म शक्तिको दुरुपयोग गर्न सक्दिनँ

Topics:

बिद्यार्थी राजनीतिमा मानुषी यमी भट्टराईको चर्चा चल्न थालेको धेरै भएको छैन। सशस्त्र द्वन्द्वकालमा उनको पढाइ-लेखाइका बारेमा चर्चा  सुनिन्थ्यो। पाँच वर्षअघि भारतबाट स्थायी रूपमा नेपाल फर्किएर त्रिभुवन विश्वविद्याल्ाय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा अध्ययन र राजनीतिलाई  सँगै अघि बढाउँदै छिन् मानुषी। स्ववियु निर्वाचनका क्रममा त्रिभुवन विश्वविद्यालयमा उनले सर्वाधिक मत ल्याएपछि विद्यार्थीहरूमाझ उनको  लोकपि्रयता प्रमाणित भयो। गत शुक्रबार मानुषी सामान्य पहिरनमा भेटिइन्। सामान्य चप्पलमा झोला भिरेकी मानुषीले बालुवाटारको एक  क्याफेमा साप्ताहिकका नरेन्द्र रौले र शिव मुखिया सँग विद्यार्थी राजनीति, युवा एवं समसामयिक सन्दर्भमा लामो कुराकानी गरिन् ः

 

आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?

एउटा सामान्य नागरिकका रूपमा।

प्रधानमन्त्रीकी छोरी, पहुँचवाला मान्नुहुन्न ? 

पटक्कै लाग्दैन। प्रधानमन्त्रीज्यूलाई त कहिलेकाहीं 'म प्रधानमन्त्री हो र ?' भनेजस्तो लाग्छ रे। मेरो के कुरा..? म त अरूजस्तै सामान्य नागरिक  हुँ।

अहिले तपाईंको दैनिकी फेरियो होला नि ?

सामान्य फेरिएको छ। यसअघि म कोटेश्वरमा बस्थें। अहिले बालुवाटारमा छु। राजनीतिक व्यस्तताचाहिँ अघिपछि उस्तै छ।

प्रधानमन्त्रीकी छोरी, फाइदा लिनेहरू कति धाउँछन् ?

अनगिन्ती। विभिन्न खाले सहयोग र रोजगारी दिलाइदिनुपर्‍यो भनेर अनेकौं मानिस आउँछन्। सत्तासँग नजिक भएकाले मबाट फाइदा लिन खो ज्नेहरू पनि उत्तिकै छन्। हाम्रा वरिपरिका कतिपय साथीलाई यस्तै बानी परेको छ तर म यस्ता कुरामा सचेत छु। म आफ्नो शक्तिको दुरु पयोग गर्न सक्दिनँ। मबाट यस किसिमको काम हुँदैन भनेर मेरा अभिभावकहरू पनि ढुक्क हुनुहुन्छ।

बुबा प्रधानमन्त्री भएकाले फाइदा लिन सकिन्छ होला नि ?

गाह्रो छ। उहाँलाई कुनै कुरामा सुझाव मात्र दिन सकिन्छ,काम गर्न दबाब दिन सकिँदैन।

तपाईं आफैं पनि विद्यार्थी राजनीतिमा हुनुभएकाले साथीहरूले सहयोग माग्छन् नि ?

शैक्षिक समस्यामा त सहयोग गर्छांै नै। हाम्रो काम नै उनीहरूको समस्या समाधानमा सहयोग गर्ने हो। यद्यपि व्यक्तिगत सहयोगका लागि पनि  अनगिन्ती मानिस आउँछन्। केही यति धेरै समस्यामा हुन्छन् कि उनीहरूलाई सहयोग गर्न नसक्दा आफैं लाचार भएजस्तो लाग्छ। 

तपाईं बुबाआमाकै आडमा राजनीतिमा लागेको हो ?

मेरो पृष्ठभूमि राजनैतिक हो। स्वाभाविक रूपमै त्यसको प्रभाव ममा पर्‍यो। यद्यपि बुबाआमा राजनीतिमा भएकाले मैले पनि राजनीति गरेको हो  भनेर चाहिँ हेरिनु हुँदैन। योग्यता र क्षमताका आधारमा मूल्यांकन गर्नुपर्छ।

बुबाआमा राजनीतिमा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?

