भक्तपुरका १० गाविसमा संचालित ईटाभट्टाका कारण मानव स्वास्थ्य, कृषि र पशुपालनमा गम्भिर असर, स्थानियको विरोधको वेवास्ता

 

भक्तपुर, ९ चैत । वर्षौ देखि भक्तपुरका १० वटा गाविसमा संचालित ६२ वटा इँटाभट्टाका कारण यहाँका मानव स्वास्थ्यमा गम्भिर असर पर्नुका साथै भक्तपुरवासीको जीवन निकै कष्टकर बन्दै आएको छ । सरकारी मापदण्ड पुरा नगरी मावन वस्तिका विच तथा वस्तिका नजिक संचालित यस्ता इँटाभट्टाबाट निस्कने हानीकारक धुँवा एवं धूलोका कारण भक्तपुरवासीको स्वास्थ्य एवं कृषिमा गम्भिर असर पर्नुका साथै दैनिकी समेत कष्टकर बन्र्दै आएको स्थानियले बताएका छन् । 
 
प्रत्येक वर्ष मङ्सिरदेखि वैशाख महिनासम्म सञ्चालन हुने इँटाभट्टाले प्रत्येक दिन निकाल्ने हानीकारक धुवाले बच्चा देखि बृद्ध समेतको स्वास्थ्यमा असर परेको आरडी स्वास्थ्य क्लिनिका छातीरोग विशेषज्ञ मनोज राठौरले बताउनुभयो । आफ्नो क्लिनिकमा दैनिक स्वास्थ्य जाँच गराउन आउने विरामीको अवस्था हेर्दा दयनिय लाग्ने बताउदै उहाँले धुँवाका कारण धेरै बच्चालाई समेत दमको रोग लागेको बताउनुभयो ।विद्यालय र वस्तीबाट करिब तीन किलोमिटर पर इँटाभट्टा हुनुपर्ने नियम भएपनि भक्तपुरका अधिकांश भट्टाहरू नियम विपरीत मानव वस्ति र विद्यालय नजिक सञ्चालन भइरहेका छन् । यसले गर्दा भक्तपुरवासी, विद्यार्थी र यहाँको कृषि, पशुपालन व्यवसायमा समेत नराम्रो असर परेको यहाँका वासिन्दाले बताएका छन् ।
 
मङ्सिरबाट नयाँ इँटा बनाउने कार्य सुरु गरेको केही समयपछि इँटा पोल्ने कार्य सुरु गरिन्छ । इँटा पोल्दा निस्केको धुँवा र धूलोका कारण भक्तपुरको वातावरण निकै प्रदूषित बन्दै गएको स्थानियको भनाई छ । विहान उठ्ने वित्तिकै स्वच्छ हावा लिनुपर्ने पर्नेमा कोईलाको गन्ध आउने पिरो धुवामा स्वास लिनु परेको बताउदै इँटाभट्टा नजिकै घर भएका सुडालका रामहरी प्रजापतिले यसले परिवारमा सबैलाई दम, खोकी र छाती दुख्ने रोग लागेको बताउनुभयो । इँटाभट्टाबाट निस्कने धुवाका कारण मानिसमा दम, खोकी, छातीको रोग, फोक्सोको रोग, मुटुको रोग र टाउँकोको रोग देखा परेको बताउदै झौखेलका पाँचवटा इँटाभट्टा नजिकै घर भएका केशवलाल कक्षपतिले स्वास्थ्य जाँच गराउदा चिकित्सकले यसले मानिसको आयु १० वर्षसम्म घट्ने बताएको जानकारी दिनुभयो । इँटाभट्टाबाट निस्केको धँुवाका कारण भक्तपुरमा नगदेवालीका रुपमा लिइने तरकारी खेतीमा समेत नराम्रो प्रभाव परेको सिपाडोल गाविसका कृषक प्रदिप थापाले बताउनुभयो । काउली, बन्दा, बोडी, काक्रो, घिरौलो, फर्सी, प्याज जस्ता नगदे बालीको उत्पादन कम भएको, नयाँ नयाँ रोगहरु लाग्दै गएको र फलेका वाली समेत कालो जमेर बिक्री गर्न गाह्रो भएको उहाँले बताउनुभयो । थापाले भन्नुभयो—‘कृषिवालीलाई मुख्य आयश्रोत मानेर व्याबसाय गर्ने कृषकहरु अहिले समस्यामा परेको, उत्पादन कम भएर जग्गाको भाडा तिर्न समेत नसकिने अवस्था आएको छ ।’
 
