कुखुराको मासु तथा अन्डाको उपभोग बढाउन मोटरसाइकल ¥याली

 

भक्तपुर, १० फागुन । देशका विभिन्न ठाउँमा बर्डफ्लु देखापरेपछि उपभोक्ताले कुखुराको मासु तथा अण्डाको उपभोगमा कमी ल्याएपछि त्यसको उपभोग बढाउन बुधबार कुखुरापालक व्यवसायीहरुले मोटरसाइकल ¥याली गरेका छन् । उनीहरुका अनुसार बर्डफ्लु रोग लागेको कुखुराको मासु तथा अण्डा खाँदा मानिसमा संक्रमण भई मरिने डरले उपभोक्ताले कुखुराको मासु तथा अण्डा खान छोडेका हुन् । तर बर्डफ्लुको विषाणु ७० डिग्री सेल्सियस तापमानमै मर्ने भएकाले राम्ररी पकाएर खाएको कुखुराको मासु तथा अण्डा सेवनले रोग लाग्ने नभई शरीरलाई आवश्यक पर्ने तत्वहरु प्राप्त हुने सन्देश दिन ¥याली आयोजना गरिएको कुखुरापालक व्यवसायी संघ भक्तपुरले बताएको छ ।
 
संघको नेतृत्वमा काठमाडौं उपत्यका, काभ्रे, धादिंगलगायतका कुखुरापालक व्यवसायीहरुको सहभागिता रहेको उक्त ¥याली भक्तपुरको च्याम्हासिंहबाट अघि बढेको थियो । नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले रिबन काटेर उद्घाटन गरेको ¥याली सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, दूधपाटी, सल्लाघारी हुँदै भक्तपुर काठमाडौं ६ लेन सडक पुगेको थियो । ६ लेन सडक हुँदै अघि बढेको ¥याली कोटेश्वर, ग्वार्को, सात दोबाटो, लगनखेल, जावलाखेल, कुपण्डोल हुँदै काठमाडौं प्रवेश गरेको थियो । काठमाडौंको त्रिपुरेश्वर हुँदै सुन्धारा, रत्नपार्क, जमल, लाजिम्पाट, शितल निवास, महाराजगञ्ज हुँदै चावहिल पुगेर ¥याली समापन गरिएको संघका अध्यक्ष तुलसीराम धुख्वाले बताए ।
 

करिब एकसय पचास व्यवसायीहरुको सहभागिता रहेको ¥यालीका सहभागीहरुले बर्डफ्लुको नाउँमा पोल्ट्रीमा आत्मनिर्भर नेपालको कुखुरापालन व्यवसायीलाई धराशायी हुनबाट जोगाऔं, पोल्ट्री बोर्ड गठन गर, अन्डा तथा कुखुराको मासु व्यवसायमा हावी माफियाहरुलाई नंग्याऔं, कुखुरापालक व्यवसायीहरु एक होऔं लगायतका प्लेकार्ड बोकेका थिए । ठाउँ ठाउँमा भएको कोणसभामा व्यवसायीहरुले जैविक सुरक्षा नपनाइकनै अरुको देखासिकी गरेर कुखुरापालन गर्नेहरुको कारण कुखुरामा बर्डफ्लुलगायतका रोग देखापरेकोले सरकारले पोल्ट्री फार्मको नियमित अनुगमन गरिरहनुपर्ने माग गरे । त्यस्तै नेपाल भारत खुला सीमानाका कारण नेपालको क्वारेन्टाइन चेकपोष्टमा जाँच नगराई पंक्षी तथा पंक्षीजन्य पदार्थको खुलमखुला आयात भइरहेकोले बर्डफ्लु नेपालमा पटकपटक देखापरेको उनीहरुको भनाइ थियो । उनीहरुले बर्डफ्लुको कारण व्यवसायीको कुखुरा तथा अण्डा नष्ट गरिँदा दिइने सरकारी क्षतिपूर्ति अत्यन्त न्यून भएकाले व्यवसायीहरुले कुखुरा तथा चल्ला लुकाउने गर्दा पनि बर्डफ्लु बारम्बार देखिइरहने बताए । त्यसैले सरकारले क्षतिपूर्ति रकम बढाउन उनीहरुले माग गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>