Wednesday, February 22, 2012 10:50 am,
Posted by mybhaktapur
| Articles
निमेष श्रेष्ठ - मुलुकले संविधानसभा मागेको ६ दसक नाघिसकेको छ । तत्कालीन राजा त्रिभुवनले संविधानसभा दिन्छु भनी जनतासामु बाचा गरेका थिए । तर उनी जिउँदो छँदै कहिल्यै संविधानसभाको निर्वाचन गर्ने पहल गरिएन वा भएन । उल्टै जनताले उनीपछि एकतन्त्रीय पञ्चायती व्यवस्था सहनुप¥यो । नेपालका छिमेकी दुई देश भारत र चीनका जनताले स्वतन्त्रता पाइरहेको बेला नेपालका शासकले जनतालाई प्रजामा सीमित गर्ने धृष्टता गरिरहेको थियो । भारत र चीनका जनता अधिकार सम्पन्न भएपछि नेपाली जनताले पनि आफ्नो भाग्यको मालिक आफै बन्न चाहनु अस्वाभाविक होइन । तर पूर्वराजा महेन्द्र जनता सार्वभौम र अधिकारसम्पन्न भएको चाहँदैनथे । त्यसैले जनताले उनीविरुद्ध पनि जनआन्दोलन गरे । जनताको बलमा अघि बढेको कांग्रेस र कम्युनिष्ट जनआन्दोलनसामु महेन्द्रले घुँडा टेक्न नपरे पनि उनका उत्तराधिकारी पूर्वराजा वीरेन्द्रले जनताको खोसिएको प्रजातन्त्र फर्काउनुप¥यो ।
जनताले प्रजातन्त्रको पुनप्र्राप्ति गरेपछि जनताद्वारा निर्वाचितहरूमार्फत शासन सत्ता सञ्चालन भयो । देश र जनताले बहुदलीय एवं संसदीय व्यवस्थाको नाउँमा कहिले कांग्रेस र कहिले कम्युनिष्ट शासन व्यहोरे । तर प्रजातन्त्रको संस्थागत विकास भएको कहिल्यै पाएन । संसदीय व्यवस्थाले बहुमत काम गरी खाने जनताको हित हुँदैन भनी तत्कालीन संयुक्त जनमोर्चामा रहेका मोहन वैद्य, पुष्पकमल दाहाल, बाबुराम भट्टराईहरू ‘जनयुद्ध’ को उद्घोष गर्दै जंगल पसे । नेपालमा प्रजातन्त्र आएको २००७ सालको फागुन ७ गते मानिन्छ । त्यसैको सम्झनामा हामीले प्रत्येक वर्षको फागुन ७ मा प्रजातन्त्र दिवस मनाउँदै आएका छौं । देश र जनताले प्रजातन्त्र पाएको पाँच दसकसम्म शिशु अवस्थामै रह्यो । प्रजातन्त्र युवक एवं परिपक्व हुन नपाउँदै पूर्वराजा वीरेन्द्रको वंश नाशपछि राजसंस्था सम्हालेका ज्ञानेन्द्रले हरेर लगे ।
जनताले शान्तिपूर्ण रुपमा खोसिएको आफ्नो अधिकार माग्दा ज्ञानेन्द्र मानेनन् । उनले आफू नै सरकार र सत्ता सम्झने महाभूल गरे । फलतः जनताको आन्दोलनबाट उनले प्रजातन्त्रमात्र दिनुपरेन आफ्नो वंश परम्परा रहेको राजसंस्थाबाटै हात धुनुप¥यो । जनताले राजसंस्था हटाएर गणतन्त्र घोषणा गरिसकेको अवस्था छ अहिले । तर गणतन्त्र आए पनि जनताले वास्तविक गणतन्त्रको अनुभूति गर्न पाएका छैनन् किनभने जनताको बलमा शासन सत्तामा पुगेका दलहरू अहिले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको कोटीमा पु¥याउँदैछन् । हिजो एकजनामात्र राजाको शासन व्यहोरेका जनताले अहिले दर्जनौं राजा पाइरहेका छन् । संविधानसभामा प्रमुख मानिएका माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरू आफूलाई आफैले देश र जनताको मालिक सम्झिरहेका छन् ।
उनीहरू आफूलाई जनताले शासक बन्न होइन सेवक बन्न संविधानसभामा अमूल्य मत दिएर निर्वाचित गरेको बिर्सिरहेका छन् । त्यस्तै दुई वर्षभित्र शान्ति प्रक्रिया र संविधान लेखन कार्य सकाउने बाचा गरेको आधारमा जनताले मताधिकार प्रयोग गरेको दलका नेताहरू भुलिरहेका छन् । देशलाई सधैं संक्रमणकालीन अवस्थामा राखे पनि दलहरूको माध्यमबाट देशको शासन सत्ता सञ्चालन गर्ने तथा आफ्नो हक, अधिकार र चाहना पूरा हुने विश्वासका साथ जनताले दलहरूलाई धैर्यतापूर्वक आशावादी भएर सहिरहेका छन् । तर यसैलाई जनताको कमजोरी सम्झे प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाललगायतको अवस्था ज्ञानेन्द्रको भन्दा गतिलो नहुने निश्चित छ ।
जनता प्रचण्ड, सुशील र झलनाथको विकल्प खोजिरहेका छन् । हिजो ज्ञानेन्द्रको विकल्पको रुपमा दलका नेताहरू एकजुट भएर अघि बढेकाले उनीहरूलाई जनताले साथ दिएको यहाँ भुल्नु दलका नेताहरूकै लागि प्रत्युत्पादक हुनेछ । त्यसैले आज फेरि शान्ति र संविधानको लागि दलहरूले एकता र राष्ट्रिय सहमति प्रदर्शन गर्न चुके भने जनतामात्रै सधैं निर्विकल्पको अवस्थामा रहन्छन् भन्ने छैनन् । त्यसैले जनताले विकल्प नखोजुञ्जेल नै प्रचण्ड, सुशील र झलनाथ एकजुट भएर जनताको चाहना र भावनाअनुसार यही जेठ १४ भित्र शान्ति प्रक्रिया टुंग्याई नयाँ संविधान बनाउन लाग्नुको विकल्प छैन ।
जेठ १४ भित्र शान्ति र संविधान निर्माणको प्रमुख कार्यभार कार्यान्वयन गर्न ढिलाइ गरिए यी तीन नेता तथा उनका उत्तराधिकारीहरूको राजनीतिक भविष्य यस्तै हुन्छ भन्ने सकिने अवस्था छैन । सर्वोच्च अदालतले समेत जेठ १४ पछि संविधानसभाको म्याद थप्न नसकिने तथा प्रमुख दलका केही शीर्ष नेतासमेत यसैमा सहमत भएबाट शान्ति र संविधानको लागि तपाईं प्रचण्ड, सुशील र झलनाथ झन् जिम्मेवार, इमानदार र उत्तरदायी हुनु जरुरी छ । यो इतिहास रच्ने अवसर गुमाउन भनेको अहिलेसम्मको आफ्नो राजनीतिक जीवनलाई यही अन्त्य गर्नु हुनेछ ।