जिल्ला कृषि विकास कार्यालय भक्तपुरले इँटाभट्टाका धुवाका कारण भक्तपुरमा कृषि उत्पादनमा व्यापक ह्रास आएको जानकारी दिएको छ । त्यस्तै पशुपालन व्याबसायमा समेत यसले नराम्रो असर गरेको कृषकहरुले बताएका छन् । इँटाभट्टा बन्द गराउन भक्तपुरका बासिन्दापटक पटक  प्रतिकारमा उत्रिएर बिरोध गरेपनि स्थानिय राजनीतिक दलका दबाब र प्रहरी, प्रशासनका लाचारीका कारण पाँचवर्ष देखिको जनताको आवाज थिचिदै आएको स्थानियको गुनासो छ । पाँचवर्ष देखि हरेक वर्ष इँटाभट्टाले मानव स्वास्थ्यमा गम्भिर असर गरेका, कृषि उत्पादन एवं पशुपालन व्याबसायमा ह्रास आएको, प्राकृतिक सम्पदाको नाश भएको र सडक जीर्ण बनाएको भन्दै वातावरण संरक्षण मञ्च लगायत विभिन्न गाविसका स्थानियले इँटाभट्टा बन्द गराउनुपर्ने माग गर्दै र्याली निकालेको र जिल्ला प्रशासन घेराउ गरेपनि स्थानियको मागको कुनै सुनुवाई नभएको र आवाज दवाउने गरेको स्थानियको भनाई छ । नियम विपरित इँटाभट्टा संचालनमा आए नआएको अनुगमन गर्ने र इँटाभट्टा नविकरण गर्ने सरकारी निकाय जिल्ला घरेलु कार्यालय हरेक वर्ष यसको कुनै अनुगमन नगरी मौन बस्ने गरेको छ । सम्बन्धित गाविस र घरेलु कार्यालयले स्वीकृति दिएपछि मात्र इँटाभट्टा संचालन गर्न पाउने नियमानुसार संचालन हुदै आएका इँटाभट्टा संचालनमा स्वीकृत दिनु अघि नै स्थानियको विरोधको वेवास्ता गर्दै सम्बन्धित गाविस र घरेलु कार्यालय आर्थिक प्रलोभनमा परेर सरकारी मापदण्ड विपरित मानव वस्ति नजिकै भटा संचालन गर्न स्वीकृति दिने गरेको स्थानियको आरोप छ ।
 
हरेक वर्ष जिल्ला घरेलु कार्यालयले इँटाभट्टाहरु नियमानुसार चलेनचलेको अनुगमन गरि नियमाविपरित भए स्वीकृति रद्ध गर्ने या नविकरण नगर्ने अधिकार भएपनि कार्यालयले अनुगमन मै नगई आर्थिक प्रलोभनमा परेर नविकरण गर्ने गरेको स्थानियको आरोप रहेको छ । जिल्ला घरेलु कार्यालयकी प्रमुख विष्णुकुमारी भट्टराईले कर्मचारीको अभावका कारण इँटाभट्टाको अनुगमनमा जान नसकको बताउनुभयो । वातावरण संरक्षण मञ्चका अनुसार धुँवा र धूलोकै कारण भक्तपुर प्रदूषित बनेको हो । जसले गर्दा भट्टा नजिक बसोबास गर्ने मानिसको स्वास्थ्यमा मात्र नभएर पूरै भक्तपुरवासीको स्वास्थ्यमा नकारात्मक असर परेको छ । भक्तपुर सुडालका शिवहरी श्रेष्ठ भन्छन्– ‘वर्षांैदेखि इँटाभट्टाबाट निस्कने धुँवा र धूलो खाँदै यसबारे भट्टा सञ्चालकहरूलाई यसको असरबारे बारम्बार जानकारी गराएका छौँ भट्टा बन्द गराउन बर्सेनि आन्दोलन हुने गरेको छ तर हाम्रो कुरालाई भट्टा संचालक, स्थानिय राजनीतिक दल र प्रशासनले चासो नदिएर खिल्ली उडाउने गरेका छन ।’ ईट्टा व्याबसायी संघका अनुसार मानव स्वास्थ्यलाई ध्यानमा राखेर भक्तपुरमा संचालित सबै ईटाभट्टाहरुले फिक्स चिम्नी राखेको बताउदै यसले खासै असर नगर्ने दाबी गरेको छ ।वर्षौंदेखि भक्तपुरवासीले भोग्दै आएको यो विकराल समस्याको अन्त्य कहिले हुन्छ यो अनिश्चित भएको छ । हाल भक्तपुरका ताथली, सुडाल, वागेश्वरी, सिपाडोल, नंखेल, झौखेल, चाँगु, दुवाकोट, छालिङ्ग गाविसमा ईटाभटा संचालन रहेका छन् ।
 
 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>