यो हाईपोथेटिकल प्रश्न हो। म पक्कै समाज परिवर्तनको बाटोतिर हुन्थें। यो परिवेशले निर्धारण गर्ने कुरा पनि हो।

त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा अत्यधिक मत पाउनुभयो ? कसरी ?

मैले बुझेसम्म धेरै साथीले मेरो सरलतालाई मन पराएर मत दिनुभयो।  

राजनीति गर्नेहरूका लागि त्रिभुवन विश्वविद्यालय राम्रो प्लेटर्फम हो। तपाईंको त्रिभुवन विश्वविद्यालय भर्ना हुने उद्देश्य पनि त्यही होइन ?

एउटा पक्ष त्यो पनि हो तर राजनीतिकै लागि मात्र होइन। म स्नातकोत्तर अध्ययनका लागि यहाँ भर्ना भएकी हुँ। किनभने नेताका छोराछोरीले  सरकारी स्कुल पढ्नुपर्छ भन्ने हाम्रो पार्टीको सिद्धान्त नै छ। यहिबाटै मैले राजनीतिशास्त्रमा एमए सकेँ। अहिले इतिहासमा थेसिस गर्दैछु। 

तर तपाईंले यसअघिको पढाइ बेलायत, भारत आदिका महँगा विद्यालयमा गरेको चर्चा नि ?

जे-जति हल्ला सुनिए, ती गलत हुन्। द्वन्द्वकालमा यो विषयलाई लिएर ठूलै प्रपोगान्डा भयो। द्वन्द्वमा त्यस्तो प्रपोगान्डाले निकै महत्त्व पनि राख्छ  तर त्यो सबैै झूट हो। मैले जवाहलाल नेहरू विश्वविद्यालय -जेएनयु) पढेको पनि हल्ला मात्र हो। मैले गरिब र सर्वसाधारण जनताका  छोराछोरी पढ्ने स्कुलमै पढेकी हुँ।

भनेपछि त्यसबेला तपाईं नेपालकै सरकारी स्कुलमा हुनुहुन्थ्यो ?

मैले धेरैवटा स्कुल फेरंे। त्यो मेरो बाध्यता थियो। कक्षा पाँचसम्म यहीं -काठमाडौं) कै विभिन्न स्कुलमा पढें। त्यसपछि भारत पश्चिम बंगालको  पेदोङमा पढ्न गएँ। त्यहाँ पनि मैले गरिबहरू पढ्ने सेन्ट जोर्जेट स्कुलमै पढें। नैनीतालमा पढें। पछि दिल्लीको एनडिएमसी स्कुलबाट १२ कक्षा  सिध्याएँ। म दिल्लीकै लेडी श्रीराम कलेजबाट ब्याचलर गरेर मास्टर्सका लागि बेलायत गएकी हुँ। ती सबै स्कुलमा मैले न्यूनतम शुल्क तिरेर  पढेकी हँु। 

यसरी स्कुल फेरिरहनुपर्ने कारण ?

सुरक्षाले गर्दा। भारतमा पढ्नुको कारण यही मात्र हो। सुरक्षाका लागि मैले अस्मिता सिंह भन्ने छद्म नाम प्रयोग गर्नुपर्‍यो। मेरो शैक्षिक  प्रमाणपत्रमा त्यही नाम छ। नागरिकतामा चाहिं दुवै नाम छ। 

द्वन्द्वकालमा थुपै्र पटक शैक्षिक हड्ताल भए, विद्यालयहरू युद्धमैदानमा परिणत भए। त्यसबाट लाखौं नेपालीका छोराछोरी नराम्रोसँग प्रभावित  भए, तर तपाईंले त्यस्तो भोग्नुपरेन नि ?

त्यो एउटा संक्रमणकालिन अवस्था थियो। त्यसलाई हामी सबैले स्वीकार गर्नुपर्छ। यदि त्यस्तो नभएको भए यो परिवर्तन पनि सम्भव थिएन।  केही पाउन केही त गुमाउनैपर्छ नि !

