सौडोलवासी खानेपानीबाट बञ्चित

भक्तपुर, ४ फागुन । भक्तपुरको पूर्वी भेगीय गाउँ विकास समिति ताथली वडा नं. ७ सौडोलवासी खानेपानी प्रयोगबाट बञ्चित भएका छन् । भक्तपुर जिल्ला विकास समितिअन्तर्गतको ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना परियोजना (त्रिपलआर) ले भक्तपुर च्याम्हासिंक–ताथली–नाला सडक विस्तारको क्रममा सौडोलवासीले प्रयोग गर्ने खानेपानीको मुख्य पाइपलाइन बिगारेपछि उनीहरू खानेपानी प्रयोगबाट बञ्चित भएका हुन् । सौडोलका करिब सात सय घरपरिवारले गएको माघ १ गतेदेखि खानेपानी प्रयोग गर्नबाट बञ्चित हुनुपरेको छ । उनीहरुले ताथली बृहत खानेपानी आयोजनाको मुख्य पाइपलाइनबाट खानेपानी उपभोग गर्दै आएका थिए ।

खानेपानी नपाउँदा उनीहरुको जनजीवन अस्तव्यस्त र कष्टकर भएको स्थानीय रविन बासुकलाले बताए । उनका अनुसार घरसम्म निजी धारा व्यवस्था गरेर उपभोग गर्दै आएको खानेपानी महिनौं दिनसम्म नआउँदा स्थानीयले कष्ट व्यहोर्नुपरेको हो । ‘एक महिनासम्म घरमै पानी आउँथ्यो तर एक महिनादेखि पानी आउन छोडेपछि खानेपानीको जोहो गर्न घन्टौं समय व्यतित गर्नुपर्ने बाध्यता आइलागेको छ’, उनले भने, ‘यसले गर्दा महिलाले अन्य काम गर्न भ्याइरहेका छैनन् । विद्यार्थीहरु समयमै स्कुल जान पाइरहेका छैनन् ।’ सडक विस्तार परियोजनाले सडक फराकिलो पार्न डोजर लगाएर सडक खन्दा ताथली–४ सानो भञ्ज्याङमा रहेको आयोजनाको मुख्य वितरण लाइन बिग्रेको थियो ।

सडक विस्तारको क्रममा उक्त स्थानमा खानेपानी पाइपलाइन भएको जानकारी दिँदादिँदै पनि कामदारले बेवास्ता गरी मुख्य पाइपलाइन फुटाइदिएको स्थानीय वासिन्दाले बताए । स्थानीय सावित्री खड्काका अनुसार पाइपलाइन बिग्रेपछि परियोजनाले तीन दिनभित्रै मर्मत गरिदिने आश्वासन दिए पनि एक महिना बितिसक्दा पनि पाइपलाइन मर्मत गरिएको छैन । ‘तीनदिनभित्र पाइपलाइन मर्मत गरिदिने भनी परियोजनाले आश्वासन दिएकोले हामी चुप बसेका थियौं’, उनले भनिन्, ‘तर महिनादिन बितिसक्दा पनि मर्मत गरिएको छैन । हामीले अझै कति दिन पानीको लागि धैर्य गर्ने ?’ स्थानीय वासिन्दा र बृहत खानेपानी आयोजनाका पदाधिकारीले बिग्रेको पाइपलाइन छिटोभन्दा छिटो मर्मत गरिदिन पटक–पटक परियोजनाको ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाइ नभएको आरोप लगाएका छन् ।

आयोजनाका अध्यक्ष कृष्णराम बासुकलाले भने, ‘पाइपालाइन बिग्रेको दुईदिनपछि नै हामी परियोजनाको कार्यालयमा गएका थियौं, बनाइदिन्छु भन्दै आश्वासन पनि दिएको थियो तर महिना दिन बितिसक्यो पाइपलाइन मर्मत गरिएको छैन ।’ उनले फागुन पहिलो साताभित्र उक्त पाइपलाइन मर्मत गरी खानेपानी आपूर्ति सुचारु हुननसके सौडोलवासी आन्दोलनमा उत्रनुको विकल्प नभएको चेतावनी दिए । परियोजनाका इञ्जिनियर श्यामसुन्दर धुकुछुले भने परियोजनाका कारण खानेपानी सेवा अवरुद्ध भएको स्वीकार गर्दै प्राविधिक कारणले मर्मत गर्न ढिलाइ भइरहेको बताए । उनले उक्त पाइपलाइन मर्मत हुन अझै कति दिन लाग्छ केही भन्न नसकिने बताए ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>