संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित तेस्रो अन्तरविद्यालय जिल्लाव्यापी इसान खेल मेलाअन्तर्गत बिहीबार भएको सटपुटमा फलामको गोला फाल्दै खेलाडी ।
विद्या आर्जनकै संयोजनमा भएको सटपुटमा छात्रतर्फ प्राइम एकेडेमीका रोशन खम्बु प्रथम भएका छन् । उनले सर्वाधिक ८.१२ मिटर लामो दूरीसम्म फलामको गोला फालेर स्वर्ण पदक हात पारेका हुन् । इसानअन्तर्गतका ६ विद्यालयका ११ विद्यार्थीको सहभागिता रहेको उक्त स्पर्धामा वाइजल्याण्ड सेकेण्डरी स्कुलका विशाल व्याञ्जु र लक्ष्मीप्रसाद व्याञ्जुले क्रमशः ७.७१ मिटर र ७.२६ मिटर टाढा फलामको गोला फ्याकेर दोस्रो र तेस्रो स्थान पक्का गरे । त्यस्तै छात्रातर्फ ब्राइटस्टार सेकेण्डरी स्कुलका अञ्जु लामाले ७.५८ मिटर टाढा पुर्याएर प्रथम स्थान हात पारिन् । पाँच विद्यालयका सात विद्यार्थी सहभागी उक्त स्पर्धामा वाइजल्याण्डका सरु व्याञ्जुले ६.४३ मिटर र विद्या आर्जनका जेनिशा न्हिसुतुले ४.८५ मिटर टाढा फ्याँकेर दोस्रो र तेस्रो भए । ख्वप्रिङ्ग इङ्गलिस एकेडेमीको संयोजनमा भएको छात्रा कबड्डी प्रतियोगितामा भने विद्या आर्जन र ख्वप्रिङ्ग फाइनलमा पुगेका छन् ।
प्रतियोगिताको बिहीबार भएको सेमिफाइनलमा विद्या आर्जनले वाइजल्याण्डलाई २५–१७ र ख्वप्रिङ्गले होली गार्डेन इङ्गलिस स्कुललाई ३०–१५ अंकले हराउँदै फाइनलको यात्रा तय गरेका हुन् । स्टुडेन्टस् एकेडेमीको संयोजनमा भएको छात्र फुटबलमा निओलोजियन विजयी भएको छ । स्थानीय माहेश्वरी खेल मेदानमा बिहीबार भएको फाइनलमा बाल विकासलाई १–० गोलले पराजित गर्दै निओलोजियनले उपाधि जितेको हो । बाल विकास स्कुलको संयोजनमा भएको छात्र भलिबलमा भने आदर्श ज्योति र बाल विकास फाइनलमा पुगेका छन् । इसानका महासचिव पुरुषोत्तम ग्वाछाका अनुसार खेल मेला शुक्रबार सम्पन्न हुँदैछ ।