजनीतिक शक्ति र पकडलाई संकेत गर्दै भित्तै ढाकिने छायाँको प्रयोग गरेका थिए। विम्ब निर्माणको मामिलामा 'चपली हाइट' सपाट फिल्म हो। कथालाई कति रचनात्मक ढंगमा पस्किएको छ, त्यसमा निर्भर हुन्छ फिल्मको सुन्दरता। रंगीन पात्र र सुन्दर कथा वाचन खोज्ने हो भने 'चपली हाइट'मा कुनै 'उचाइ' भेटिँदैन, अपेक्षा ओरालो लाग्छ। अर्कोपटक पोस्टर होइन 'कन्टेन्ट'मै लुगा लगाइदिए निर्माताको भलो हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>