‘दक्षिण एसियाकै नमुना केन्द्र बनाउँछौं’ ः डा. श्रेष्ठ

भक्तपुर, २६ फागुन । मन्त्रिपरिषद्को निर्णयानुसार एक वर्षअघि भक्तपुर अस्पतालको नवनिर्मित भवनमा उद्घाटन गरिएको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार विधिवत ओपीडी सेवा शुभारम्भ गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त केन्द्रलाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्न आवश्यक प्रक्रियासमेत अघि बढाइसकेको छ । साथै तत्कालको लागि दस करोड रुपैयाँ पनि विनियोजन गरिसकेको केन्द्रको मन्त्रालयले आवश्यक अत्याधुनिक उपकरण, जनशक्ति तथा भातिक पूर्वाधार परिपूर्तिको लागि थप पचास करोड रुपैयाँ उपलब्ध गराउनेसमेत भएको छ । एक अध्ययनअनुसार नेपालमा प्रत्येक वर्ष करिब तीन हजार जनाको मृगौला फेल हुने गरेको बताए । त्यस्तै एक हजार जनाको कलेजो र मधुमेह भएका करिब ३० लाखको प्यान्क्रियाज, मुटु तथा फोक्सो फेल हुने अनुमान गरिएको छ । उक्त केन्द्रमा आगामी तीन महिनाभित्र डाइलासिस र ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्य लिइएको छ ।

केन्द्रमा औपचारिक सुरु गरिएको ओपीडी सेवामा डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा डा. कल्पना श्रेष्ठ, डा.लुसन सिंह र डा. सन्तोष गुरुङ्गले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नेछन् । अस्पतालको रुप पाए मानव अंग प्रत्यारोपणमात्रै होइन उक्त क्षेत्रमा देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन केन्द्र केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउने केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठसँग माईभक्तपुरडटकम प्रतिनिधि ईश्वरकाजी खाइजूले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ –

प्रश्न ः भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र अस्पताल बने कसरी सेवा प्रवाह गर्नुहुन्छ ?
डा. श्रेष्ठ ः केन्द्रको स्वास्थ्य सेवा भर्खर सुरु भएको छ । धेरै काम गर्न बाँकी छ । यस्तो अवस्थामा व्यवसायिक प्रतिबद्धतामात्र पर्याप्त हुँदैन । सरकारको पूर्ण सहयोग र समर्थनका साथै भक्तपुरका राजनीतिक दल, संघसंस्था र सर्वसाधारणले पनि सोही किसिमको साथ, सहयोग र प्रतिबद्धता व्यक्त गरे मानव अंग प्रत्यारोपण केन्द्र देशको मात्रै नभई दक्षिण एसियाकै नमुना केन्द्रको रुपमा विकास गर्नेछौं । यसले मृगौलामात्रै होइन क्रमिक रुपमा कलेजो, मुटु, फोक्सो, प्यान्क्रियाज, रक्तमासीलगायतको प्रत्यारोपणको लागि आवश्यक पूर्वाधार तयार गर्दै जान्छ । त्यसैगरी अंग प्रत्यारोपण गर्नेमात्र नभई अंग फेल हुनबाट बचाउन जनचेतनामूलक कार्यक्रम गर्ने र अंग प्रत्यारोपितहरुका लागि पुनरुत्थानको कार्यसमेत गर्नुपर्नेछ । अंग दानसम्बन्धी ठोस नीति बनाउने तथा त्यसअनुसार दान गर्ने प्रभावकारी कार्यक्रम गर्नु अति आवश्यक छ ।

प्रश्न ः त्यसको लागि आवश्यक जनशक्ति, पूर्वाधार र उपकरणहरुको व्यवस्था कसरी गर्नुहुन्छ ?
डा. श्रेष्ठ ः केन्द्र राम्ररी सञ्चालन हुन यसलाई आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको परिपूर्ति हुनुपर्छ । तत्काललाई भक्तपुर अस्पताल, वीर अस्पताललगायतबाट सहयोग लिन सकिन्छ । त्यसको लागि यी अस्पतालहरुको सेवा तथा सुविधाको पनि स्तर वृद्धि हुनुपर्छ । साथै केन्द्रमा दक्ष र योग्य जनशक्तिसहितको छुट्टै आईसीयू, कार्डियोलोजी, रेडियोलोजी, प्याथोलोजी आदिको सेवा विकास गरिनु अति आवश्यक छ ।

प्रश्न ः केन्द्र अस्पताल भएपछि वीरमा सञ्चालित मृगौला प्रत्यारोपण एकाइ यहाँ सर्छ ?
डा. श्रेष्ठ ः हामीले वीरसँग मद्दत लिने हो । त्यहाँ बन्द गरेर यहाँ सेवा दिने राजनीतिक खिचातानी गर्नुहुँदैन । वीरमा पहिले मुटुको छुट्टै एकाइ थियो । त्यसैबाट अहिले सहिद गंगालाल जस्तो स्तरीय अस्पताल विकास भएको छ । यस केन्द्रलाई पनि त्यसरी नै स्वायत्त रुपमा विकास गर्दै जानुपर्छ ।
साथै मानव अंग प्रत्यारोपणको लागि देशको लागि आवश्यक अन्य जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा पनि यसलाई विकास गर्नुपर्छ । त्यसको लागि दीर्घकालीन नीति तथा कार्यक्रम बनाउनु अत्यावश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>