यसवर्ष भक्तपुरका दुईलाख ५७ हजार ९९८ जनालाई हात्तिपाईले विरुद्धको औषधि खुवाइने

भक्तपुर १४ पुस । सन् २०२० सम्ममा विश्वबाट हात्तिपाईलेको रोग उन्मुलन गर्ने विश्वव्यापी संकल्पलाई नेपालले समेत पुरा गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले तीनदिने हात्तिपाईले रोग विरुद्धको अभियान सुरु भएको छ । कार्यालयले यही पुसको २२, २३ र २४ गते जिल्लाभरी हात्तिपाईले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ ।

कार्यालयले आज भक्तपुर अस्पतालमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ट जनस्वास्थ्य अधिकृत अर्जुनकुमार अधिकारीले यसबारे जानकारी दिदै यसवर्ष दुईलाख ५७ हजार ९९८ जनालाई हात्तिपाईले विरुद्धको औषधि खुवाउने भएको बताउनुभयो ।
 
यसका लागि एकहजार पाँचसय जनालाई परिचालन गरिने बताउदै उहाँले तीनदिने अभियानमा २४० जना महिला स्वास्थ्य स्वयंसेविका र १३० जना स्वास्थ्य कार्यकर्तालाई खटाइने भएकोछ ।
 
हात्तिपाईलेको औषधि खुवाउदा विगतका वर्षमा नकारात्मक हल्ला चलेकाले औषधि सेवनमा समस्या आएपछि कार्यालयले यसवर्ष देखि २१ गते हात्तिपाईलेको औषधि सेवनबारे जानकारी दिदै घरदैलो कार्यक्रम अन्तर्गत घरघरमा गएर यसबारे जानकारी दिइने भएकोछ ।
 
पत्रकार सम्मेलनमा कार्यालयकी शाखा अधिकृत गीता हुमागाईले भक्तपुरमा तीनवर्ष देखि सुरु गरेको यो अभियानमा सन् २०१० मा दुईलाख ४८ हजार ९७ जनालाई औषधि खुवाउने लक्ष्य रहेकोमा एकलाख ८३ हजार ८३४ जनालाई औषधि खुवाईएको छ ।
 
त्यस्तै सन् २०११ मा दुईलाख ५१ हजार ५८२ जनालाई औषधि खुवाउने लक्ष्य राखेकोमा एकलाख १८ हजार २७० जनालाई औषधि खुवाईएको जानकारी दिदै उहाँले सन् २०१० मा ७४ प्रतिशतलाई औषधि खुवाईएको र सन् २०११ मा ४७ प्रतिशतलाई मात्र औषधि खुवाउन सफल भएको बताउनुभयो ।
 
नेपालमा हिमाली जिल्ला बाहेकका ६० जिल्लाका दुई करोड ५० लाख  मानिस हात्तिपाईलेबाट उच्च जोखिममा रहेको बताईएको छ ।
 
अहिलेसम्ममा नेपालमा ३६ जिल्लामा हात्तिपाईले विरुद्धको अभियान संचालन गरेको र यसवर्ष देखि थप १० जिल्ला गरि ४६ जिल्लामा संचालन गरिने भएको छ भने आगामीवर्ष नौ जिल्लामा थप गरिने भएको छ ।
 
विश्वमा ८३ मुलुकका एकअर्व ३० करोड जना यस रोगबाट उच्च जोखिममा रहेको, १२ करोड व्यक्तिलाई हात्तिपाईले रोग लागिसकेको र यसमध्ये ६० प्रतिशत विरामी दक्षिण पूर्वी एशियामा रहेको र त्यसमा ४० प्रतिशत विरामी भारतमा रहको बताईएको छ ।
 
सम्मेलनमा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डन डा. ईन्द्रप्रसाद प्रजापतिले हात्तिपाईलेको रोग भएका व्यक्तिलाई मात्र औषधि सेवन गर्दा साईड ईफेक्ट देखिने र अन्यलाई औषधिले कुनै असर नगर्ने बताउदै यो औषधि खानाखाने बित्तिकै सेवन गर्नुपर्ने बताउनुभयो । 
 
दीर्घरोगी, सिकस्त विरामी, गर्भवति र सुत्केरी महिलाले यो औषधि सेवन गर्न नहुने प्रष्ट्याउनुभयो ।
 
 
 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>