भक्तपुर, ५ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको मजदुर आन्दोलन पूँजीवादी ट्रेड युनियनवादमा फस्दा कम्युनिष्ट आन्दोलन कमजोर भएको बताएका छन् । नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी मजदुर संघको प्रथम भक्तपुर जिल्ला सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले माओवादी र एमालेका ठूला मजदुर संघसंगठन पूँजीवादी ट्रेड युनियनवादमा फसेर मजदुर आन्दोलनलाई धोखा दिएको बताएका हुन् । उद्योग तथा कलकारखानामा भागबन्डा गरी बहुमत मजदुरलाई शोषण गर्नु नै ट्रेड युनियनवाद भएको उनले स्पष्ट पारे । ‘मजदुर आन्दोलन कम्युनिष्ट आन्दोलनको आधार हो । उद्योग तथा कारखाना कम्युनिष्ट कार्यकर्ता तयार गर्ने बारुदखाना हो’, अध्यक्ष बिजुक्छेले भने, ‘तर माओवादी र एमालेका ठूला मजदुर संघसंगठन पूँजीवादी ट्रेड युनियनवादमा लागेर मजदुर वर्ग र मजदुर आन्दोलनमा धोखा दिँदै आएका छन् ।’
नेता बिजुक्छले कम्युनिष्ट भन्ने पार्टी सरकारमा जाँदा पनि मजदुर वर्गको हितमा काम नगरेकोले मजदुरहरु जाग्ने बेला आएको बताए । कम्युनिष्ट दावी गर्ने पार्टीको सरकारले देशका उद्योग र कलकारखाना निजीकरण गरी मजदुरहरुलाई बेरोजगार बनाएको उनको भनाइ थियो । उनका अनुसार कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले बजेटमै स्वदेशी युवालाई बैदेशिक रोजगारीमा पठाउने नीति तथा कार्यक्रम ल्याएर शक्तिराष्ट्रको दलाली गरिरहेको छ । नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्रीय अध्यक्ष एवं सभासद् नवराज कोइरालाले मजदुर वर्गीय आन्दोलनको नेतृत्व गर्नुपर्ने ठूला दलहरु जातीय, क्षेत्रीय र भाषिक कुरा गरेर जनतामा विभाजन ल्याइरहेको बताए । कार्यक्रममा नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल, महिला संघका कमलमैंया सुवाल, शिक्षक संघका ज्ञानसागर प्रजापतिलगायतले सरकारले मजदुर र किसानको हितमा सिन्को पनि नभाचेको आरोप लगाए । सम्मेलन उद्घाटनअघि भक्तपुर १७ दूधपाटीबाट ¥याली निकालिएको थियो । उक्त ¥याली भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, गोल्मढी हुँदै भक्तपुर नगर परिक्रमापछि दत्तात्रयमा समापन गरिएको थियो ।

