भक्तपुर २८ पुस । सडक निर्माणमा व्यापक भ्रष्टाचार बढ्दै गएपछि आ.ब.२०६७÷०६८ मा उपत्यका भित्र निर्माण भएका सडकको छानविन गरि कारबाही गर्ने उदेश्यले सरकारले गठन गरेको नेपाल सरकारको सडक दुरावस्था छानविन समितिले भक्तपुरमा निर्माण एका अधिकांश सडक गुणस्तरहिन र मापदण्ड विपरित रहेको ठहर गरेको छ । सिमितिले भक्तपुर नगरपालिका, जिल्ला विकास समिति र डिभिजन सडक कार्यालय भक्तपुरले निर्माण गरेका अधिकांश सडकको अनुगमन गर्दा निर्माण गरेको विभिन्न सड्कको दुईदिन गरेको अनुगमनको क्रममा यस्तो ठहर गरेको हो ।
नेपाल सरकारका सचिव जयमुकुन्द खनालको संयोजकत्वको समितिका पदाधिकारी सहितको टोलीले नगरपालिका, जिविस र सडक कार्यालयले गरेको सडक निर्माण सम्बन्धी फाईलको अनुगमन, योजना छनौटको तरिकाको अनुगमन तथा सडकको स्थलगत अनुगमन समेत गर्दा तीन वटै सरकारी निकायले निर्माण गरेका सडक गुणस्तरहिन रहको भेटिएको समितिका सचिव एवं राष्ट्रिय सर्तकता केन्द्रका सहसचिव शेरबहादुर ढुङ्गानाले बताउनुभयो ।
समितिले एकैदिन भक्तपुरको सरस्वतीखेल, फैढोका दुवाकोट सडक, तेलकोट भट्टेडाडाँ सडक, मूलपानी चाँगुनारायण सडक, शियाली विकास बैंकको सहयोगमा निर्माण सम्पन्न भएको देकोचा चाँगुनारायण सडक, कौशल्टार बालकोट सिरुटार सडकको स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा कुनैपनि सडक निर्माणमा सडक मापदण्ड पुरा नभएको, सडकाम प्रयोग भएका सामाग्रीहरुको गुणस्तीयता परीक्षण नगरिएको, प्राविधिक रुपमा थुप्रै त्रुटी रहेको समितिका सदस्य एवं प्राविधिक सहसचिव हरेराम कोईरालाले बताउनुभयो । सडक अनुगमनको क्रममा गलत योजना छनौट गर्ने गरिएको, भनसुनको आधारमा योजना पास गरेर बजेट दिने गरेको, काम गर्दा सर्वेक्षण नगर्ने गरेको, ससाना योजना पनि रातो कितावमा पार्ने गरिएको, व्यक्तिगत दबाब र भनसुनका आधारमा योजना छनौट गर्ने गर्नाले सडक मापदण्ड अनुसार बन्न नसकेको र गुणस्तरहिन भएको समितिका सदस्य एवं नेपाल ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकका सहप्राध्यापक पदम खड्काले बताउनुभयो ।
समितिका संयोजक खनालले एशियाली वकास बैंकको आर्थिक सहयोगमा निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत भएको देकोचा चाँगुनारायण सडक सुरुमै भत्किएको, कालोपत्र धेरै ठाउँमा उप्किसकेको पाईएको बताउनुभयो । यो सडकमा नाली नभएको, कालोपत्र स्तरीय नभएको पर्खाल नबनाईएको, मुआब्जा दिंदा पनि स्थानियवासिले जग्गा नछाडेको, सडक मापदण्ड विपरित र गुणस्तरहिन भएको ठहर गरेको उहाँले जानकारी दिनुभयो ।
सडक निर्माण, तथा योजना छनौट मै राजनीतिक दबाब, भागवण्डा, सामाजिक दबाब र उपभोक्ताको समेत वेवास्ताका कारण सडक स्तरीय नबनेको समितिले अनुगमनको क्रममा पाएको उहाँको भनाई थियो ।अनुगमनमा सबभन्दा बढी लापर्वाही र सरकारी ऐन नियम नै मिचेर कार्य गरेको सरकारी निकायमा भक्तपुर नगरपालिका रहेका ठहर गरेको छ । समितिले अनुगमनको क्रममा पाईएको समस्याका बारेमा प्रधानमन्त्रीलाई रिपोर्ट बुझाउने भएको छ ।
सडक अनुगमन समितिमा सतकर्ता केन्द्रका उपसचिव श्यामराज खनाल, महालेखा नियन्त्रण कार्यालयका सहसचिव महेन्द्रकुमार थापा समेत रहनुभएको छ ।