लन्डन, माघ २३ (एजेन्सी)- फुलह्यामलाई शनिबार ३-० ले हराउँदै इङलिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीले दोस्रो स्थानको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर नाइटेडसँगको अंक दूरीलाई पुनः बढाएको छ। अघिल्लो खेलमा निराशाजनक बराबरी बेहोरेको आर्सेनल पनि विजय यात्रामा फर्किदा ब्ल्याकबर्न लाई ७-१ ले हरायो। मध्यसातामा एभर्टनसँग प्रत्यासित हार बेहोरेको सिटीलाई सर्जियो अगुइरोले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए भने क्रिस बाइर्डको आत्मघाती गोलबाट टोली मध्यान्तरअघि नै २-० ले अगाडि लागेको थियो। एडिन जेकोले ७२ औं मिनेटमा तेस्रो गोल गरेका थिए। जितपछि सिटीको उपाधि दौड थप मजबुद बनेको छ, यद्दपी दोस्रो स्थानको युनाइटेडले आइतबार चेल्सीलाई हराएमा पुनः दुवै म्यानचेस्टरको अंक बराबरी हुनेछ।
जितबाट सिटी प्रशिक्षक रोर्बाटो मान्चिनी दंग थिए। 'साच्चै राम्रो प्रदर्शन रह्यो। खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। मध्यसाताको हारपछिको यो जित महत्वपूर्ण छ। भविष्यका लागि यो जित अर्थपूर्ण हुन सक्छ,' मान्चिनीले भने,' सिजनका दौरान केहि कठिन अवस्था पनि आए। यस्तो हुन्छ। मलाई आशा छ अब आउँदा खेलमा जितले निरन्तरता पाउनेछ।' रोविन भान पर्सीको ह्याटि्रकसँगै ब्ल्याकबर्नमाथि गोलको बर्षा गराएको आर्सेनलले आलोेचकको मुख बन्द गराएको छ। लगातार तीन हार र मध्यसातामा बराबरीपछि आर्सेनललको यो नै पहिलो जित हो। जितपछि आर्सेनल पुनः पाँचौं स्थानमा उक्लेको छ। दोस्रो, ३८ औं र ६२ औं मिनेटमा गोल गर्दै ह्याटि्रक पुरा गरेका भान पर्सीको चालु सिजनमा गोलसंख्या २८ पुगेको छ। एलेक्स अक्सलेड चाम्बारलिनले २ गोल थपेको खेलमा मिकेल आर्टिटा र थिअरी हेनरीले १-१ गोल गरेका थिए। हारपछि ब्ल्याकबर्न रेलिगेसन क्षेत्रमा धकेलिएको छ। पुछारमा रहेको विगानभन्दा ब्लार्कबर्नको दुई अंकमात्र बढी छ।
संघर्षरत बोल्टनलाइ २-० ले हराउँदै नर्विच नवौं स्थानमा उक्लेको छ। नर्विचका लागि एन्ड्रियु सुरमन र एन्टोनी पिलकिङटनले दोस्रो हाफमा गोल गरेका थिए। विवादास्पद खेलमा क्विन्स पार्क रेन्जर्स (क्यूपिआर) लाई उल्भरह्यामटनले २-१ ले हरायो। अघिल्लो खेलमा डेब्यू गरेका जिब्रियल सिसेले ३४ औं मिनेटमा रातो कार्ड पाएपछि क्यूपिआर दस खेलाडीमा सिमित भएको थियो। त्यसअघि १६ औं मिनेटमा बबि जामोराको गोलमा अग्रता लिएपनि क्यूपिआरले त्यसलाई जोगाउन सकेन। ४६ औं मिनेटमा म्याथु जारसिभले बराबरी र केभिन डोयलेले ७१ औं मिनेटमा विजयी गोल गरेका थिए। सन्डरल्यान्डले लगातार तेस्रो जित हासिल गर्ने क्रममा दस खेलाडीमा सिमित स्टोकलाई १-० ले हरायो। छैटौं खेलमा सन्डरल्यान्डको यो पाँचौं जित हो। पहिलो हाफको अन्त्यतिर स्टोकका रोर्बट हुथले रातो कार्ड पाएका थिए भने सन्डरल्यान्डका जेम्स म्याकलिनले ६० औं मिनेटमा निर्णायक गोल गरेका थिए।अन्य खेलमा स्वानसी सिटीले वेस्ट ब्रुमविचलाई २-१ ले हरायो भने एभर्टन र विगानले १-१ को बराबरी खेलेका थिए। नागरिक