उनीहरूले भोगेको शारीरिक तथा मानसिक कष्टले तपाईंमा पीडाबोध हुँदैनथ्यो ?

पीडा त हुन्थ्यो तर हाम्रो लक्ष्य पूरै व्यवस्था बदल्ने भएकाले त्यसमा अल्भिmने कुरा पनि थिएन। हामी आमूल परिवर्तनका लागि हिँडेका थियौं।  पुरानो शैक्षिक व्यवस्था बदल्न हिँडेका थियौं। 

तपाईं पनि युद्धमा हिँड्नुभयो ?

म यहाँ -नेपालमा) को युद्ध मोर्चामा थिइनँ। भारतको फरिदावादमा नेपाली श्रमिकहरूसँग मिलेर काम गर्दै थिएँ, श्रमिकहरूको हक, हितका  लागि। साथै, द वर्कर भन्ने पत्रिकाका निम्ति सहयोग गरिरहेकी थिएँ। 

अघि तपाईंले शैक्षिक व्यवस्था बदल्न हिँडेका थियौं भन्नुभयो, बदल्नु भयो ?

हो, द्वन्द्वकालमा हामीले शिक्षामा आमूल परिवर्तनको कुरा उठाएका थियौं। शिक्षामा व्यापार हुनुहँुदैन, गरिब र धनीका लागि छुट्टा-छुट्टै शिक्षा हुनु  हुँदैन, शिक्षामा निजीकरणको अन्त्य हुनुपर्छ भनेका थियौं, तर त्यस किसिमको आमूल परिवर्तन यति चाँडै नहुने रहेछ। जबसम्म सरकारी  शिक्षाको स्तरवृद्धि हुँदैन तबसम्म शिक्षामा निजीकरणको अन्त्य गर्न सकिँदैन। अहिले हामी त्यसको विकल्प निर्माण गरिरहेका छौं।

कस्तो विकल्प ?

सरकारी शिक्षाको स्तरवृद्धि गर्ने र क्रमशः शिक्षामा निजीकरणको अन्त्य गर्ने।

तपाईंहरूले भन्नुभएको जनवादी शिक्षाचाहिँ कस्तो शिक्षा हो ?

जनताका लागि जनताको निगरानीमा हुने शिक्षा हो। जुन हाम्रो माटो सुहाउँदो हुनेछ। जनवादी शिक्षा समाजको आवश्यकतानुसार हुनुपर्छ। धनी  गरिब सबैका छोराछोरीले पाउने शिक्षा समान हुनुपर्छ।

नेपालमा विद्यार्थी राजनीति शैक्षिक सुधारका लागिभन्दा पनि पार्टीको संरक्षण शक्ति प्राप्तिका लागि गरे जस्तो देखिन्छ नि ?

हामी शैक्षिक सुधारकै लागि राजनीति गरिरहेका छौं। एउटा प्रणाली बसाउन लडिरहेका छौं। उक्त प्रणाली स्तापित भएपछि शिक्षा क्षेत्रमा स्वतः  सुधार हुँदै जानेछ।  

हामीकहाँ आन्दोलनको नाममा ढुंगामुढा, तोडफोड मात्र हुने गरेको , त्यसलाई रचनात्मक बनाउन सकिँदैन ?

रचनात्मक रूपले काम गर्दा सम्बन्धित पक्षले सुन्दैन। बाध्य भएर त्यस्तो गर्नुपरेको हुनसक्छ। पहिलो कुरा त त्यस्तो अवस्था सिर्जनै गर्नै नहुने  हो। नत्र विद्यार्थीलाई ढुंगामुढा गर्ने रहर किन हुन्थ्यो ?

अहिले विद्यार्थी आन्दोलन सेलाएको हो ?

विद्यार्थी आन्दोलन सेलाएको होइन, अलि कम प्रतिक्रियात्मक मात्र भएको हो। शान्ति र संविधान मूल एजेन्डा भएकाले सबैको ध्यान त्यता के न्दि्रत छ। त्यसो त हामी विद्यार्थी हक-हितका लागि निरन्तर लडिरहेका छौं। हामीले विद्यार्थीलाई सहुलियतको मुद्दा उठायौं, गाडीभाडाको मूल्यव ृद्धिको विरोध गर्‍यौं। हाम्रै दबाबका कारण त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर निकाल्यो। 

राजनीति गर्ने सीमित युवाहरूलाई छाड्ने हो भने अधिकांशमा पोलिटिकल ह्यारेसमेन्ट बढ्दो नि ?

