भक्तपुर, २९ माघ । जिल्लास्थित विभिन्न ग्यास उद्योगका डिपो सञ्चालकहरुले आफ्नो डिपोमार्फत उपभोक्तालाई ग्यास वितरण गर्ने वातावरण मिलाइदिन माग गरेका छन् । उनीहरुले उद्योगबाट आएका ग्यास गाडीबाट सीधै वितरण गर्दा सही उपभोक्ताले ग्यास नपाएको र एकैजनाले खेताला लगाएर दर्जनौं सिलिण्डर ग्यास हात पारेको भन्दै डिपोमार्फत ग्यास वितरण गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयसँग माग गरेका हुन् । जिल्लास्थित ग्यास डिपो सञ्चालकहरुले आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै यस्तो माग गरेका हुन् । उनीहरुले प्रहरी प्रशासनले उद्योगबाट आएको ग्यास आफ्ना डिलर र सबडिलरमै नपठाइन सीधै गाडीबाट बिक्री वितरण गर्दा वास्तविक उपभोक्ता मारमा परेको बताए ।
उनीहरुका अनुसार यसरी ग्यास बिक्रीवितरण गर्दा एकैव्यक्तिले खेताला लगाएर सबैतिरबाट एकपटकमा दर्जनौं ग्यास हात पारेर कालोबजारी गर्दै आएका छन् । तर डिलर र सबडिलरमार्फत ग्राहक बनेका ग्राहकले कहिल्यै ग्यास नपाउने अवस्था आएको उनीहरुको भनाइ रहेको छ । ‘उद्योगबाट गाडीमा आएको ग्यास सीधै बिक्री वितरण गर्दा डिलर र सबडिलरकहाँ कहिल्यै नपुग्ला नियमित ग्राहकले ग्यास पाउन सकेका छैनन्’, लुम्बिनी ग्यासको भक्तपुरका प्रमुख डिलर रवीन्द्रमान सिंहले भने, ‘गाडीबाट सीधै बिक्रीवितरण गर्दा सधैं एकैव्यक्तिले ग्यास पाइरहेको अवस्था छ । कसैकसैले खेताला लगाएर एकपटकमा दर्जनौं थान ग्यास हात पारिरहेको पाइएको छ ।’
उनले एउटा उद्योगको दुईदेखि तीनसयभन्दा बढी ग्राहक नभए पनि लाइनमा बिक्रीवितरण गर्दा हजारौं सिलिण्डर लाइनमा आउनेबाट पनि केही उपभोक्ताबाट कालोबजारी भएको हुनसक्ने बताए । त्यस्तै लोकन्थलीस्थित सबडिलर सञ्चालक बद्री केसीले डिलरबाट आफूलाई ग्यास नपठाउँदा आफ्ना नियमित ग्राहकबाट सधैं गाली खानुपर्ने बाध्यता रहेको बताए । ‘मुख्य डिपोमा आएको ग्यास प्रहरी प्रशासनले गाडीबाटै बिक्रीवितरण गर्न दिइयो’, उनले भने, ‘त्यही ग्यास अरुले पाउने तर नियमित ग्राहकले नपाउने भएपछि उनीहरुलाई पसलमा टिक्नै दिइरहेका छैनन् । त्यसैले डिपो र सबडिपोबाटै सहज र सरल रुपमा ग्यास बिक्री वितरण गर्ने वातावरण मिलाउनु आवश्यक छ ।’
दुवाकोटस्थित सबडिलर सञ्चालक भरत संग्रौलाले पनि ग्यास बिक्री वितरणको आधिकारिकता पाएको डिलर र सब डिलरमार्फत ग्यास वितरण गर्ने अवस्था नमिलाइए आफूहरु पनि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए । उनले डिपोमा आएको ग्यास गाडीबाट सीधै बिक्री वितरण गर्दा काठमाडौं र काभ्रेदेखिकाले ग्यास लाने गरेको बताए । भक्तपुरका उपभोक्तालाई वितरण गर्न भनी ल्याइएको ग्यास अन्यत्रले पनि पाउँदा सही उपभोक्ता थप मारमा पर्ने भएकोले डिपो र सब डिपोमार्फत नै ग्यास बिक्रीवितरणको व्यवस्था मिलाउनुपर्ने बताए । ग्यास बिक्रेताहरुले जिल्लाको मागअनुसार ग्यास आपूर्ति भइरहेकोले कृत्रिम अभाव सिर्जना गरिएको आरोपसमेत लगाएका छन् । निर्वाध रुपमा ग्यास बिक्रीवितरण गरिरहे लाइनबस्नेहरुको संख्या कहिल्यै खाली नहुने उनीहरुको भनाइ रहेको छ ।