माओवादी र एमाले एक प्रतिशतमात्रै कम्युनिष्ट ः अध्यक्ष बिजुक्छे

Topics:

 नेमकिपाको ३८ औं स्थापना दिवसको अवसरमा मंगलबार भक्तपुरमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नारायणमान बिजुक्छे ।
 
भक्तपुर, १० माघ ः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एकीकृत माओवादी र एमाले एक प्रतिशतमात्रै कम्युनिष्ट भएको आरोप लगाएका छन् । नाममा कम्युनिष्ट रहे पनि माओवादी र एमालेको व्यवहार र कार्यशैली पुँजीवादी पार्टीको जस्तो रहेकोसमेत उनको भनाइ थियो । नेमकिपाको ३८ औं स्थापना दिवसको अवसरमा पार्टीको भक्तपुर जिल्ला समितिद्वारा मंगलबार आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाको भूमिका’ विषयक प्रवचन कार्यक्रममा उनले भने, ‘माओवादी र एमालेले समाजवादको वकालत गरेका छैनन् । उनी कम्युनिष्ट सिद्धान्तमा एकमिनेट पनि अड्न सकेका छैनन् । उनीहरुको व्यवहार पनि पूँजीवादी नै छ ।’
 
उनले नेपालको कम्युनिष्ट आन्दोलनको अहिलेको प्रमुख वर्ग शत्रु साम्राज्यवादी र विस्तारवादी शक्ति भएको बताए । कम्युनिष्ट आन्दोलन अघि बढाइए इराक, अफगानिस्तान र लिवियामा जस्तै नेपालमा पनि साम्राज्यवाद र विस्तारवादी शक्तिले डबाउन सक्ने औंल्याउँदै अध्यक्ष बिजुक्छेले किसान र मजदुर आन्दोलनमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई गति दिनुपर्ने बताए । तर नेमकिपाको उक्त विचारप्रति माओवादी, एमालेलगायतका कम्युनिष्ट पार्टी सहमत नहुँदा नेपालमा कम्युनिष्ट आन्दोलन पछाडि धकेलिँदै गएको उनको भनाइ थियो ।
 
‘हामीले माओवादी, एमालेलगायत कम्युनिष्ट पार्टीका नेताहरुलाई कम्युनिष्ट आन्दोलन सफलतामा पु¥याउने हो भने किसान र मजदुर आन्दोलन अघि बढाऔं भनेका थियौं’, उनले भने, ‘तर उहाँहरु कोही पनि यसमा सहमत हुनुभएन । यसले पनि उहाँहरु नामले मात्रै कम्युनिष्ट भन्ने पुष्टि हुन्छ ।’अध्यक्ष बिजुक्छेका अनुसार किसान र मजदुर आन्दोलन अघि बढाइएको भए देशमा जातीय, क्षेत्रीय, भाषिक, लिंगलगायतको आन्दोलन अघि बढ्ने थिएन । यसले मधेसवादी पार्टी अहिलेको जस्तो अवस्था आउन नसक्ने तथा उनीहरुले भने जस्तो एक मधेस एक प्रदेशको मागसमेत उठान नहुने उनको भनाइ थियो । तर पार्टीको नाममा कम्युनिष्ट राख्नेहरु नै बहुमत मजदुर र किसानलाई राजनीतिक रुपले अघि बढाउन नचाहेको उनले आरोप लगाए ।
 
‘कुनै पनि पार्टी अमूर्त हुँदैन । उसले कुनै न कुनै सिद्धान्त र विचार बोकेकै हुन्छ । जसरी कम्युनिष्ट पार्टीले माक्र्सवादी, लेनिनवादी र माओ त्सेतुङ्ग विचारधारा बोकेको हुन्छ’, उनले भने, ‘सिद्धान्त र विचार बोकेपछि त्यसको आधारमा व्यापक जनतालाई संगठित गर्दै उद्देश्यतर्फ अघि बढाउनैपर्छ ।’ कार्यक्रममा नेमकिपाका सभासद् लीला न्याइच्याई, नेक्राकिसंघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल, नेक्राशिसंघका केन्दीय अध्यक्ष चक्रबहादुर चाकतु, नेमकिपा भक्तपुरका अध्यक्ष रमेश थापा र कोषाध्यक्ष केदार खड्काले देश र जनताको हितमा बलिदानीपूर्वक काम गर्ने नेता तथा कार्यकर्तामात्रै कम्युनिष्ट हुने बताए ।
 
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग अफगानिस्तानमा साम्राज्यवादी कदम चाल्ने पूर्वसोभियत संघ, बंगलादेशमा भारतले पठाएको मुक्तिवाहिनी सेना तथा नेपाली कांग्रेससँगको कार्यगत एकतालगायतका विषयमा मतभेद भएपछि नेता बिजुक्छेको नेतृत्वमा २०३१ साल माघ १० गते तात्कालिन नेपाल मजदुर किसान संगठन भएको थियो ।
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>