राजनीतिलाई फोहोरी खेल बनाइएकाले त्यस्तो भएको हुनुपर्छ। अब, हामीले यसलाई नयाँ परिभाषा दिनुपर्छ। 

कस्तो नयाँ परिभाषा ?

राजनीतिको परिभाषा जस्तो बनायो त्यस्तै हुन्छ। राम्रो बनाए राम्रै, नराम्रो बनाए नराम्रै हुन्छ। यो जनवादी खालको हुनुपर्छ।

नेपालमा पढेर नेपालमै रोजगारी सिर्जना हुने दिन कहिले आउला ?

त्यही सपना बोकेर हामी लागिपरेका छौं। त्यसका लागि धैर्यता चाहिन्छ। हामीलाई आशा छ, हामै्र जीवनमा त्यो सपना पूरा हुनेछ। नत्र त हाम्रो  प्रयासको पनि सार्थकता रहँदैन नि।

तपाईंहरू परिवर्तनको कुरा गर्नुहुन्छ, तर ग्राउन्डमा त्यो परिवर्तन देखिएन ?

हामीले सामन्ती व्यवस्था ढाल्यांै, अब ती उपलब्धिहरूलाई संस्थागत गर्ने प्रयत्नमा छौं। परिवर्तन एक दिनमा सम्भव हुने कुरा होइन। यो  निरन्तर चलिरहने प्रक्रिया हो। विश्वको इतिहासलाई हेर्ने हो भने त्यस्तो परिवर्तनका लागि वर्षौं लडाइँ लडिएका उदाहरण छन्। पहिलेभन्दा  जनचेतना अभिवृद्धि भएको छ। दलित एवं महिलाहरूमा ठूलो परिवर्तन आएको छ। अभ्यास गर्दै जाने हो, एकै रातमा त सबै परिवर्तन आउँदैन  नि।

तपाइर्ंले कल्पना गर्नुभएको नयाँ नेपाल कस्तो हो ?

सबैलाई खान, लगाउन पुगोस्। सबैको परिवार सुखी होस्। देशको आर्थिक उन्नति होस्। नेपालको प्राकृतिक स्रोतको अत्यधिक उपयोग होस्।  त्यसपछि त धेरै सपना छन्।

माओवाद नेपाली परिवेशमा सुहाउँछ ?

माओवाद वैज्ञानिक र व्यावहारिक छ भनेर हामी लागिपरेका हांै। यो हाम्रो जाति, लिंग, क्षेत्र तथा भूगोलका लागि पनि उपयोगी छ, अर्थात् ने पाली माटोमा सुहाउँदो छ। हामी विश्वस्त भएरै यसमा लागेको हो। वर्गीय शोषणलाई केन्द्रमा राखेर हामीले सबै पक्षलाई उठायौं र छोटो  समयमै सफल पनि भयौं।  

माओवादका सम्बन्धमा तपाईंको अध्ययन ?

राजनीतिक ज्ञान व्यवहारवाट आर्जन हुन्छ। मैले त्यसरी नै सिकेकी छु। केही अध्ययन पनि गरेकी छु।

तपाईंलाई सत्तामा जाने इच्छा ?

छैन, म निरन्तर समाजसेवामा समर्पित हुन चाहन्छु। 

युवाहरूलाई के भन्न चाहनुहुन्छ ?

समग्र युवाहरूलाई निराश नहुन आग्रह गर्छु। संसारका धेरैजसो देश योभन्दा पीडादायी स्थितिबाट गुजि्रएका छन्। हामीले आत्तिनुपर्ने केही छैन।   हामी आशावादी हांैँ। परिवर्तनका लागि आ-आफ्नो ठाउँबाट रचनात्मक वा आलोचनात्मक रूपमा पहल गरौं।

(ekantipur)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>