संगम खाइजू - एक महिनाअघि हाम्रै जिल्लाको मनहरामा र हालै झापा र सुनसरीलगायतका जिल्लामा हजारौं कुखुरा तथा चराजन्य पंक्षीमा बर्डफ्लु लागेर मरेको प्रकाशमा आएको छ । त्यस्तै काठमाडौंमा कागमा समेत बर्डफ्लु देखिएको समाचार प्रकाशमा आइरहेको छ । बेलाबेलामा बर्डफ्लु देखापरिरहेकोले विश्व स्वास्थ्य संगठनले पनि अर्बाैको बजेट यसको नियन्त्रण तथा अन्य कार्यको लागि खर्चिरहेको छ । तर सर्वसाधारण जनता भने यो रोगबारे अझै पूर्ण जानकार छैनन् । त्यसैले बर्डफ्लु भन्नेबित्तिके त्रस्त हुँदै आएका छन् । तसर्थ यो रोग के हो ?, यसले हालसम्म मानवलाई असर गरेको छ छैन ? आदिबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ –
यो रोग चराहरूको माध्यमबाट मानिसमा पनि सर्ने भएकोले बढी सतर्कता अपनाउनुपर्ने हुन्छ । यो रोग सबैभन्दा पहिले १८ औं शताब्दीमा विश्वव्यापी रुपमा देखिएको थियो । यो रोग एभियन एन्फ्लुयन्जा भाइरस (Type 1 Strains) बाट घरेलु पंक्षी जस्तै ः हाँस, कुखुरा, टर्की, लौकाट, काग आदिमा लाग्ने निकै संक्रामक सरुवा रोग हो । यो रोगका विषाणु चिसो तापक्रम भएको चराचुरुंगीको विष्टामा ३५ दिनसम्म बाँच्नसक्छ । यसको विषाणुलाई छोटकरीमा एचफाइभ एनवान भाइरस भनिन्छ । यसको सराई अवधि २ देखि ८ दिनको हुन्छ ।
साथै यो भाइरस ७० डिग्रीभन्दा माथि वा उम्लेको पानीमा मर्छ । सन् १९९७ ताका १८ जनामा यसको संक्रमण भएकोमा ६ जना र सन् २००३ मा २ जना मरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको छ ।
कारक तत्व
यो रोगको कारक तत्वमा H5N1, H7N3, H9NB विषाणु हुन् । यीमध्ये मुख्य H5N1सबैभन्दा बढी संक्रामक हुन्छ ।
रोग सर्ने तरिका
१) जिउँदो वा मरेका पंक्षीको प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्छ ।
२) अप्रत्यक्ष रुपमा संक्रमित वस्तुहरू तथा संक्रमित वस्तु ओसारपसार गर्ने व्यक्तिबाट अरु व्यक्तिमा सर्ने सम्भावना हुन्छ ।
३) मासु बेचविखन गर्ने स्थानबाट तथा चराहरूको विष्टा तथा प्वाँखबाट ।
४) कम तापक्रममा पकाएको मासुबाट ।
५) जंगली चराचुरुंगी तथा कुखुरा फार्मबाट ।
लक्षण
१) सुरुमा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो ३८ डिग्री सेन्टिग्रेडभन्दा बढी आउनु र अन्य इन्फ्लुयन्जामा देखिने लक्षणहरू ।
२) वान्ता आउनु, पेट दुख्नु तथा झाडापखाला लाग्नु ।
३) कुनै कुनै बिरामीमा नाक र गिजाबाट रगत आउनु ।
४) भाइरल निमोनिया भई स्वासप्रस्वासमा समस्या देखापर्नु ।
५) लक्षण देखापरेको ६–१३ दिनमा रक्त परीक्षणमा असामान्य परिणाम देखिने ।
बर्डफ्लुका जटिलता
१) स्वासप्रस्वास प्रणालीमा बाधा पुग्नु ।
२) भाइरल निमोनिया हुनु ।
३) थ्रोम्बोसाइटोपेनिया र लिकोपेनिया हुनु ।
सावधानी तथा रोकथाम
१) शंकास्पद कुखुरा, चराचुरुङ्गीहरूलाई निगरानी गरी ओसारपसारमा रोक्ने र पशु स्वास्थ्य संस्थालाई खबर गर्ने ।
२) यदि प्रमाणित भएमा सुरक्षित तरिकाले माने र विसर्जन गर्ने ।
३) कुखुरा फर्महरूमा सकेसम्म विसंmमित रसायन छर्ने ।
(स्तम्भकार खाइजू पब्लिक हेल्थका पीएचडी स्कोलर हुन् ।)
