वेपत्ता परिवारमाथि राजनीतिक सौदावाजी नगर ः मानव अधिकारवादी

ललितपुर, ९ चैत ः मानव अधिकारवादीहरुले दस वर्षे सशस्त्र जनयुद्धको क्रममा राज्य तथा विद्रोही पक्षबाट वेपत्ता बनाइएका परिवारको माग र भावनालाई राजनीतिक सौदाबाजीको माध्यम नबनाउन सरकार तथा दलहरुको खबरदारी गरेका छन् । राज्यद्वारा वेपत्ता योद्धा परिवार समाज नेपालले बिहीबार सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा दिएको एकघन्टे धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले वेपत्ता परिवारको मागलाई सत्ता पुग्ने भ¥याङ तथा आफ्नो दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम नबनाउन खबरदारी गरेका हुन् । पीडित परिवारलाई उनका आफन्त कहाँ, के कसरी राखिएको थियो र उनीहरुलाई कसले कसरी वेपत्ता पा¥यो सबै स्पष्ट जानकारी दिनुपर्ने उनीहरुको माग थियो ।

उनीहरुले तत्कालीन विद्रोही र सरकार पक्षबीच विस्तृत शान्ति सम्झौता गरिँदा ६० दिनभित्र वेपत्ताहरुको स्थिति सार्वजनिक गर्ने जनाइएको प्रतिबद्धता पाँचौं वर्ष बित्दा पनि कार्यान्वयनमा नल्याइएको आक्रोश व्यक्त गरे । ‘दलहरुले विस्तृत शान्ति सम्झौता गर्दा ६० दिनमा वेपत्ताहरुको स्थिति सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए’, उनीहरुले भने, ‘उक्त सम्झौता गर्ने विद्रोही पक्ष र आन्दोलन दल पटकपटक सत्तामा जाँदा पनि उक्त प्रतिबद्धता कार्यान्वयन नआउनु दुर्भाग्य हो ।’ कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुवोधकुमार प्याकुरेलले वेपत्ताहरुको स्थिति सार्वजनिक गर्न तथा दोषीलाई कारबाही गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग छिटोभन्दा छिटो बनाउन माग गरे ।
 
मानव अधिकारवादी बाबुराम गिरीले विद्रोही माओवादीकै नेतृत्वमा सरकार भएकोले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षबाट भएका वेपत्ताहरुको स्थिति सार्वजनिक गर्नु वर्तमान राज्यको दायित्व भएको बताए । अर्का मानव अधिकारवादी डा. गोपालकृष्ण सिवाकोटीले ‘लहरो तान्दा पहरो गर्जिन्छ’ भनेझै आफू पनि मुछिने डरले ठूला दल तथा सरकारले वेपत्ताहरुको स्थिति सार्वजनिक गर्न आनाकानी गरिरहेको आरोप लगाए । काहुरास्टका महासचिव हुकुम पोखरेलले आफ्ना नेता तथा कार्यकर्ताका बढीभन्दा बढी आफन्त वेपत्ता पारिँदा पनि सरकारको नेतृत्व गरिरहेको माओवादी वेपत्ताहरुको स्थिति सार्वजनिक गर्न जिम्मेवार नहुनु आपत्तिजनक भएको बताए । 
 
मानव अधिकारवादीहरु आशिकराम अधिकारी, गोविन्द बन्दी, वीरेन्द्र थपलियालगायतले न्याय प्राप्तिको आन्दोलनमा सिंगो मानव अधिकारवादी संघसंस्थाहरुको सहयोग र ऐक्यबद्धता भएको औंल्याउँदै संक्रमणकालीन अवस्थाको अन्त्य गरिनुपर्नेमा जोड दिए । समाजका केन्द्रीय अध्यक्ष एकराज गिरीले वेपत्ताहरुको अवस्था सार्वजनिक गरिनुपर्ने आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनका अनुसार दस वर्षे जनयुद्धमा राज्य पक्षबाट एक हजार ९८ वेपत्ता पारिएको थियो । समाजले बुधबारदेखि ठूला दलका पार्टी कार्यालय अघि एकघन्टे शान्तिपूर्ण धर्ना दिँदै आएको छ । बुधबार कोटेश्वर पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा धर्ना दिएको समाजले शुक्रबार बल्खुस्थित एमाले मुख्यालयमा एकघन्टा धर्ना दिने भएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>