भक्तपुर २१ माघ । ए डिभिजन पुग्न सफल मध्यपुर युथ एशोसिएसन र गत जनवरीमा बंगलादेशमा भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा सबै ईभेन्टमा स्वर्ण पदक खेलाडीहरुलाई आज भक्तपुरमा सम्मान गरिएको छ । शंखधर युथ क्लव शंखधर चोकले आज मध्यपुरथिमीमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रहरी अतिरिक्त महानिरिक्षक किरण गौतमले ताम्रपत्र, मायाको चिनो र प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो । कार्यक्रममा ए डिभिजन पुग्न सफल मध्यपुर युथ एशोसिएसनका अध्यक्ष तथा राष्ट्रिय प्रशिक्षक उपेन्द्रमान सिंह, टिम संयोजक अष्टकुमार कवें सहित ३३ जना खेलाडि, बंगलादेशमा करातेका सबै ईभेन्टमा स्वर्णपदक विजेता १७ जना कराते खेलाडि र तीनजना प्रशिक्षकलाई सम्मान गरिएको थियो ।
सम्मान गर्दै महानिरिक्षक गौतमले नेपालमा पछिल्लो समयमा खेलको विकास हुदै आएको बताउदै उहाँले अबका दिनमा अझै यसले उपलब्धी हासिल गर्दै जानेमा विश्वास लिएको बताउनुभयो । त्यसअवसरमा एन्फाका उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्गले खेलकूदको क्षेत्रमा सरकारको लगानी बढ्न सके नेपालले विश्वमा खेलक्षेत्रबाट नेपालको नाम उच्च राख्न सक्ने दाबी गर्नुभयो । प्रशिक्षक र खेलाडिको मिहेनतले पनि पछिल्ला समयमा खेलमा नेपालले ठूला उपलब्धी हासिल हुदै गएको बताउदै सरकारको लगानी बढ्नसके ठूला ठूला उपलब्धी हासिल गर्नसक्ने बताउनुभयो । क्लबका अध्यक्ष रामहरी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संयोजक उमेश श्रेष्ठ, भक्तपुर जिल्ला सितोरियो संघका अध्यक्ष प्रकाशमान धौभडेल, मध्यपुर नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष श्याम मानन्धर लगायतले मध्यपुर नगरक्षेत्रमा छोटो समयमा खेलमा ठूलो विकास गरि उपलब्धी हासिल गर्न सकेको बताउनुभयो । यसअघि मध्यपुरथिमीको बाखाहाबजार देखि शंखधरचोकसम्म सम्मानित खेलाडिलाई बाजागाजा सहित रयाली प्रदर्शन गरेर सम्मान कार्यक्रममा परिणत भएको थियो ।