रमेश गिरी- भक्तपुर ३ पुस । जाडो मौषम सुरु भएपछि दूग्ध व्याबसाय अन्तर्गत भक्तपुरको प्रमुख व्याबसाय मानिने दहिको व्यापार घटेपछि यहाँका दहि व्याबसायी मारमा परेका छन् । भक्तपुरको पहिचान बोकेको दहिको माग अत्यन्तै कमभए पछि यहाका ब्यबसायीलाई दहिे ब्यबसायी मर्कामा परेका हुन् ।
स्वदेशमा मात्र नभई विदेशमा समेत भक्तपुरको पहिचान राख्न सफल बनेको जुजु धौ अर्थात दहिको राजाको नामबाट परिचित दहिको माग उपत्यका र उपत्यका बाहिरबाट समेत माग घटेको सुकुलढोकाका ब्याबसायी रामशरण सैजुले बताउनुभयो ।
विबाह तथा भोजमा दहिको अत्याधिक माग बढ्ने मौषम भएपनि यस्ता भोजमा समेत माग घटेकाले कतिपय व्याबसायीले व्याबसाय नै बन्द गरेको बताएका छन् ।
गाईभैंसीको शुद्घ दूधलाई दाउराको आगोमा बाक्लो हुने गरी तताई माटोको कतारोमा राखेर विविध मसला मिसाई भुस ओच्छ्याएर जमिनमा सेलाउने प्रक्रियाबाट जुजु धौ बनाइन्छ ।
जुजु धौलाई चक्कुले टुक्राटुक्रा पारेर काट्न सकिने दहीको कतारोलाई घोप्टाएर लैजादा पनि नबिग्रने एवं नखस्ने र दहि खादा अत्यधिक स्वादिलो गुणस्तरीय हुने भएकाले यहाँको दहिको माग बढ्ने गरेको थियो ।
भक्तपुरमा केही व्याबसायीले नक्कली दहि बनाउन थालेको, जुजु धौ को पहिचान मेटिदै जान थालेको र भक्तपुर बाहेक अन्य जिल्लामा पनि दहि बनाएर जुजु धौ भन्दै बिक्री गर्न थालेपछि भक्तपुरमा उत्पादन हुने दहिको माग घटेको ३५ वर्षदेखि दही व्यवसाय गर्दै आएका सूर्यमढीका हरिसुन्दर सैंजुले बताउनुभयो ।
भक्तपुर नगरक्षेत्रमा मात्र करिब एकसय भन्दा बढी दही पसलबाट दहि बिक्रि गरिन्छ भने व्यावसायीले सस्तो दही गुणस्तरहिन र मंहगो दही गुणस्तरयुक्त बनाउने गरेका छन् ।
सैजुका अनुसार व्याबसायीले अर्डर अनुसारको दहि बनाउने गरेका छन्, राम्रो दहिको अर्डर भएमा र माटोको कतारोमा मसला राखेर परम्परागत शैलीमा दही बनाउने गरिन्छ भने सामान्य दहि फ्रिजिङ गरी सादा रुपमा कतारो या प्लाष्टिकको भाडोमा राखेर बनाउने गरिन्छ ।
माटोको कतारोमा परम्परागत रुपमा बिभिन्न मसला राखेर बनाएको दहि प्रति एकलिटरको तीनसय रुपैया सम्म पर्ने गरेको मसला नराखेको दहि प्रति लिटर एकसय ७५ रुपैया सम्म पर्ने गरेको र सामान्य दहि प्रति लिटर ९५ रुपैया मै पाईने भएकाले ग्राहकको माग अनुसारको दहि बनाईने एबं बिक्रि गरिने ब्याबसायीले बताएकाछन् ।
दैनिक पाँच हजार देखि ४० हजारैयासम्मको दहि व्यापार गर्दै आएका भक्तपुरका दही व्याबसायीहरु बिक्री कम भएपछि अहिले मुश्किलले तीन हजारको दही बिक्री नहुने गरेको छ । विबाह वा अन्य भोजमा दहीको अर्डर आएमात्र व्यापार राम्रो हुने अन्यथा दहीको बिक्री नहुने भएकाले उत्पादन समेत नहुने गरेको हो ।
सगुनको रुपमा समेत प्रयोग गरिने दहि अहिले उपहारका रुपमा समेत लान थालिएको छ । यसबर्ष दूधको मूल्य बढेको, मसला, कतारो लयागत सामाग्रीको मूल्य बढेकाले दहिको मूल्यमा समेत बृद्धि भएको ब्याबसायीले बताएकाछन् ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार दहीको राजा अर्थात् उत्कृष्ट दही भएकाले र मल्लकालमा राजाले समेत खाने हुनाले भक्तपुरको दहिलार्ई जुजु धौ भनिएको हो । संसारभरिका हरेक ठाउँमा दही बने पनि भक्तपुरको दहीलाई जुजु धौ भन्नुमा प्रमुख तीन विशेषता रहेको छ, त्यो हो ताप सन्तुलन, मौलिक भिउँट र उच्च गुणस्तरयुक्त दूधबाट दहिको उत्पादन । तर नक्कली दहि बन्न थालेपछि भक्तपुरको जुजु धौको पहिचान मेटिदै जान थालेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
